८ वैशाख २०८१ शनिबार
समाज

खयर फँडानी काण्ड : मुद्धा दायर गरिएकाहरु धरौटीमा रिहा

सामुदायिक वनभित्र फँडानी गरिएको अवस्थामा फेला परेको खयरको काठ ।

प्रतिवन्धित बहुमूल्य काठ खयर फँडानीमा संलग्न रहेको आरोपमा मुद्धा चलाइएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का चार जनालाई धरौटीमा छाड्न जिल्ला अदालत धादिङले आदेश दिएको छ । अदालतको आदेशसंगै तीन जनाले धरौटी बुझाएर रिहा भएका छन् भने एक जनाले धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को दुईवटा सामुदायिक वन क्षेत्रभित्र भएको खयर फँडानीमा संलग्न भएको आरोपमा ६ जना विरुद्ध कैद सजाय र जरिवानाको माग दावी गर्दै डिभिजन वन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा मुद्धा दायर गरेको थियो । वन कार्यलयले २ वटा वनका उपभोक्ता समितिका ४ जना र काठ तस्कर २ जना विरुद्ध मुद्धा दायर गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन भित्र अबैध ढंगबाट भएको खयर कटानका दोषीहरु माथि विगो वापतको दोव्वर जरिवाना र कैद सजायको माग गर्दै जेठ २ गते वन कार्यालयले जिल्ला अदालत धादिङमा मुद्धा दर्ता गराएकोे थियो । वन ऐन ७६ को दफा ४९ को दफा च र छ बमोजिमको सजायको माग दावी लिई गत जेठ २ गते डिभिजन वन कार्यालयको तर्फबाट जिल्ला अदालतमा मुद्धा दायर गरिएको डिभिजन वन अधिकृत जिवनाथ पौडेलले जानकारी दिए ।

मुद्धा दायर गरिएकाहरु मध्ये जलेश्वरी सामुदायिक वनको अध्यक्ष श्यामबहादुर बानियालाई अदालतले ८ लाख रुपैयाँ धरौटी मागेको थियो । उनले धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । त्यस्तै सोही बनका सचिव गणेशबहादुर अधिकारी १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । उनी रातमाटा खोपाको वनको पनि कोषाध्यक्ष थिए । त्यस्तै रातमाटै खोपाकै वनका अध्यक्ष कमलबहादुर बानिया र सदस्य डिलबहादुर रुवाली पनि जनही २ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

त्यसैगरि काठ ओसार पसार तथा बेचविखन गर्ने कार्यमा संलग्न व्यापारीद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई पनि सजायको माग गरि मुद्धा दर्ता भएको छ । उनीहरु दुवै जना फरार रहेका छन् । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरि खोजी कार्य जारी रहेको डिभिजन वन कार्यलय धादिङका सूचना अधिकारी देवीप्रसाद पौडेलले जानकारी दिए ।

माता जलेश्वरी सामुदायिक वन तर्फ उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारलाई जनही १३ लाख ९८ हजार को दोव्वर जरिवाना र २ वर्ष कैद सजायको माग दावी गरिएको थियो । त्यसै गरि रातमाटा खोपाको पाखा सामुदायिक वन तर्फ जनही दुई लाख ६५ हजार बमोजिमको जरिवाना र १ वर्ष कैद सजायको माग दावी गरिएको थियो ।

फँडानी  काण्डका मुख्य अभियुक्त मानिएका काठ तस्करहरु फरार रहेकाले क–कस्को मिलेमतो रहेको थियो भन्ने बारेमा विस्तृत पत्ता लगाउन गाह्रो भएको वन अधिकृत पौडेलले बताए । ‘उनीहरुलाई पक्राउ गरेको खण्डमा घटनाको छिनोफानो सहज हुने थियो’ पौडलले भने, ‘यता उपभोक्ता समिति इन्कार गर्ने उता तस्करहरु फरार रहेकाले घटना रहस्यमय बनेको छ ।’

लकडाउनको मौका छोपेर गत चैतको अन्तिम साता सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसंग मिलेमतोमा थप खयर अबैध ढंगबाट चोरी तस्करी गरि काटिएको भन्दै स्थानीयले डिभिजन वन कार्यालयमा जानकारी दिएपछि खयर कटानको घटना वाहिर आएको थियो । स्थानीयको उजुरी पछि डिभिजन वन कार्यालय धादिङले अनुसन्धान अधिकृत मार्फत स्थलगत अनुसन्धान गरि कटान भएका रुखको पहिचान गरि १३३९ थान ७७६.३७ क्युफिट काठ बरामद गरेको थियो ।

प्रकाशित: १६ जेष्ठ २०७७ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App