१६ चैत्र २०८० शुक्रबार
समाज

लकडाउनले नछोएका ‘प्याडम्यान’

कोरोना कहरका कारण चैत ११ गतेदेखि मुलकमा ‘लकडाउन’ छ । सरकारले अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरेको छ । प्रायःजसो मानिसहरु घरभित्रै छन् । कतिपयले कार्यालयको कामलाई समेत अहिले घरबाटै निरन्तरता दिइरहेका छन् । तर भैसेपाटीका प्याड म्यान नामबाट परिचित ज्ञान महर्जन भने महिनावारीका बेला महिलालाई आवश्यक पर्ने प्याडको व्यवस्थापनमा नै व्यस्त छन् ।  

लकडाउनको ६९ औं दिन जावलाखेलमा रहेको एक्सपोज नेपालमा महर्जन प्याड व्यवस्थापन गर्दै गर्दा भेटिए । ‘लकडाउनमा सबै रोकिए पनि महिनावारी रोकिदैँन । अझ यो बेला प्रयोग गर्ने प्याड सहजै नपाइन पनि सक्छ । पसलहरु बन्द छन् । यस्तो बेला पुनः प्रयोग गर्न मिल्ने प्याड झनै उपयुक्त हुन्छ ।’ महर्जनले आफु कार्यालयमा हुनुको कारण बताए ।  

लकडाउनका बेला पनि एक्सपोज नेपालमा सिप सिकेर प्याड बनाउने महिलाहरुले घरमै बसेर प्याड बनाइरहेका छन् । महर्जनले ती प्याडहरु किन्न चाहनेका लागि विक्रिको व्यवस्थापन गरिदिने र आवश्यक परेको ठाउँमा निःशुल्क सहयोग स्वरुप वितरण पनि गर्ने गर्छन् । मे २८ तारिक अथार्त् महिनावारी स्वच्छता दिवसको अवसर पारेर महर्जनले अपाङ्गता भएका महिला र लकडाउनको समयमा कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा रहेर काम गर्ने महिला प्रहरी र महिला पत्रकारका लागि ३ सय थान बढी पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण पनि गरेका छन् ।  

महर्जन एक्सपोज नेपालका अध्यक्ष हुन् । संस्थाको तर्फबाट महर्जनले महिलाहरु आफैले प्याड बनाएर प्रयोग गर्न सक्ने सन्देश पनि प्रवाह गरिरहेका हुन्छन् ।

महर्जन भन्छन्, ‘महिनावारीलाई सही तरिकाले व्यवस्थापन गर्न घरमै बसेर पनि आफैं प्याड बनाउन सकिन्छ भन्ने सन्देश विभिन्न माध्यमबाट प्रवाह गरिरहेका छौं । साथै स्वास्थ्य संयमता अपनाउन भनेर समय–समयमा विभिन्न सूचना जारी गरिरहेका छौं ।’

कतिपय पुरुषहरु आफ्नी श्रीमतीका लागि बजारमा गएर प्याड किन्न पनि लजाउँछन् । तर महर्जन त्यो स्वभावका छैनन् । उनी महिलालाई आवश्यक पर्ने प्याड आफैं त बनाउँछन् नै, बनेको प्याडलाई बोकेर हिड्न र बाँड्न पनि हिच्किचाउँदैनन् ।  

‘हो म प्याड बनाउँछु, बोक्छु र बाँड्छु पनि । हाम्रो मुलुक पुरुष प्रधान हो, प्रायः घरमा आवश्यकताको सामान पुरुषले किन्ने वा जोहो गर्ने प्रचलन छ । यदि, प्याडबारे पुरुषले बुझ्ने हो भने यो पनि घरमा आवश्यक सामानमध्ये एकमा पर्छ र महिनावारीका बेला महिलामा हुने विभेद केही हदसम्म स्वतः अन्त्य हुन्छ ।’ महर्जन भन्छन्, ‘घरमा सुर्ती चुरोड बरु किन्ने पुरुषले नुनतेलसँगै प्याडलाई पनि आवश्यकीय सामग्रीको सूचीमा राख्नुपर्छ भन्ने मेरो मान्यता हो । एउटा पुरुषले घरमा आमा श्रीमती छोरी बहिनीलगायतलाई आवश्यक पर्ने सामानलाई आवश्यकताको सामग्रीको सूचीमा प्याडलाई राख्नु त समाज रुपान्तरणको एउटा चरण हो ।’

