coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोनाबाट दैलेखमा एक जनाको मृत्यु, मृतकको संख्या ७ पुग्यो

भारतको गुजरातबाट १० दिनअघि नेपाल आएका दैलेखको दुल्लु नगरपालिकाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुल्लु नगरपालिका–११ खागीतडाका ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा सात पुगेको छ ।  

भारतको गुजरातस्थित एक होटलमा कुकको काम गर्ने ति युवक जेठ नौ गते नेपाल–भारत सीमा रुपैडीहा आइपुगेका थिए । गुजरातबाट आउँदा उनीसँगै ३४ जना युवाहरु थिए । उनी जेठ १० गते बस चढेर दैलेखको तल्लोडुंगेश्वर पुगेका थिए । त्यहाँबाट दुल्लु नगरपालिकाले वडा नं. ७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिइनमा राखेको थियो । क्वारेन्टाइनमा उनीसँगैै ७९ जना थिए ।

‘शनिवार विहान चिया–खाजा खाएपछि उनी एक्कासी ढले,’ दुल्लु नगरपालिकाका मेयर भण्डारीले भने, ‘स्वाब पहिलेनै संकलन गरिएकाले रिपोर्ट नआउँदासम्म अस्पताल पनि लिन सकेनौं ।’ मृतक युवकको स्वाब बिहीबार संकलन गरिएको थियो । शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।  

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले युवकको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा मृतक युवामा कोरोना पुष्टि भयो,’ मन्त्री रावलले भने, ‘उनीसँगै भारतबाट आएका र क्वारेन्टिनमा सँगै रहेकाहरुको विवरण संकलनको काम भइरहेको छ ।’ कोरोना संक्रमणबाट कर्णालीमा पहिलो मृत्यु भएपछि प्रदेश सरकारले आइतबार विहान आपतकालिन बैठक बोलाएको छ । बैठकमा कोरोना संक्रमण रोकथामका लागि नयाँ रणनीति अपनाइने मन्त्री रावलले जानकारी दिए ।

आफुसँगै रहेका युवकको मृत्यु भएपछि विद्युत प्राधिकरणको क्वारेन्टिनमा रहेका ८८ जना त्रासमा छन् । मेयर भण्डारीका अनुसार क्वारेन्टिनमा रहेकाहरुको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएपनि रिपोर्ट आउन बाँकी छ । ‘कोरोना संक्रमणका कारण मृत्यु भएका युवासँगै क्वारेन्टिनमा बसेकाहरु, सुरक्षा र व्यवस्थापनमा खटिएकाहरु र हामी जनप्रतिनिधि सबै त्रासमा छौं,’ मेयर भण्डारीले भने ।

मृतक परिवारका अनुसार उनी एक वर्षदेखि रोजगारीका सिलसिलामा गुजरातमा थिए । कुकको काम गर्ने ति युवा कोरोना संक्रमणका कारण होटल बन्द भएपछि रेल चढेर जन्मभूमि फर्केका थिए । उनी नेपाल प्रवेश गर्नुअघि भारतको बहराइचमा सात दिनसम्म क्वारेन्टिन बसेका थिए । एक रात नेपाल–भारत सीमा रुपैडीहा बसेका उनी बस चढेर दुल्लु पुगेका थिए । मृतक युवकका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रकाशित: १७ जेष्ठ २०७७ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App