१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आइसोलेसनमा मृत्यु भएका टाउकोका बिरामी थिए : आफन्त

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा बुधबार बिहान मृत्यु भएका व्यक्तिमा टाउकोको बिरामी रहेको आफन्तले बताएका छन् । वर्षौदेखि टाउको दुख्ने बिरामी भएका गौरीगंगा नगरपालिका–७, भगवानपुरका ५५ वर्षिय वीरबहादुर बन्तोलाको आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।  

हिजो (मंगलबार) मात्रै भारतको सिमलाबाट गौरीफन्टा नाकामा पुगेका उनी घर जाने क्रममा एक्कासि सीमामै बेहोस भएका थिए । बेहोस भएका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । अस्पतालको आकस्मिक कक्षमा सामान्य उपचारपछि उनलाई कोरोनाको आइसोलेसन कक्षमा राखिएको थियो । उनको आज बिहान आइसोलेसन कक्षमै मृत्यु भएपछि एका–एक कोरोनाको आशंकामा बजारमा हल्ला फैलियो ।  

 आफन्तको घरमा पुगेका वडा अध्यक्ष हरिप्रसाद तिवारीका अनुसार वीरबहादुर वर्षौदेखि टाउको दुख्ने बिरामीबाट ग्रसित थिए । उनको भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा चिकित्सकले सल्यक्रिया गर्नुपर्ने सल्लाह दिएका थिए । सल्यक्रिया गर्नका लागि चाहिने खर्च जुटाउन उनी गत पुसमा भारतको रत्नागिरिमा आँपको रखवाली गर्न गएका थिए । 

‘१४/१५ घण्टा भोक भोकै यात्रा गरेका बन्तोला मंगलबार दिउँसो सीमामा पुगेका थिए,’ वडाध्यक्ष तिवारीले भने,‘त्यसपछि नगरपालिकाले उद्दार गरेर ल्याउन टिप्पर पठाएका बेला उनी त्यही बेहोस भएर ढले र तुरुन्तै उपचारका लागि सेती अस्पतालमा लगिएको हो ।’ बेहोस हुनु अघि उनले एकै पटक पाँच वटा ट्याब्लेट खाएको आफन्तको भनाई उदृत गर्दै वडाध्यक्ष तिवारीले भने,‘बेहोस हुनु अघि उनले एकैपटक पाँच वटा ट्याब्लेट खाएका रहेछन्, त्यो पनि भोकभोकै ।’  

सीमामै बेहोस भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराइएको बताउँदै सूचना अधिकारी दिलिप श्रेष्ठले भने,‘बेहोस भएका उनको आरडिटी चेक गर्दा नेगेटिभ देखिएको थियो ।’ त्यपछि उनलाई थप उपचारका लागि चिकित्सकले आइसोलेसनमा पठाएको सूचना अधिकारी श्रेष्ठले बताए । उनले भने,‘राम्रो उपचार होला भनेर नै डाक्टरले उनलाई आइसोलेसनमा पठाएको हुन सक्छ, त्यहाँ आज बिहान ६ बजे उनको मृत्यु भयो ।’ मृतक बन्तोलाको स्वाब संकलन भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् । 

प्रकाशित: १४ जेष्ठ २०७७ ०५:२२ बुधबार

आइसोलेसन मृत्यु गौरीफन्टा नाका