महिलाको मात्र आवश्यकताको सामान उनीहरूले मात्र किन्नुपर्छ भन्ने मान्यतालाई चिर्नकै लागि पनि आफुले प्याड बनाएर बोक्ने र बाँड्ने गरेको उनी बताउँछन् । कतिपय मानिसले उनको प्याडप्रतिको तर्कलाई हाँसोका रुपमा पनि लिने गरेको बताउँदै उनले आफु अरुको हाँसोको पछाडि नलाग्ने र प्याड लज्जाको साधन र विषय नभएको बताउँछन् ।

लामो समयदेखि महिला र महिनावारीका क्षेत्रमा क्रियाशिल महर्जनका अनुसार कपडाको प्याड बनाउँदा बाहिरपट्टि सुती र फ्लाटिन कपडाको प्रयोग गरिन्छ र भित्रपट्टि वाटरपु्रफ कपडाको प्रयोग गरिन्छ । उक्त प्याड पातलो कपडाबाट बनाइने भएकाले एक पटक प्रयोग गरेपछि प्याड डिटोल पानीमा राम्रोसँग सफा गरेर सजिलैसँग फेरि अर्कोपटक प्रयोगमा ल्याउन सकिन्छ । महर्जनको भनाई छ ।

यस्तो छ प्याडको कथा

सन् २००७ तिर उनी महिलामाथि हुने हिंसाविरुद्ध काम गर्थें । विशेष गरी घरभित्रै हुने महिला हिंसा, सार्वजनिक स्थलमा हुने हिंसा, विद्यालयका आफ्ना छात्रा साथीहरूमाथि भएका हिंसा, उनीहरूलाई पुरुषहरूको झुण्डले जिस्क्याउने अझ उनीहरू महिनावारीका बेला विद्यालयभित्रै असुरक्षित महसुस गर्ने उनीहरूको हाउभाउले उनलाई सानैदेखि अलि प्रभाव पार्दै लग्यो । 

उनले सार्वजनिक बसमा यात्रा गर्दा पनि महिला यात्रुलाई गरिने व्यवहार देखेका थिए । जसले उनलाई यस्ता व्यवहारविरुद्ध केही गर्नुपर्छ भन्ने मनमा परेको थियो । तर, गर्ने के ? समय बित्दै जाँदा एक्सपोज नेपाल नामक संस्थाको स्थापना गरेर महिलामाथि हुने हिंसाविरुद्ध विभिन्न अभियान र कार्यक्रममा उनी जोडिन पुगे ।  

उनले सन् २०११ देखि विशेषगरी यौनजन्य हिंसा अर्थात् यौनदुराचार र दुव्र्यवहारविरुद्ध काम गर्न थाले । काम गर्दै जाँदा लैंगिक हिंसाविरुद्ध काम गर्ने धेरै संस्था अगाडि आउन थाले । त्यतिबेला उनले यातायात, विद्यालय लक्षित गरेर तत्कालीन गाविस र वडासँग मिलेर कार्यक्रम पनि गरे । २००७ देखि १४ सम्म जनचेतना अभिवृद्धिकै काममा लागे उनी । तर, जब सन् २०१४ मा जर्मनका संघसंस्थाले महिनावारीबारे यो एक हिंसा हो भनेर बोल्न थाले तब उनले पनि सन् २०१५ को अन्त्यतिर नेपालमा पनि महिनावारीका विषयमा पो काम गर्नुपर्छ भन्ने ठानेर अघि बढे ।

