७ वैशाख २०८१ शुक्रबार
समाज

उच्च संख्यामा किन हराउँछन् किशोरी ?

नेपालमा बर्सेनि सयौंको संख्यामा बालबालिका हराउने गर्छन् । बालबालिका खोज तलास समन्वय केन्द्र भृकुटीमण्डपको तथ्यांक हेर्दा  हराउने बालबालिकामध्ये बालकभन्दा बालिकाको संख्या दोब्बर र  डरलाग्दो छ । बालिका बेचबिखनदेखि लिएर यौनजन्य क्रियाकलापमा संलग्न, घरेलु मजदुर, आपराधिक क्रियाकलाप, इन्टरनेटको दुरुपयोग जस्ता कार्यमा संलग्न गराउन बालिका हराउने गरेको खोजतलास केन्द्रको प्रतिवेदनले देखाएको छ ।  

खोजतलास समन्वय केन्द्रका इन्चार्ज मोहनविक्रम दाहालले बढी संख्यामा हराउने बालिका १४ देखि १८ उमेरसमूहका रहेको बताए । वर्षेनी हराउने बालकालिकाको संख्या हेर्दा एकदेखि १४ वर्ष उमेर समूहका बालक र बालिकाको संख्या बराबर नै देखिन्छ, दाहालले भने, ‘तर १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकाको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या ह्वात्तै बढेको देखिन्छ । किशोरअवस्थामा पुगेका हराउने बालिकाको संख्या हेनुपर्छ, बालकको भन्दा तेब्बर बढी भएको देखिन्छ ।’  

केन्द्रको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७४/७५ मा जम्मा २ हजार ३ सय ३० बालबालिका हराएका थिए । जसमा बालकको संख्या ९ सय २३ छ भने बालिकाको संख्या १४ सय ७ रहेको छ । उक्त तथ्यांकलाई उमेरसमूहको आधारमा हेर्दा १ देखि १४ वर्ष उमेर समूहमा बालक ६ सय ३७ र बालिका ४ सय ५१ गरी जम्मा १ हजार ८८ जना बालबालिका हराएका छन् भने १५ देखि १८ वर्षसम्मको तथ्यांक हेर्दा हराउने बालिकाको संख्या मात्रै ९ सय ५८ रहेको छ । त्यस्तै सोही उमेर समूहमा हराउने बालकको संख्या २ सय ८४ रहेको केन्द्रको तथ्यांकमा देख्न सकिन्छ ।

आर्थिक वर्ष २०७४/७५ किशोरवस्थामा हराउने बालिकाको संख्या आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा अझ बढेको छ । केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७५/७६ को तथ्यांकमा १५ देखि १८ वर्ष उमेर समूहमा हराउने बालिलकाको संख्या मात्रै १ हजार ६ सय ८५ रहेको छ । जुन निकै डरलाग्दो हो । सोही उमेर समूहमा हराउने बालकको संख्या भने ४ सय २ रहेको छ । केन्द्रको तथ्यांकको आधारमा पनि पुष्टि हुन्छ कि किशोरावस्थामा हराउने बालकभन्दा बालिकाको संख्या एकदमै उच्च र डरलाग्दो छ ।  

केन्द्रमा राखिएको चालु आर्थिक वर्षको पुस मसान्तासम्मको तथ्यांक हेर्दा ६ महिनाको अवधिमा हराउने बालबालिकाको संख्या १७ सय १६ रहेको छ । जसमा बालकको संख्या ५ सय ४८ र बालिकाको संख्या ११ सय ६८ रहेको छ ।  

केन्द्रका इन्चार्ज दाहालले किशोरावस्थामा हराउने बालिका बढी मात्रामा यौन कार्य र अपराधिक कार्यमा संलग्न हुन पुगेको बताउँछन् । आफ्ना अभिभावकले बालबालिकको मनोविज्ञान बुझ्न नसक्दा, अभिभावकको संरक्षण नहुँदा, साथीभाइको लहलहैमा लाग्दा, धन, सम्पत्ति र विवाहको प्रलोभनमा फस्दा र गरिबीका कारण घर छोडेर हिँड्ने र पछि हराउने वा बेचिने गरेको उनको भनाई छ ।  

बालबालिका खोजतलास केन्द्रले प्रहरी, केन्द्रीय बालकल्याण समितिलगायतका सरकारी निकायसँग समन्वय गरेर हराएका बालबालिका खोज्ने काम गर्दै आएको बताइएको छ ।

केन्द्रमा उल्लेख गरिएको आर्थिक वर्ष २०७५/७६ को तथ्यांकअनुसार १५ देखि १८ वर्षमुनिका कुल हराएका बालबालिकामध्ये ८०.७४ प्रतिशत बालिका देखिनुले यस उमेर समूहका बालिकाका किन बढी हराइरहेका छन् र कति बालिका बेचिन पुगेका छन् भन्ने विषयको अध्ययन गर्न जरुरी देखिन्छ ।

प्रकाशित: १६ जेष्ठ २०७७ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App