coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना मैदानमा सेता सिपाही

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डा. अशोक गौतम हुम्ला खटिएको दुई महिना बित्यो । उनी कोरोना भाइरसको संक्रमणको हल्ला चलेदेखि नै हुम्लामा छन् । दैनिक ८ घण्टाको यात्रा गरेर सर्वसाधारणलाई स्वास्थ्य सेवा दिइरहेका छन् । 

कोरोना भाइरस संक्रमण फैलन अपनाउनु पर्ने सावधानीका विषयमा स्थानीयलाई सतर्क गरिरहेका छन् । सधैँ प्रतिष्ठानमा आउने बिरामीको मात्र हेरबिचार गरेका उनी दुर्गममा निकै जमेका छन् । उनीसंगै स्वास्थ्यकर्मी कर्मेन्द्र न्यौपाने छन् । सदरमुकाम सिमिकोटदेखि झण्डै तीन दिनको यात्रा गरेर पुगिने दुर्गम क्षेत्रका भरोसा बनेका छन्, डा.गौतम ।  

गाउँमा अहिले पनि कार्यालय सहयोगीले स्वास्थ्य संस्थामा औषधि दिने र जाँच गर्ने गर्छन् । यो अवस्थामा सेता पोशाकमा सजिएका चिकित्सक गाउँमै देख्दा स्थानीय हर्षित छन् । गाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा निकै खुसि भएको बताउँदै उनीहरु सधैँभरी यही बसेर सेवा दिन आग्रह गरिरहेका छन् । दुर्गम क्षेत्रका भरोसा बनेका छन् सेता सिपाही,एक जीवनदाता पनि ।  

प्रतिष्ठानका अर्का विशेषज्ञ चिकित्सक शेरमान गुरुङ मुगुको कार्मारोङमा खटिएका छन् । कार्मारोङ खटिएर जनताको सेवा गर्न पाउँदा निकै खुसि छन् । कर्णाली पहिलेदेखि स्वास्थ्य सेवाका हिसावले निकै कमजोर क्षेत्र हो । तर अहिले गाउँगाउँमा विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । डा. गुरुङ अहिले सर्वसाधारणका प्रिय बनिसकेका छन् । कोरोना भाइरसको संक्रमण भइरहेको बेला उनी स्वाब संकलन गर्ने र बिरामीको चेकजाँच गर्ने कार्य गरिरहेका छन् । दुर्गम क्षेत्रमा न स्वास्थ्यकर्मी भेटिन्छन्, नत समयमै औषधि उपचार नै । अधिकांस कर्णालीबासी औषधि उपचार नपाएर अकालमा मर्छन् । यस्तो विकराल अवस्थामा दुर्गममै बसेर स्वास्थ्य सेवा दिन पाउँदा चिकित्सकहरु औधि खुसि छन् ।  

डा. टंक आचार्य कालिकोटमा खटिएका छन् । कालिकोटमा बिरामीको उपचार गर्ने र कोरोना परीक्षणका लागि स्वाब संकलन गर्ने काममा ब्यस्त छन् । सेतो पोशाकमा सजिएका सिपाही अस्पतालमा मात्र देख्थ्यौँ, स्थानीय चक्रबहादुर बम भन्छन्,‘ अहिले दुर्गम क्षेत्रमा खटिएको देख्दा निकै खुसि छौँ । कर्णाली स्वास्थ्य सेवाका हिसावले निकै माथि पुगिसकेको रहेछ । कर्णाली अब डक्टर उत्पादन गर्ने कारखाना बन्नुपर्छ ।’

‘छिब्रेछाब्रे पोशाकमा सेनाका सिपाही देख्यौँ, निलो पोशाकमा प्रहरी सिपाही देख्यौँ । उनीहरुको काम शान्ति सुरक्षाको केन्द्रित भएको हेर्यौ । तर अहिले सेतो पोशाकमा सजिएका सिपाहीसंगै गाउँमा प्रत्यक्ष भेटघाट गर्न पाउँदा सुखानुभुति गरिरहेका छौँ’,उनले भने ।  

हुम्लाको एलवाङ, सर्केघाट,दार्मा, श्रीनगर र अदानचुलीमा चिकित्सक तथा स्वास्थ्यकर्मी खटिए । हुम्लाको लागि मात्र ६ जना चिकित्सक खटिएका हुन । उनीहरु गाउँगाउँमा पुगेर स्वास्थ्य सेवा प्रवाह गरे । भारतदेखि आएकाहरुको स्वाब संकलन गरे । मुगुको सोरु र कार्मारोङ क्षेत्रमा एक महिनाको लागि चिकित्सकको टोली खटाइएको रजिष्टार विश्वराज काफ्ले बताउँछन् ।कोराेनामा केन्द्रित गरेर चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको उनी बताउँछन् । गाउँमा स्वास्थ्यकर्मी पुग्दा मुगुबासी निकै खुसी छन् । कर्णालीको हुम्ला, मुगु हेलिकप्टरले स्वास्थ्यकर्मीको टोली पुर्‍याएको थियो ।  

कालिकोट जिल्लाको रासकोट,शुभकालिका र महावै गाउँपालिकामा प्रतिष्ठानको चिकित्सक खटिएका छन् । गाउँमा बिरामीको चेकजाँच गर्ने, कोराना भाइरसका बारेमा सचेतना प्रदान गर्ने र कोराना परिक्षणका लागि स्वाब संकलन गर्ने कार्य चलिरहेको छ ।  

