१५ चैत्र २०८० बिहीबार
समाज

२७ जना संक्रमितको रातभर बिचल्ली

कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार साँझ झापाबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका २७ जना संक्रमितलाई अस्पतालमा भर्ना नगरी रातभर बाहिरै बिचल्ली अवस्थामा राखिएको घटनाको सर्वत्र आलोचना भएको छ। राति करिब १० बजेतिर झापाका संक्रमितहरू प्रतिष्ठान आइपुगेका थिए। प्रतिष्ठान आइपुगेका संक्रमितहरूलाई लिन कोही नआएपछि उनीहरूले रातभर आइसोलेसन वार्डअघि गाडीभित्रै रात बिताएका थिए। झापाबाट संक्रमितहरूलाई मिनी बसमा धरान ल्याइएको थियो।  

एक सुरक्षाकर्मीका अनुसार ट्वाइलेटको अभाव भएपछि संक्रमितहरूले आइसोलेसन परिसरमा नै दिसा, पिसाब गरेका थिए। ‘राति अन्त कतै जान दिनु पनि भएन। भित्रबाट कोही पनि लिन आएनन्,’ ती सुरक्षाकर्मीले भने, ‘हामीले त्यतै दिसा, पिसाब गर्न भन्यौं।’

यो घटना थाहा पाएपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे शनिबार बिहानै प्रतिष्ठान आएका थिए। उनी सात बजेतिर प्रतिष्ठान आइपुग्दा प्रतिष्ठान पदाधिकारी कोही पनि आएका थिएनन्।  

मन्त्री घिमिरे आएर संक्रमितहरूलाई अस्पताल भर्ना नगरिएकोबारे सोधीखोजी गर्न थालेपछि मात्र पदाधिकारी तथा सम्बन्धित विभाग प्रमुखहरू आएका थिए। त्यसपछि अर्थात् करिब १२ घण्टापछि शनिबार बिहान सवा नौ बजेतिर मात्र संक्रमितहरूलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा लगिएको थियो। बिपीमा संक्रमितहरूलाई आइसोलेन वार्डसँगैको भवनमा नै राखिँदै आएको छ।  

मन्त्री घिमिरेले संक्रमितहरूलाई रातभर बाहिरै राखिएको घटनाबारे प्रतिष्ठानका पदाधिकारीहरूलाई जवाफ मागेको बताए। साथै उनले यो घटना बिपीजस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाको लापरबाहीको पराकाष्ठा भएको पनि बताए। ‘यो सामान्य कमजोरी होइन। यत्रो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट भएको लापरबाहीको पराकाष्ठा हो। कसको कारणले यस्तो भयो भनेर सोधेको छु,’ मन्त्री घिमिरेले भने, ‘फेरि लापरबाही दोहोरिनु हँुदैन भनेर निर्देशन दिएको छु।’

मन्त्री घिमिरेका अनुसार बिहीबार साँझ मन्त्रालयका अधिकारी र बिपीका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीसहितको अनलाइन बैठक भएको थियो। उक्त बैठकमा बिपीमा दुई सय बेड तयार भएको रिपोर्टिङ उपकुलपतिले गरेको पनि मन्त्री घिमिरेले बताए। यसअघि सय बेडको कोभिड १९ अस्पताल पनि सञ्चालनमा आएको र आफूहरू निरीक्षणमा आएको उनले बताए। ‘सय बेडको अस्पताल त मुख्यमन्त्रीसहित म आफैं आएर निरीक्षण पनि गरेको हो, अनलाइन मिटिङमा पनि दुई सय बेड तयार छ भनियो। तर झापाबाट ल्याएको २७ जना किन भर्ना नलिएको हो, प्रष्ट गर्नुस् भनेको छु,’ उनले भने।  

संक्रमितहरूलाई रातभर बाहिरै राखिएको विषयमा प्रतिष्ठानका पदाधिकारीहरूले प्रतिक्रिया दिएनन्। प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले भने झापाबाट समन्वय नगरी संक्रमित पठाएकोले तयारी अभाव भएको जवाफ दिए। उनले समन्वय अभाव भएको भने पनि मन्त्री घिमिरेले मन्त्रालयबाट प्रतिष्ठानका फोकल पर्सनसँग समन्वय गरेर झापाबाट संक्रमित आउँदै गरेको जानकारी दिएको बताए।

प्रतिष्ठानले सय बेडको कोभिड अस्पताल सञ्चालनमा आएको बताएको थियो। तर अहिलेसम्म पनि कोभिड अस्पतालमा संक्रमितहरूलाई राखिएको छैन। प्रतिष्ठानको आइसोलेसन वार्डमा ९४ जना संक्रमितहरू छन्। तीमध्ये एक जना धरानकी महिला हुन् भने अन्य सबै झापाका रहेका छन्। 

प्रकाशित: १८ जेष्ठ २०७७ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App