coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउनमा गल्छी–त्रिशूली–मैलुङ सडकको काम धमाधम

गल्छी–त्रिशूली–मैलुङ सडकखण्डमा निर्माणाधिन पुल ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको लकडाउनमा पनि धमाधम भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाईको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो । सुरक्षाका सामग्रीको प्रयोग गरी भौतिक दुरी कायम गरेर काम भइरहेको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक आयोजनाले जानकारी दिएको छ ।  

गल्छीदेखि त्रिशुलीसम्मको ४६ किलोमिटर सडकको २० किलोमिटर भागमा सिङ्गल लेएरको कालोपत्रेको काम सम्पन्न भएपनि केही ठाउँमा मुआब्जाको समस्या यथावत छ । कालोपत्रे गर्नका लागि निर्माण कम्पनीले भारतबाट ल्याएका कामदार लकडाउनपछि घर फर्किएकाले कालोपत्रको काम रोकिएको थियो । स्थानीय कामदारलाई खटाएर केही दिनमा डबर लेएरको कालोपत्रेको काम सुरु गर्ने बताइएको छ । भीर काट्ने र पुल निर्माणको काम भने भइरहेको छ ।  

आगामी असार मसान्तसम्म तीनवटा पुल सम्पन्न गर्ने गरि पुल निर्माणको काम धमाधम चलिरहेको आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘पहिलो चरणमा ११ वटा ठेक्का लगाएर काम भइरहेको छ अब ५ वटा ठेक्काको चरणमा छ’, प्रमुख भण्डारीले भने, ‘असार मसान्तमा तीनवटा पुल निर्माण सम्पन्न हुन्छ, अरु पनि निर्माण सम्पन्नको चरणमा छ ।’ ठेक्का लगाएको ११ वटा पुल मध्ये ८ वटा अहिले निर्माण भइरहेको भण्डारीले बताए ।

धादिङको गल्छी स्थित महेशखोला, नुवाकोटको कोल्पुटार स्थित कोल्पु खोला, रातामाटेस्थित ठुलो खोला, गेर्खुखोला स्थित गेर्खुखोला, रसुवा र नुवाकोटको सिमाना बेत्रावती स्थित फलाखुखोला, नयाँपुल स्थित त्रिशुली नदी, चिप्लेटी स्थित त्रिशुली नदी र रसुवाको मैलुङस्थित ठाडो खोलामा पक्कि पुल निर्माण भइरहेको छ । कोल्पुखोला, ठूलोखोला र गेर्खुखोला माथि निर्माण भइरहेको पुल असार मसान्तमा सकिने आयोजनाले जानकारी दिए । पुलको स्टिम ढलान, नदी नियन्त्रण पहुँच सडक फुटपाथ रेलिङ निर्माण, खोला स्याल्ब ढलान, जग ढलान र वीन वाल लगाउने काम भइरहेको छ ।

नुवाकोटको देविघाटस्थित तादी खोला, रसुवाको मैलुङमा क्यानल क्रसिङ र त्रिशुली खोलामा पुल निर्माण रोकिएको छ । मैलुङमा क्यानल क्रसिङको दुई वटा पुल निर्माणका लागि पुन डिजाइन गर्नुपर्ने र तादीखोलाको पुल निर्माणका लागि मुआब्जा विवादका कारण रोकिएको हो । आठ वटा पक्कि पुल निर्माणका लागि एक सय ५० जना कामदारले अहिले निरन्तर काम गरिरहेको आयोजनाले जनाएको छ ।  

कालिका तुन्दी हिम्दङु एण्ड थोकर जेबीले ५८ करोडको लागतमा पक्कि पुल निर्माणका लागि ठेक्का पाएको छ भने सडकको जिम्मा एमएस–कन्भेट–टुन्डी र रसुवा जेभीले पाएको छ । गल्छीदेखि मैलुङसम्म सडकको लम्बाइ ४६ किमि रहेको छ । पहिलो खण्डमा निर्माण भइरहेको सडकको लागत ३ अर्ब ६३ करोड ९१ लाख १६ हजार ९२४ रुपैयाँको छ । उक्त खण्डमा करिब ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको आयोजनाले बताएको छ । तर लकडाउनका कारण तोकिएकै समयमा निर्माण सम्पन्न नहुने आयोजना प्रमुख भण्डारीले बताए ।

दोस्रो खण्ड मैलुङ–स्याफ्रु सडकको पनि ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा निर्माण हुने तेस्रो खण्ड स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नतिका लागि बिजुलीको पोल सार्न र सडक क्षेत्रमा पर्ने अस्थायी तथा स्थायी संरचना हटाउने प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित: १५ जेष्ठ २०७७ ०८:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App