आमाको खुट्टामा रगत बगेको देखेका उनी

महिलाको महिनावारीसँगै जोडिएको कुरा प्याड थियो । सन् २०१५ तिर रक्तश्रावलाई व्यवस्थापन गर्न अधिकांश महिलाले कपडा प्रयोग गर्थे । पुराना कपडालाई टालोका रुपमा गरिएको प्रयोग त्यति व्यवस्थित थिएन । उनले आफ्नै आँखाले देखेका थिए, स्कुलमा छात्रा साथीहरूको फ्रकमा रगतको टाटो लागेको । उनले प्रत्यक्ष देखेका थिए, आमा महिनावारी हुँदा रगत आमाको खुट्टासम्म चुहिएको ।  

यस्ता थुप्रै घटना, जसले उनलाई महिलाले महिनावारीका बेला प्रयोग गर्ने कपडाको टालोलाई व्यवस्थित, स्वस्थ र उपयोगी बनाउन कसरी सकिएला भनेर घोत्लिन थाले । त्यतिबेला शहर बजारमा भारतबाट आएका किनेर प्रयोग गरेर फाल्ने प्याडको प्रयोग पनि बढ्दै थियो । बजारक्षेत्रमा केही महिलाले बजारमा पाइने प्याड किने पनि त्यो सबै ठाउँकाले कसरी किन्छन्, किन्न सक्ने हैसियत छ र सबै ठाउँमा त्यो प्याड पुगेको छ भन्ने अवस्था थिएन । अहिले पनि कतिपय ठाउँमा प्याड पुगेको छैन । 

त्यसपछि नै कम खर्चको धेरै समय टिक्ने पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने कुरा खोज्न र बुझ्न थाले । पछि उनले यही कपडाको प्याड बनाउने तालिम शुरु गरे । ‘एउटा सानो सोच व्यवहारतः ठूलो बनेर सफल पनि भयो ।’ उनी भन्छन्,  ‘म आफैँले कपडाबाट पुनः प्रयोगमा ल्याउन मिल्ने प्याड बनाउन थालें । प्याड आफैंले बोकेर मान्छेलाई भेटेर बाँड्न थालें ।’

महर्जनलाई एक त महिलामाथि हिंसाको कुराले पोलेको थियो । अर्को, महिनावारीको बेलाको विभेदले । अब विभेद हटाऊँ भनेर सचेतना जगाएर मात्रै विभेद हट्दैन भन्ने चेत उनले पाइसकेका थिए । महिनावारीका बेला प्रयोग गर्ने प्याड स्वच्छ होस् । खर्च कम होस् । सकेसम्म महिला आफैँ आफ्ना लागि प्याड बनाउन वा त्यो बिक्री गरेर पनि केही कमाउन सकुन । यसखालको मिसनमै थिए उनी । 

बजारमा आउने प्याड एक पटक प्रयोग गरेर फाल्नुपर्ने । फेरि त्यो फाल्ने कहाँ रगतले भरिएको टालो लुकीलुकी महिलाले फोहोरभित्र राख्ने गरेको त देखेका उनी भन्छन्, ‘बजारको प्याड किन्न हरेक महिना ३ देखि ४ सय रुपैयाँ पनि चाहियो । 

पैसा छैन भने कपडाको टालो प्रयोग गर्यो त्यो पनि प्रयोग गरेपछि रगतले भरिएको टालो सफा गर्नै अप्ठ्यारो । सुकाउनै असहज महिलालाई । अनि मैले सोचें यही कपडालाई रुमालजस्तो बनाएपछि सफा गरेर सुकाउन पनि सजिलो । कपडाकै कभर तर रगत नचुहिने वाटरप्रुफ कपडा प्रयोग गरेर बनायो भने त अलि केही घण्टासम्म काम लाग्ने भयो भन्ने सोचेर हामीले बनाएका प्याडले अहिले ८ देखि १२ घण्टासम्म एउटा प्याडले काम गर्छ ।’ महर्जनले भनेको यो प्याड प्रयोग गरेपछि साबुनपानीले राम्रोसँग धुने । धुन सजिलो छ रुमालजस्तै हुन्छ । त्यसलाई घाममा सुकाउने र आइरन गरेर राखेपछि अर्को महिना फेरि प्रयोग गर्न मिल्छ । यसले दुई वर्षसम्म काम गर्छ ।

