१५ चैत्र २०८० बिहीबार
समाज

६ दिनको अन्तरालमा थपिए ५० संक्रमित

भारतबाट फर्केकाहरूले बढाए कोरोना संक्रमितको संख्या

भारतको विभिन्न शहरमा मजदुरी र अध्ययन गर्न गएकाहरू अहिले कोरोना भाइरसको त्रासले फर्कने क्रम बढेसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन दिनै बढ्दै गएको छ। भारतबाट फर्किएर बिभिन्न स्थानीय तहहरूले संचालन गरेको क्वारेन्टिनमा बसेकाहरूको स्वाब संकलन गरि परीक्षण गराउँदा बिगत ६ दिनको अन्तरालमा जिल्लामा ५० कोरोना भाइरसबाट संक्रमित थपिएको बारा प्रहरीले जनाएको छ।

संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना निको भएर घर समेत फर्केका छन्। बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले जेठ ८ गतेसम्म जिल्ला पाँच जना कोरोना भाइरसको संक्रमित मात्रै रहेको बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कलैया, बाराको मुद्दा शाखामा कार्यरत रहेका एक प्रहरी जवान, कलैयामा रहेको एक रेडियामा काम गर्ने एक पत्रकार, वीरगन्जमा खाना पकाउने एलजिपी ग्याँसको बिक्रेता बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका व्यवसायी, भारतको दिल्लीमा भएको तबलिगी जमातको धार्मिक भेलामा सहभागी भएर आएका जितपुरसिमरा उपमहानगरपालिका ७ का १९ गरि दुई मुस्लीम धर्मगुरु गरेर पाँच जना कोरोना भाइरसबाट संक्रमित भेटिएका थिए।

जेठ ८ गतेसम्ममा जिल्लामा पाँच जना मात्रै कोरोना भाइरसबाट संक्रमित भेटिए पनि जेठ १४ गते दिउँसोसम्ममा गरेर त्यो संख्या ५५ पुगेको प्रहरी उपरीक्षक पगेनीको भनाइ छ। बिगत ६ दिनको अन्तरालमा थप ५० जना कोरोना भाइरसबाट संक्रमित भएको भेटिएको र यी सबै भारतबाट दुई हप्ताको अन्तरालमा नेपाल प्रवेश गरेको देखिएको उनले बताए।

भारतबाट फर्केर बिभिन्न स्थानीय तहले सन्चालन गरेको क्वारेन्टिनमा बस्दै आएकाहरूको सम्पर्कमा आएर सुरक्षाकर्मी र स्वास्थ्यकर्मी समेत कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढेको कारणले चुनौती थपिएको पगेनीको भनाइ छ। जिल्लामा जेठ १४ गते बुधबार ८ जना नयाँ संक्रमितहरू थपिएको थियो।

थपिएको संक्रमितहरू मध्ये ७ भारतबाट फर्केर पचरौता नगरपालिकाको क्वारेन्टिनमा राखिएको र एक जना उनीहरूको चेकजाँचमा खटेका स्वास्थ्यकर्मी समेत रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले पुष्टि गरेका थिए। जेठ १३ गते जिल्लामा ५ जना नयाँ संक्रमित थपिएको थिए।

थपिएकाहरू पचरौता नगरपालिकाको क्वारेन्टिनमा खटिएका नेपाली सेनाका दुई जवान र भारतबाट मजदुरी गरेर फर्केका तीन स्थानीय गरि पाँच जना रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरेका थिए। जेठ १२ जिल्लामा २३ जना नयाँ कोरोना भाइरसको संक्रमित थपिएका थिए ।  

थपिएका नयाँ कोरोना भाइरसको संक्रमित मध्ये महागढीमाइ नगरपालिका र आदर्शकोतवाल गाउँपालिका गरि दुई स्थानको क्वारेन्टिनमा रहेका थिए।

नयाँ थपिएका संक्रमितहरू मध्ये २१ जना महागढीमाई नगरपालिकाको बिभिन्न वडाहरूको बासिन्दा रहेको र उनीहरू भारतको बिभिन्न शहरहरूबाट मजदुरी गरेर फर्केर महागढीमाई नगरपालिकाको क्वारेन्टिन बसेका थिए। भने आदर्शकोतवाल गाउँपालिकाका २ जना स्थानीयहरू भारतबाट फर्केर क्वारेन्टिनमा बस्दै आएका प्रजिय पण्डितले पुष्टि गरेका थिए।

जेठ ९ गते जिल्लामा ६ जना कोरोना भाइरसको नयाँ संक्रमित फेला गरेका थिए। थपिएका संक्रमितहरू सिम्रौनगढ नगरपालिकाको बिभिन्न वडाका स्थानीय रहेका र उनीहरू भारतको बिभिन्न शहरहरूबाट फर्केर क्वारेन्टिनमा बसेका थिए।

दुई हप्ताको अन्तरालमा भारतको बिभिन्न शहरहरूमा मजदुरी र अध्ययनको लागि गएकाहरू जेठ १५ गते दिउँसो सम्ममा हजार भन्दा बढिको संख्यामा फर्कको बारा प्रहरीले जनाएको छ।

संचारकर्मी, सुरक्षकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित

कोरोना भाइरसको नियन्त्रणको लािग खटेका संचारकर्मी , सुरक्षकर्मी र स्वास्थ्यकर्मी गरेर ११ जना संक्रमित भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरिक्षक सहित ७ जना प्रहरी, पचरौता नगरपालिकाको क्वारेन्टिनको सुरक्षामा खटिएका नेपाली सेनाका दुई जना जवान र एकजना स्वास्थ्यकर्मी र कलैयाका एक रेडियोमा काम गर्ने एक जना पत्रकार समेत संक्रमित भएका बारा प्रहरीले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७७ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App