१६ चैत्र २०८० शुक्रबार
समाज

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा १३ राउन्ड हवाई फायर

रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ जोकहा माविमा रहेको क्वारेन्टिनमा संक्रमित देखिएका दुई जनालाई उपचारका लागि आइसोलेसनमा लैजान खोज्दा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ ।

क्वारेन्टिनमा रहेका मध्ये दुई जनामा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितको उपचारको लागि रौतहटको गरुडास्थित नेपाल प्रहरी विद्यालयमा बनाइएको आइसोलेसनमा लैजान खोजिएको थियो ।  

विहीबार नै दुवै जनालाई प्रहरीले आइसोलेसनमा लैजान खोज्दा स्थानीयले अवरोध गरेका थिए । स्थानीयले विरोध गरेपछि हिजो संक्रमितलाई त्यहीँ छाडेर प्रहरी फर्किएको थियो । संक्रमितलाई पनि क्वारेन्टिनमा नै राखेर उपचार हुनु पर्ने तथा क्वारेन्टिनमा रहेकाहरु सबैले समान सुविधा र उपचार पाउनुपर्ने क्वारेन्टिनमा रहेकाहरु र स्थानीयबासीको माग रहेको छ ।  

माथिको निर्देशनअनुसार आज प्रहरीले संक्रमित दुवै जनालाई आइसोलेसनमा लैजान खोज्दा स्थानीयले अवरोध गरेका हुन् । प्रहरीले लैजान खोज्दा स्थानीयले ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन् ।  

स्थानीयको आक्रमणबाट इलाका प्रहरी कार्यालय राजपुर फरहदवाको ना १ झ ५८२ नम्बरको प्रहरी भ्यानमा पनि क्षति पुगेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । स्थिति नियन्त्रणमा आइसकेको प्रहरीको भनाइ छ ।

हिजो कटहरिया नगरपालिका वडा नम्बर १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीको झडप हुँदा प्रहरीले १२ राउन्ड गोली हवाई फायर गर्नु परेको थियो ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App