प्याडम्यानको कथा

ज्ञान महर्जन नेपाली प्याडम्यानका नाममा परिचित छन् । ललितपुरको खोकनामा जन्मेका उनलाई खोकनाबासी आफ्नो क्षेत्रको गौरवका रुपमा लिन्छन् । यसका अलावा उनलाई नेपाली प्याडम्यान भनेर पत्रकारले नै नाम जुराइदिएका हुन् । ‘एकपटक २०७४ सालतिरको कुरा हो । नागरिक आवाजमा पत्रकार श्रीराम पौडेलले मेरो अन्तर्वार्ता लिनुभएको थियो ।

त्यो बेला उहाँले तपाईंलाई मैले नेपाली प्याडम्यान भनेर सम्बोधन गर्छु भन्नुभयो । अन्तर्वार्ता सकियो । त्यसपछि हिमाल खबर पत्रिकाले पर्दाबाहिरका प्याडम्यान भनेर फिचरिङ गर्यो । त्यसको केही पछि काठमाडौं पोस्ट्ले पनि ‘मिट नेपाली प्याड म्यान’ भनेर स्टोरी गर्यो । त्यसपछि नै हो, प्याड म्यान भनेको को त ? भन्दा ज्ञान महर्जन भन्ने भएको ।’ महर्जनले उपनामको अन्तर्य सुनाए । प्याड म्यान हिन्दी सिनेमाको कुरासँग जोडिन्छ यो उपनामचाहिँ । महर्जन भन्छन्, ‘म प्याड बनाउँछु, बोकेर हिँड्छु बाँड्छु पनि प्याडकै कुरा गर्ने पुरुष हुँ अर्थात् प्याड म्यान ।’

महर्जनको आगामी योजना

ललितपुरमा रहेको एक्सपोज नेपालको कार्यालयमा मुलुक लकडाउन हुनु भन्दा अघिसम्म महिलाहरु त्यहीं आएर प्याड बनाउने तालिम लिन्थे । २७ सय भन्दा बढी महिलाले एक्सपोज नेपालबाट प्याड बनाउन सिकेर आत्मनिर्भर बनिसकेका छन् । महर्जनको चाहना पनि त्यहीं हो, प्याड सकेसम्म महिलाहरू आफ्ना लागि आफैं बनाउन सकुन् ।  

‘नेपाली बजारमा नेपालको उत्पादन प्याड नहुँदा भारत तथा अन्य देशबाट आएको केमिकलयुक्त प्याड प्रयोग भइरहेको छ । यसले एउटा त मानव स्वास्थ्य र अर्को वातावरणीय स्वास्थ्यमा असर गर्छ र यो खर्चालु पनि छ ।’ महर्जन भन्छन्, ‘खर्च र स्वास्थ्यमा मितव्ययी पुनः प्रयोग गर्न मिल्ने प्याडको प्रयोगलाई वृहत्तर बनाउन अहिले त लकडाउनले केही असर गरेको छ । यसपछि थप योजनासहित लाग्नेछु ।’

महिला हिंसा न्यूनीकरणका लागि महिलालाई आर्थिक रूपमा समृद्ध बन्नु जरुरी छ भन्ने मानसिकता बोकेका उनी महिलालाई आर्थिक रूपमा समृद्ध बनाउनकै लागि आफुले प्याड बनाउने तालिम संचालन गरेको बताउँछन् ।

प्रकाशित: १८ जेष्ठ २०७७ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App