१६ चैत्र २०८० शुक्रबार
समाज

६ दिनमा १३६ जनाले कोरोनालाई जिते,यो संगै निको हुनेको संख्या १८३

बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट डिस्चार्ज भएका । तस्बिर : कमल खत्री/नागरिक

पछिल्लो पटक कोशी अस्पतालबाट चार जना र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट तीन जना डिस्चार्ज भएका छन्। यो सहित नेपालमा निको हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्। 

कोरोना संक्रमण बढेसंगै निको हुनेको संख्या पनि बढेको छ । बुधबार विराटनगरको कोशी अस्पताल र बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट सात जना निको भएका छन् भने मंगलबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पतालबाट २१ जना निको भएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । त्यस्तै सोमबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पतालबाट ४३ जना र अन्य धनुषा, सर्लाही, काठमाडौं, कपिलवस्तु, दाङ, धादिङ र बर्दियामा एक÷एक जना गरेर ५० जना डिस्चार्ज भएका थिए । 

आइतबार वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पतालबाट १८ जना, शनिबार रूपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालबाट १० जना र वीरगञ्जस्थित नारायणी कोभिड अस्थायी अस्पतालबाट ९ जना गरी १९ जना डिस्चार्ज भएका थिए । त्यस्तै शुक्रबार बाँकेको शुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना निको भएका थिए । शुक्रबार देखि बुधबारसम्मको पछिल्लो ६ दिनमा १३६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रादेशिक तथ्यांक अनुसार सबैभन्दा बढि प्रदेश २ मा निके भएका छन्। प्रदेश २ मा मात्र ९६ जना निको भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । 

प्रदेश १ मा ३० जना, प्रदेश २ मा ९७ जना, प्रदेश ३ मा ११ जना निको भएर फर्केका छन्। त्यस्तै प्रदेश ४ गण्डकीमा दुई जना, प्रदेश ५ मा ३८ जना कोरोनालाई जितेर घर फर्केका छन् । त्यस्तै प्रदेश ६ मा भर्खरै कोरोना संक्रमित भेटिएका भएर अझै कोही निको भएको छैनन् । त्यस्तै प्रदेश ७ मा कन्चनपुरका एक जना र कैलालीका चार जना गरी पाँच जना उपचारपछि निको भएर घर फर्केका छन् ।

डिस्चार्ज भएकाहरुलाई एक हप्ता सम्म होम क्वारेन्टाईमा बस्न नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले सुझाव दिएका छन्। यसबिचमा अन्य व्यक्तिसंग अहिले सम्पर्कमा नआउन र कतै हिडडुल नगर्न उनीले परामर्श दिएका हुन्।

उनका अनुसार पछिल्लो दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिने गरिएको बताएका छन् । ‘कोरोनाबाट डराउनुपर्दैन । मनोबल उच्च राखे छिट्टै निको हुन्छ’, डा उपाध्यायले भने, ‘यसबाट बच्न घरमै रहनु नै उत्तम हुन्छ ।’ 

उनीहरु बिरामी नभई संक्रमित हुन्। तर उनीहरू बिरामीलाई जस्तै गरी २४सै घण्टा चिकित्सक त्यहाँ हुनुपर्छ भन्ने चाहना राख्नुहुदैन्। उनीहरुलाई आईसोलेट गर्ने, मनिटरिङ र हेरचाह गर्ने गरेको उनले बताए । नेपालमा ८८६ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ । ६९९ जना उपचाररत छन्।

उपचारपछि निको हुनेको संख्या विदेशमा पनि बढ्दो रहेको तथ्यांकले देखाएको छ । विश्वभर बुधबार बेलुकासम्म २४ लाख ५६ हजार ४४७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

प्रकाशित: १४ जेष्ठ २०७७ १५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App