१५ चैत्र २०८० बिहीबार
समाज

सीमा नाका पुगेका नेपालीलाई वर्षाले समस्या

लगातारको वर्षाका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमा नाकामा पुगेका नेपालीहरुको बिजोग भएको छ। शनिबार बिहानदेखिको वर्षाले पानीमा भिज्दै ससाना दूधे बालबालिका बोकेका महिला, वृद्धवृद्धा तथा युवायुवती भारतको सुरत, मुम्बई, गुजरात, हरियाणालगायतका शहरबाट पलिया गौरीफन्टा हुँदै नाकामा पुगेका हुन्।

भारतको मुम्बईबाट पानीमा भिज्दै परिवार बालबच्चासहित नाकामा पुगेका डोटीको बाहुनकाँडाका भोजराज ओझाले भोक, कष्ट, थकानसहित तीन दिनदेखिको लामो दूरीको यात्राबाट बल्ल नेपाल प्रवेश गरेको बताए। उनले भने, नाका प्रवेश गर्ने क्रममा यहाँ परेकोे पानीले भिजाएर झनै बिजोग बनाएको छ, अझै आफ्नो जन्मथलो पुग्न त कति समय लाग्ने हो कुनै निश्चित छैन।

रोजगारीका लागि विद्यालयको पढाइ छाडी सानै उमेरमा भारत पसेका ओझाले वर्षाबाट बच्नका लागि ओत लाग्ने ठाउँसमेत नहुँदा थप समस्या भएको दुःखेसो गरे। भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई पानीले भिजाउनुका साथै त्यहाँ पानी जमेर हिलोसमेत भएर झन् अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ।

वर्षाकै बीचमा पनि भारतबाट नेपाल प्रवेश गरेकालाई खानपान व्यवस्थापनको काम भने भइरहेको खानपान अभियानमा सक्रिय कैलाली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए। उनले भने, पानी पर्दापर्दै भिज्दै हजारौँ नेपाली नाकामा प्रवेश गरेका छन्, उनीहरुको खानपानको व्यवस्थापन गर्न साह्रै गाह्रो भयो।

यही जेठ २ गतेदेखि भारतका विभिन्न शहरबाट आएका नेपालीहरुको उद्धारमा यहाँका विभिन्न सङ्घसंस्था, प्रदेश सरकार, सेवा समितिलगायत जुटेका छन्। कसैले व्यक्तिगतरूपमा पनि सहयोग गरिरहेको पाइएको छ। हालसम्म भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार नाका हुँदै झण्डै ३० हजार नेपाली नेपाल भित्रिसकेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतको भनाइ छ।

प्रकाशित: १८ जेष्ठ २०७७ ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App