१६ चैत्र २०८० शुक्रबार
समाज

संक्रमितको सम्पर्कमा रहेका जनप्रतिनिधि आतंकित

बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका एक जना वडाध्यक्षलाई तीन दिनअघि कोरोना पोजेटिभ देखियो। कोरोना त्रासका कारण वडाध्यक्षको सम्पर्कमा रहेका सिंगो जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिन र होम क्वारेन्टिनमा बसिरहेका छन्। जनप्रतिनिधिमै कोरोना संक्रमण देखिएपछि गाउँपालिका कार्यालयको कामकाज बन्द छ। महामारीको समयमा जनताको सेवामा खटिरहेका यहाँका जनप्रतिनिधि आफैं त्रसित र आतंकित हुनुपरेको छ। कोरोना संक्रमण फैलिएपछि सहज रुपमा काम गर्न नसकेको जनप्रतिनिधिले बताएका छन्। ‘संक्रमण नदेखिँदासम्म वडा कार्यालयसम्म पुगेर काम गरिन्थ्यो, अहिले आफ्नै गाउँपालिकामा संक्रमण देखिएपछि बाहिर निस्केर काम गर्नै कठिन भइरहेको छ,’ राप्तीसोनारी ३ का वडाध्यक्ष गंगाराम थारुले भने।  

वडाध्यक्षमा कोरोना संक्रमण देखिएको तीन दिन बितिसक्दा पनि अहिलेसम्म कसैको कन्ट्र्याक्ट टे«सिङ तथा स्वाब संकलन गरिएको छैन। वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी आतंकित भइरहेका छन्। कतिपय जनप्रतिनिधि र कर्मचारीले घर छाडेका छैनन् भने कतिपय क्वारेन्टिनमै बसिरहेका छन्।

गाउँपालिका अध्यक्ष लाहुराम थारु समयमै स्वाब संकलन भएर रिपोर्ट आएको भए जनप्रतिनिधि र कर्मचारीले नियमित काम गर्न पाउने बताउँछन्। स्वाब संकलनका लागि पहल गरिदिन आफूलाई दिनहुँ फोन आउने गरेको उनले सुनाए। ‘स्वाब संकलनको काम सात दिनभित्र गरिँदो रहेछ,’ अध्यक्ष थारुले भने, ‘वडाध्यक्षहरूले छिटो स्वाब संकलन गरिदिनुप¥यो भनेर मलाई फोन गर्नुहुन्छ।’  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले प्रयोगशालामा चाप धेरै भएकाले स्वाब संकलनमा ढिलाइ भएको हुन सक्ने बताए। ‘प्रयोगशालामा धेरै नै चाप छ रे, त्यसकारण स्वाब संकलनको काम हुन नसकेको बुझिएको छ,’ उनले भने। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले संक्रमित वडाध्यक्षको कन्ट्र्याक्ट टे«सिङ गरेर नाम लिस्ट तयार गरे पनि स्वाब संकलनको काम सुरु नभएको बताए। ‘वडाध्यक्षज्यूको कन्ट्र्याक्ट टे«सिङमार्फत ७२ जना जतिको लिस्ट बनेको छ,’ उनले भने।

वडाध्यक्षमा कोरोना संक्रमण देखिएको तीन दिन बितिसक्दा पनि अहिलेसम्म कसैको कन्ट्र्याक्ट टे«सिङ तथा स्वाब संकलन गरिएको छैन।

स्वाब संकलन गरेर पनि प्रयोगशालामा बढेको चापका कारण ४८ घण्टाभित्र रिपोर्ट आउन कठिन भएका कारण ढिलाइ भएको प्रमुख चुडालीले बताए।

‘भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालाले थेग्न नसकेको स्थिति छ, स्वाब संकलन गरेपनि धेरै दिन राख्न मिल्दैन,’ उनले भने। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल–पर्सन नरेश श्रेष्ठले राप्तीसोनारीका संक्रमित व्यक्तिको कन्ट्र्याक्टमा आएका व्यक्तिको नाम लिस्ट जिल्लामा आइसकेको बताए। ‘संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन नियमअनुसार सात दिनभित्र गर्नुपर्छ, हामीहरू त्यहाँका गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीसँग कुरा गरेर आइसकेका छौं। उहाँहरू आत्तिहाल्नुपर्ने अवस्था छैन,’ उनले भने।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङ राप्तीसोनारीमा जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि कन्ट्र्याक्ट टे«सिङ गरेर स्वाब संकलनको काम सुरु गरिने बताए।

‘कन्ट्र्याक्ट टे«सिङ गरेर नामको सूची तयार भइसकेको छ।’ राप्तीसोनारीको अवस्था बुझ्न प्रजिअ कुरुङवाङसहितको टोली शुक्रबार राप्तीसोनारीको शमशेरगन्ज पुगेको थियो। त्यहाँ पुगेर उक्त टोलीले क्वारेन्टिन र आइसोलेसन कक्षको अनुगमन गरेको थियो। कोरोना संक्रमण पोजेटिभ देखिएका वडाध्यक्षसहित पाँच जना व्यक्ति राप्तीसोनारी गाउँपालिका–८ स्थित आइसोलेसनमा बसिरहेका छन्।  

ती वडाध्यक्षले जनताको सेवा गर्दागर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको बताएका छन्। ‘जनताको सेवा अनि आफ्नो कर्तव्य बहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि रतिभर पिर छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवान्सँग प्रार्थना गर्छु, कसैलाई पनि केही नहोस्।’

प्रकाशित: १८ जेष्ठ २०७७ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App