मुगुको कार्मारोङ पूर्व राष्ट्यि सभा सांसद युटल लामाले सधैंका लागि चिकित्सक व्यवस्थापन गर्न कर्णाली प्रतिष्ठानलाई आग्रह गरिन् । उनले भनिन्,‘चिकित्सक पठाईदिनुहोस, हामी सबै व्यवस्थापन गर्न तयार छौँ । मुगु सदरमुकाम गमगडी देखि कार्मारोङ जान दुई दिन समय लाग्छ ।  

भारतबाट आएकाको स्वाब संकलन भइसकेपछि हेलिकप्टर मार्फत स्वाब लिन हुम्ला पुगेका प्रतिष्ठानका रजिष्टार काफ्ले सहितको टोली संग हुम्ला सर्केघाटका स्थानीयले चिकित्सक सधैैका लागि खटाइदिन भन्दै ज्ञापन पत्र पेश गरे । डाक्टर स्थायी रुपमा गाउँमै बस्ने व्यवस्था होस,सहजै रुपमा गाउँमा स्वास्थ्य सेवा पाउने प्रबन्ध होस भन्दै स्थानीयले माग राखे ।  

स्वाब लिन गएको अस्पताल निर्देशक डा. मंगल रावल र त्यो क्षेत्रमा खटिएका चिकित्सकले एक छिन बिरामीको उपचार समेत गरेका थिए । कर्णालीमा पहिलो पटक चाइना हुदै हुम्ला पुगेका एक जनामा आरडिटी गर्दा पोजेटिभ देखिएको हल्ला भएपछि कर्णाली प्रतिष्ठानले चिकित्सक खटाइसकेको थियो । त्यो क्षेत्रमा पुग्न सिमिकोटदेखि दुई दिन लाग्ने गर्छ ।  

स्थानीय तह, अस्पताल व्यवस्थापन समितिको एउटै माग थियो,‘नियमित रुपमा विशेषज्ञ चिकित्सक खटाइदिने व्यवस्था होस । ’स्वास्थ्य उपचार गर्न सहज होस । सेता सिपाही दुर्गममै बसुन, आवश्यक परेको समयमा बिरामीको उचित उपचार हुने व्यवस्था होस, रजिष्टार काफ्ले भन्छन्,‘सबै हुम्लाबासीको चाहना यही थियो ।’

गाउँगाउँमा चिकित्सक खटाउन कर्णाली प्रदेश सरकारले आर्थिक व्यवस्थापन गरेको छ । स्थानीय तहले पनि चिकित्सक गाउँमै बस्न व्यवस्थापन गरिरहेका छन् ।कर्णालीमा सामान्य उपचार नपाउदा कैयनको ज्यान जान्छ,रजिष्टार काफ्ले भन्छन्,‘गाउँगाउँमा प्रतिष्ठानले डक्टर खटाएको छ । गाउँमै जटिल रोग हेर्न सकेको खण्डमा अकालमा ज्यान जाने दर कम हुनसक्छ । कर्णालीमा चिकित्सकको उचित व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकारलाई नीति तथा कार्यक्रममा समावेश गर्न माग गरिएको छ । दैलेखको राकममा पनि कर्णाली प्रतिष्ठानले डक्टर खटाएको छ ।  

चिकित्सकले रात दिन भनेका छैनन्, भोक निन्द्राको मतलब छैन् । घरपरिवारको प्रवाह छैन् । कर्णालीका केही ठाउँमा फोन समेत लाग्दैन्,रजिष्टार काफ्ले भन्छन्,‘कोराना मैदानमा सेता सिपाहीको लगाव अतुलनीय छ । कर्णालीमा कुनै स्वास्थ्य संस्थाले नगरेको काम कर्णाली प्रतिष्ठानले गरिरहेको छ ।  

जुम्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहमा दुई दुई जनाका दरले चिकित्सक खटिए । दुई दिनमा ८ सय ४७ जनाको स्वाब संकलन गरेर एकै दिनमा परीक्षण गरेर रिर्पोट सार्बजनिक गरे । अहिले सेता सिपाही कोराना मैदानको फ्रन्टलाइनमा छन् ।  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनः रातदिन नभनेर पिसिआर परीक्षणमा जमेका छन् । भोक निन्द्राको कुनै प्रवाह छैन् । उनीसहितको टोली अस्पतालमा संकलित स्वाबको परिक्षण गर्नमै ब्यस्त छ । यो बीचमा उनी डोल्पामा स्वाब संकलनका लागि निस्केका थिए । अहिले कर्णालीमा स्वास्थ्य क्षेत्र आशा लाग्दो छ । सबैको साथ र सहयोगको खाँचो छ । कर्णालीको जुम्ला काठमाण्डौ पछिको सबैभन्दा बढि पिसिआर परीक्षण गर्ने अस्पतालका रुपमा गनिएको छ ।

भौगोलिक विकट्ताले ठगेपछि इच्छा शक्ति र प्रभावकारी योजनाका कारण कर्णालीमा कोराना संक्रमण फैलन नदिनको लागि अधिकतम प्रयास भइरहेको छ । हालसम्म पुरानो कर्णालीमा कोरोना संक्रमित भेटिएका छैनन् । 

प्रकाशित: १६ जेष्ठ २०७७ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App