१६ चैत्र २०८० शुक्रबार
समाज

बालबालिकाको खोप अवरुद्ध हुन नदिन छुट्टै स्वास्थ्यकर्मी खटाइने

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण बालबालिकाको खोप प्रभावित भएपछि अव सवै सरकारी स्वास्थ्य संस्था एवं स्थानीय तहहरुले अनिवार्य रुपमा छुट्टै स्वास्थ्यकर्मी खटाउने भएका छन्।  

कोरोना संक्रमणका कारण नियमित रुपमा लगाउनुपर्ने खोप प्रभावित भएपछि सवै सरकारी अस्पताल, स्वास्थ्यचौकी र स्थानीय तहबाट अनिवार्य रुपमा छुट्टै स्वास्थ्यकर्मी खटाई खोप सन्चालन गर्न लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्थानीय तह अन्तर्गत रहेका सवै स्वास्थ्य संस्थाबाट खोप सन्चालनका लागि दुई जना स्वास्थ्यकर्मी कर्मचारी परिचालन गर्ने र स्थानीय तहले एकजना फोकल पर्सन अनिवार्य तोक्न लागिएको हो। मन्त्रालयले यसको कार्यान्वयनका लागि आवश्यक समन्वय गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत अनुरोध गरेको छ। ‘खोप तथा बालस्वास्थ्य सेवालाई प्रभावकारी रुपमा सन्चालन गर्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालमा कर्मचारीहरुबाट खोप सेवा सन्चालनका लागि दुई वटा स्वास्थ्यकर्मी र महानगरपालिका, नगरपालिका, गाउँपालिकाका स्वास्थ्य शाखाबाट बालस्वास्थ्य कार्यक्रम फोकल पर्सन तोकेर त्यसको जानकारी गराउनका लागि आवश्यक समन्वय गरिदिन अनुरोध छ’, स्वास्थ्य मन्त्रालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले लेखेको पत्रमा भनिएको छ।  

सरकारको यो निर्णयसँगै अव सवै स्थानीय तह र माताहतका स्वास्थ्य संस्थाहरुले खोपका लागि छुट्टै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु खटाउनुपर्नेछ। कोरोना संक्रमणको कारण बालबालिकाको खोप प्रभावित नहोस् यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ। कोरोना संक्रमण जोखिमका कारण गरिएको लकडाउनपछि बालबालिका, गर्भवती महिलाको खोप, उपचार प्रभावित भएपछि सरकारले बैशाख पहिलो साता स्वास्थ्य संस्थाबाट नियमित खोप सन्चालन गर्न स्थानीय तह र जिल्ला समन्वय समितिलाई निर्देशन दिएको थियो।  

तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गएको जसका कारण स्थानीय तह र स्वास्थ्य संस्थाहरु कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा केन्द्रित हुँदा बालस्वास्थ्य एवं खोप प्रभावित भएकाले यस कार्यका लागि छुट्टै कर्मचारी खटाउन भनिएको मन्त्रालयका एक अधिकारीले बताए। नवजात शिशुले पाउनुपर्ने दादुरा लगायत खोप सेवा अवरुद्ध हुँदा थप महामारी देखिनसक्ने भएकाले खोप सेवालाई नियमित गर्न अनिवार्य रुपमा छुट्टै स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय गरिएको उनले बताए।

 

प्रकाशित: १४ जेष्ठ २०७७ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App