coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्वारेन्टिनमा न्युनतम सुविधा नभएको गुनासो

कोहलपुर नगरपालिकाले सञ्चालन गरेको एक क्वारेन्टिन । तस्बिर : नागरिक

न्युनतम पनि सुविधा नभएको बाँकेका क्वारेन्टिनमा बसिरहेका व्यक्तिले गुनासो गरेका छन् ।  बाँकेका आठ वटै स्थानीय तहले भारतबाट हालै फर्केका व्यक्तिलाई क्वारेन्टिनमा राखेका छन् । क्वारेन्टिन ब्यवस्थापनका लागि स्थानीय तहले फरक–फरक सुविधा दिदै आएका छन् । कतिपय क्वारेन्टिनमा न्युनतम सुविधा पनि नभएपछि गुनासो बाहिर आएको हो ।  

कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसिरहेका व्यक्तिले न्युनतम पनि सुविधा नभएको गुनासो गरे । उक्त क्वारेन्टिनमा १८ जना व्यक्ति बस्दै आएका छन् । बिगत तीन दिनदेखी क्वारेन्टिनमा बस्दै आएका उनीहरूले गर्मी मौसममा पर्याप्त मात्रामा पंखा नभएको, शौचालयको ढोका नभएको, खानेपानी सुविधा नभएको, खाना र नास्ता घरबाटै ल्याएर खानु परेको जस्ता गुनासो गरेका हुन् । ‘चर्को गर्मी भएपनि कोठाभित्र पर्याप्त मात्रामा पंखाको ब्यवस्था छैन, शौचालयको ढोका नहुँदा दुर्गन्ध सहेरै बसिरहेका छौं,’ एक व्यक्तिले भने ‘जनप्रतिनिधीलाई समस्या सुनाउँदा उल्टो आक्रोशित हुन्छन् ।’

क्वारेन्टिनको कमजोरी सुधार्न पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उनले बताए । क्वारेन्टिनमा बसिरहेका व्यक्ति कोहलपुर नगरपालिका वडा नम्बर १० का स्थायी बासिन्दा हुन् । अहिलेसम्म घरबाट ल्याएको खाना र नास्ता खाने गरेपनि अब त्यो पनि सम्भव नहुने उनीहरू बताउँछन् । ‘अहिलेसम्म त घरबाटै ल्याएको खाना र नास्ता खाइरहेका छौ, अब त त्यो पनि सम्भव देखिएको छैन, किनकी घर परिवारका सदस्य पनि अब खाना र नास्ता ल्याएर क्वारेन्टिनसम्म आउन सक्ने स्थिती छैन, छिमेकीले नै नराम्रो दृष्टिकोणले हेर्न थालिसके,’ उनीहरू भन्छन् ।  

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत आफुहरूको क्षमताले भ्याएसम्म क्वारेन्टिन ब्यवस्थापन गरिरहेको बताउँछन् । उनका अनुसार कोहलपुर नगरपालिकाले स्थापना गरेको १४ वटा क्वारेन्टिनमा बिहीबारसम्म २ सय ३२ जना बसिरहेका छन् । ‘हामीले प्रत्येक क्वारेन्टिनमा एउटा म्याट र झुलको ब्यवस्था गरिदिएका छौं,’ उनले भने ‘उहाँहरू वडाकै बासिन्दा भएकाले घरबाट ल्याएको खाना खाने निर्णय गरेका छौं, कतिपय वडामा घरबाट खाना ल्याउँदा पनि सहज नदेखिएपछि वडामै मेस चलाउन सुरु गर्नु भएको छ भन्ने कुरा सुनेको छु,’ उनले भने ।  

क्वारेन्टिन सञ्चालन गरिरहेका नगरपालिका र गाउँपालिकाले भने पर्याप्त बजेट नभएको गुनासो गरिरहेका छन् । संघीय सरकारले यसका लागि बजेट ब्यवस्था गरिदिनुपर्ने नगरपालिका र गाउँपालिकाको माग छ । जिल्लाका कतिपय स्थानीय तहले सरकारको नियम अनुसार क्वारेन्टिनमा बसिरहेका व्यक्तिलाई बस्ने र खाने सुविधा दिइरहेको बताएका छन् ।

प्रकाशित: १५ जेष्ठ २०७७ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App