१५ चैत्र २०८० बिहीबार
समाज

जताततै हावाहुरीको वितण्डा

हावाहुरीले ढालेको इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरीको आकृति तथा पुल । डिकुवा बाघखोरमा हावाहुरीले छाना उडाएको घर । तस्बिर : नागरिक

भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थित इन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथिबाट बनाइएको फलामको पाताको इन्द्रेणीको आकृति, पोखरी प्रवेश गर्ने गेट लगायतका संरचना हावाहुरीले बिगारेको हो । मंगलबार अपरान्ह्न असिनापानीसँगै आएको हावाहुरीले इन्द्रेणीपोखरीमा बनाइएको पुल तथा पुलमाथिबाट बनाइएको इन्द्रेणी आकृतिमा क्षती पुगेको वडाध्यक्ष देबिन्द्र राईले बताए ।  

हावाहुरीले फलामे पाताको इन्द्रेणी आकृति ढल्दा पुलको रेलिङ समेत भाँचिएको हो । इन्द्रेणीपोखरी प्रवेश गर्ने गेटमा समेत काम नलाग्नेगरी क्षती पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत विनियोजन गरिएको स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको २० लाखमा निर्माण गरिएको संरचनामा हावाहुरीबाट करिब ४ लाख १८ हजार बराबरको क्षती पुगेको वडाध्यक्ष राईले बताए  ।  

सदियौंदेखि संरक्षणको अभावमा ओझेलमा परेको इन्द्रेणीपोखरीमा गत आर्थिक वर्ष फलामे पुलको रेलिङ, फलामको पाताको इन्द्रेणी, पोखरी प्रवेश गर्ने गेट, काँडे तारको घेराबारा लगाउने, पोखरीको चारैतिर जग उठाएर पर्खाल लगाउने, ढलान गर्ने, पोखरीको तालमा सोलिङ गर्ने लगायतका काम गरिएको थियो । हावाहुरीले बिगारेको इन्द्रेणीपोखरीको संरचना बुधबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मानसकुमार राई, ईलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरिक्षक सुर्यनारायण माझी लगायतले निरीक्षण गरेका छन् । हावाहुरीले स्वास्थ्यचौकी इन्द्रेणीपोखरीको सोलार, गिजरबक्स, ट्यांकी उँडाउँदा दुई लाखको क्षती भएको वडाध्यक्ष राईले बताए ।  

हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा बाघखोरका भक्तबहादुर राईको घरको छाना उँडाएको छ । यस्तै, सोही हावाले स्थानीय बालकन्य प्राबिको शौचालय र युवा समुहको भवनको छाना उँडाएको वडा सदस्य घनश्याम राईले बताए । हावाहुरीले जस्ताको छाना उँडाएर पाखामा छरपष्ट बनाएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला महुरेका रामबहादुर गिरीको घरको छाना उँडाएको छ । हावाहुरी पिडित गिरीलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले आर्थिक सहयोग गरेको छ । बुधबार नुनथलाका वडाध्यक्ष भीम राईमार्फत गिरीलाई १० हजार आर्थिक सहयोग गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।  

हावाहुरीले खेतबारीमा लगाइएको मकै, आलु, केरा, फलफुल लगायतका बालीनाली नष्ट पारेको छ । असिनाले समेत बालीनालीमा क्षती पुर्‍याएको छ । हावाहुरीकै कारण जिल्लामा मंगलबार अपरान्हदेखि विद्युत अवरुद्ध भएको छ ।  

 

 

प्रकाशित: १४ जेष्ठ २०७७ १४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App