८ वैशाख २०८१ शनिबार
समाज

‘गर्मी बढ्यो, पातला लुगा छैनन्’

लकडाउनका कारण बन्द अवस्थामा रहेको धनगढी बजार । तस्बिरः पुष्पराज/नागरिक

अहिले धनगढीको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ । दिनानुदिन गर्मीको पारो चढ्दै गइरहेका बेला बाक्ला लुगा त्यागेर पालता लुगाको खोजीमा आम नागरिक छन् । तर, कोरोना संक्रमणका कारण दुई महिनादेखिको बन्दाबन्दीले लुगा कपडाका पसल ठप्प भएका बेला यहाँ गर्मी समयमा लगाउने पातला लुगा पाउनै मुस्किल भइरहेको छ ।  

चैत पहिलो हप्तासम्म पश्चिम तराईको मौसम चिसो नै रहेको बताउदै धनगढी उप–महानगरपालिका–१२, जुगेडाका भोजराज जोशीले भने,‘त्यो बेला बजारमा पातला लुगा आएका थिएनन्, त्यसपछि भने बजारै बन्द भयो, अहिले लगाउनका लागि पातला लुगा नै छैनन् । उनी आफ्नो ७ महिनाको छोरालाई पातला लुगा बजारमा पाउनै मुस्किल भएको बताउँछन् । ‘लक डाउनका कारण बजार ठप्प छ,’ उनले भने,‘चिन जानका कपडा पसलेकहाँ भित्रबाट पसल खोलाएर लुगा खोज्दा पाइएन ।’  

उनी मात्रै हैनन्, अहिले पश्चिम तराईमा चर्को गर्मी बढेसँगै पातला लुगा (गर्मी मौसममा लगाउने लुगा) खोज्ने ग्राहकको भीड लाग्न थालेको छ । यसपालि लक डाउनले गर्दा गर्मीका लागि भनेर पातला सुतीका लुगाहरु ल्यानै नपाएको बताउँदै कपडा व्यवसायी रामु चौधरीले भने,‘तराईमा गर्मी सिजन सुरु हुनै लाग्दा लक डाउन भयो, त्यसपछि पातला लुगा मगाउनै पाइएन ।’ गर्मीका लागि चाहिने पातला लुगाको खोजीमा ग्राहकहरु फोन गर्ने गरेको उनले बताए । ‘पसलको अगाडि फोन नम्बर लेखेको थिएँ, पसल अगाडि पुगेर पातला लुगा चाहियो भन्दै त्यही नम्बरमा ग्राहकहरु फोन गर्छन्,’ उनले भने,‘पातला लुगा नआएको भन्दै जवाफ फर्काउने गरेको छु ।’  

तराईमा बढ्दो गर्मीसँग खानपान र रहन सहनमा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् । ‘अहिले तराईमा ह्वात्तै गर्मी बढेको छ,’ नेपालगन्ज मेडिकल कलेज कोहलपुरका बरिष्ठ छाला, कुष्ठ रोग तथा यौन रोग विशेषज्ञ एशोसियट प्रोफेसर डा. सुमित पाण्डेयले भने,‘यो समयमा हामीले बढी ध्यान दिनुपर्छ ।’ गर्मी बढेसँगै पातला सुतीका लुगाहरु लगाउनु पर्ने सुझाउँदै उनले भने,‘सुतीका कपडाले घामको विकीरणलाई शरीरमा प्रवेश गर्नबाट रोक्ने र जस्ताको तस्तै फर्काउने भएकाले शीतलता प्रदान गर्छ ।’  

तराईमा अत्याधिक गर्मी बढ्दा मानिसको शरिरको तापक्रम पनि बढ्दै गयो भने बेहोस हुने, टाउको दुख्ने, वाकवाकी लाग्ने बिरामी हुने गरेको बताउँदै उनले भने,‘यस्तो समस्यालाई निराकरण गर्न खानपानका साथै पहिरनमा पनि विशेष ध्यान दिनुपर्छ ।’ गर्मी मौसममा बाहिर निस्कनै परेमा पूरा बाहुला भएका सुतीका लुगाहरु लगाउनु पर्ने सुझाउँदै डा. पाण्ड्ेयले भने,‘हामीले सकभर पातला र सुतीका कपडाहरु प्रयोग गर्नुपर्छ, त्यसमा पनि खुकुला लुगाहरु प्रयोग गर्नु उत्तम हुन्छ ।’

प्रकाशित: १४ जेष्ठ २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App