coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरीभराउ

जुम्लामा भारतबाट आउनेको संख्या अत्याधिक बढेको छ । यो संगै यहाँको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरिभराउ बनेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीका अनुसार कर्णाली प्राविधिक शिक्षालय र दुर्गा माबि लाम्रामा गरेर १ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् । ४५ जनाको पिसिआर परीक्षण गर्दा कोराेना रिपोर्ट नेगेटिभ आएपछि घरफर्किएका छन् ।  

दैनिकदिन सयौँको संख्यामा जुम्ला भित्रिने क्रम बढेको छ । कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ जना र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टिनमा २८ जना बसालिएको प्रहरी प्रमुख धामी बताउँछन् । कामका शिलशिलामा भारत गएकाहरु फर्किन थालेपछि जुम्लाबासी त्रासित छन् ।    

दैनिक रुपमा जुम्ला भित्रिनेको संख्या बढिरहेकोले व्यवस्थापनमा चुनौति थपिएको छ । चाँडै स्थानीय तह र सरोकारवाला निकाय फेरी आकस्मिक वैठक बसेर थप व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।  

अहिले आउनेमा क्षेत्र नं (ख) का नागरिकहरु क्वारेन्टिनमा बढि छन् । अब आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता भईरहेको छ । अब सदरमसकाम वा नजिकै चाँडै क्वारेन्टिनको संख्या व्यवस्थापन गर्नु पर्नेछ । यदि अब बाहिरबाट आउने मानिसहरूको व्यवस्थापन नभई घर जानुपर्ने वाध्यता भयो भने हालसम्म गरेको सवै उपलब्धी पनि फेरी गुम्ने डर हुन सक्छ ।

हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय,जुम्ला बहुमुखि क्याम्पस,निर्माण व्यवसायीको भवन, दुर्गा माबि लाम्रा र सरस्वती माबि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको हो ।

भारतबाट भित्रिनको संख्या बढिरहेको बेला उच्च सावधानी अपनाउन स्थानीयले सरोकारवाला निकायालाई आग्रह गरेका छन् । एक हप्ता अघिसम्म आएका सबैको पिसिआर परीक्षण गरिसकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । तर पछिल्लो समयमा भित्रिनेहरुबाट कोराना संक्रमण फैलन सक्ने अनुमान गरिएको छ । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App