८ वैशाख २०८१ शनिबार
समाज

किट अभावमा परीक्षण रोकियो

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा किट अभावमा परीक्षण प्रभावित बनेको छ । कर्णाली प्रदेश अस्पतालले पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्थापना गरेको कोरोना परीक्षण मेसिन दुई दिनदेखि किट अभावमा थन्किएको छ ।  

संघीय सरकारले भारतबाट खरिद गरेर पठाएका किट र यसअघि प्रयोगमा रहेको मेसिनबीच समन्वय नहुँदा परीक्षण रोकिएको स्रोतले जनाएको छ । ‘भारतबाट खरिद गरेर संघीय सरकारले पठाएको किट र सुर्खेतमा जडान गरिएको मेसिनबीच तालमेल मिलेन्,’ सामाजिक विकास मन्त्रालय स्रोतले भन्यो, ‘अन्य किट नहुँदा परीक्षण प्रभावित बनेको हो ।’

प्रदेश सरकारले कर्णालीका १० जिल्ला मध्ये साविकका पाँच जिल्लाको परीक्षण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र अन्य पाँच जिल्लाको परीक्षण सुर्खेतमा गरिरहेको थियो । सुर्खेतमा स्थापना गरिएको मेसिनले किट सपोर्ट नगरेपछि कोरोना परीक्षणका लागि सुर्खेतसहित दैलेख, सल्यान, रुकुम र जाजरकोटमा संकलन गरिएको स्वाब पनि जुम्ला पठाउन थालिएको छ ।  

सामाजिक विकासमन्त्री दल रावलले संघीय सरकारले पछिल्लो पटक पिसिआर परीक्षणका लागि पठाएका तीन हजार किटमा समस्या देखिएको बताए ।  

‘मेसिनमा समस्या आएको होइन्, आरएनए किटमा समस्या देखिएको हो,’ मन्त्री रावलले भने, ‘संघीय सरकारसँग यसअघि प्रयोगमा ल्याइएका किटहरू मगाएका छौं ।’ मन्त्री रावलका अनुसार तत्कालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक सय किटहरू मगाइएको बताए ।  

उनले संघीय सरकारसँग तत्कालका लागि २५ हजार किट माग गरिएको बताए । ‘भारतमा रेल सेवा सुरु भएसँगै १५ हजारबढी नागरिकहरू कर्णाली भित्रिसकेका छन्, दैनिक तीन–चार हजार आइराख्नु भएको छ,’ मन्त्री रावलले भने, ‘उनीहरूको कोरोना परीक्षणका लागि आवश्यक किटहरू पठाइदिन संघीय सरकारसँग अनुरोध गरेका छौं ।’ मन्त्री रावलका अनुसार आइतबारसम्म दुई हजार किटहरू आइपुग्दैछ ।

क्वारेन्टिनमै मृत्यु

भारतबाट फर्किएर क्वारेन्टिमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवाकको शनिबार विहान मृत्यु भएको हो । युवक दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा बसेका थिए ।  

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले भारतबाट आएका युवकको क्वारेन्टिनमा मृत्यु भएको पुष्टि गरे । ‘मृतक युवासहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टिनमा राखेका थियौं,’ मेयर भण्डारीले भने, ‘शनिवार विहान चिया खाजा खाएपछि एक्कासी ढलेर मृत्यु भएको हो ।’

ति युवाको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणका लागि उनीसहित आठ सय जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको छ । पिसिआर परीक्षणको रिर्पोट आएपछि मात्र उनको मृत्युको कारण खुल्ने छ ।

प्रकाशित: १७ जेष्ठ २०७७ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App