coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाउँमा आउने पाहुनालाई समेत क्वारेन्टिन

जुम्ला तिला गाउँपालिका–२ मा गठित परिवर्तन युवा क्लबले गाउँमा आउने पाहुनालाई बस्न क्वारेन्टिन निर्माण गरेको छ। सकभर गाउँमा पाहुना आवतजावत गर्न नदिने र आइहालेको खण्डमा क्वारेन्टिनमा राखिने व्यवस्था गरेको परिवर्तन युवा क्लबका अध्यक्ष धनेन्द्र बोहोराले बताए। उनका अनुसार कालिका आधारभूत विद्यालय भुगेडीमा पाहुनाका लागि मात्र १० बेडको क्वारेन्टाइन बनाइएको छ।  

क्वारेन्टिनमा राख्ने बेडका लागि नेपाल रेडक्रस सोसाइटी उपशाखा तिला गाउँपालिकाले सहयोग गरेको छ। गाउँमा कोराना भाइरस संक्रमणको त्रास बढेको छ। कामको सिलसिलामा भारत गएकाहरू फर्किन थालेका छन्। यो अवस्था निकै जोखिम भएकाले पाहुनालाई पनि क्वारेन्टिनमा राखिने व्यवस्था मिलाइएको युवा क्लबले बताएको छ।  

अध्यक्ष बोहोराका अनुसार पाहुनालाई खानपिनको व्यवस्थापन क्लबले नै गर्ने भएको छ। तिला–२ को वडा कार्यालयसँगको समन्वयमा युवा क्लबले विद्यालयमा क्वारेन्टिन निर्माण गरेको क्लबका उपाध्यक्ष धनबहादुर परियारले जानकारी दिए। उनले भने, ¬‘गाउँमा पाहुना आउँदा क्लबलाई जानकारी दिन भनेका छौं। यदि पाहुना आएको जानकारी नदिने र गुपचुपमै घरमा राख्ने परिवारलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका छौं। ’

निकै संवेदनशील अवस्था भएकाले सबैले उच्च सतर्कता अपनाउनुपर्ने बेला भएको उनीहरू भनाइ छ। प्रत्येक बेड दुई मिटर फरकमा छन्। भारतबाट भित्रिनेहरू राख्नका लागि जुम्लामा जिल्लास्तरीय क्वारेन्टाइन निर्माण भइरहेका छन्। यहाँ युवा क्लबले आफ्नो पहलमा क्वारेन्टाइन निर्माण गरेर गाउँ सुरक्षित राख्नका लागि सचेतना फैलाइरहेका छन्।  

क्वारेन्टाइन बनाएसँगै गाउँमा कोराना भाइरसको संक्रमणबाट बच्न साबुन पानीले हात धुनुपर्ने, घरबाहिर निस्किँदा मास्कको प्रयोग गर्नुपर्ने र सेनिटाइजरको प्रयोग गरेर सरसफाइमा ध्यान दिनुपर्ने युवा क्लबले सुझाव दिँदै आइराखेको छ। अध्यक्ष धनेन्द्र बोहोराले भने, ‘गाउँ सुरक्षित गर्न क्लबले हदैसम्मको पहल गरिरहेको छ। गाउँका युवा एकजुट भएर थालेको यो कार्यले सार्थकता पाउनेछ । कोरानामुक्त गाउँ बनाउनका लागि सबैको साथ आवश्यक छ।’

क्वारेन्टाइनमा बसेकाहरूको रेखदेख व्यवस्थापन क्लबले नै गर्नेछ। गाउँमा युवा क्लबले गरेको क्रियाकलाप निकै प्रसंसनीय रहेको स्थानीय बताउँछन्।अपरिचित ब्यक्तिलाई गाउँ प्रवेशमा रोक लगाउनेदेखि गाउँ बाहिर निस्किँदासमेत आपसी समन्वयका आधारमा निस्कनुपर्ने नियम बनाउँदै छन्। छिमेकी वडामा जाँदा वडापालिकाको सिफारिस लिएर मात्र जाने व्यवस्थासमेत गरिएको छ। क्लबमा गाउँका अधिकांश युवा समेटिएकाले पनि क्वारेन्टाइन व्यवस्थापनदेखि सचेतना फैलाउने कार्यमा सहज भएको हो।

 

प्रकाशित: १४ जेष्ठ २०७७ १४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App