coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लकडाउनमा डोको बुनेर जिविका चलाउँदै

कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी गरिएको लकडाउनको बीचमा जुम्ला तातोपानी गाउँपालिका ४ की रुपाकन्य सार्की डोको बेच्न ब्यस्त छिन् । निगालोबाट डोको बुनेर बेच्दै उनको दैनिकी चलिरहेको छ । उनले बुनेको डोको गाउँदेखि सहरसम्मका किसान किन्छन् । डोको बुन्ने कार्यलाई व्यवसायीक बनाउदै लगेका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर भएकै कारणले डोको बुनेर बेच्ने गरेका हुन् । खानपानको व्यवस्थापन गर्नकै लागि कालापहाडको यात्रा नियमित हुने गर्दथ्यो । तर पछिल्लो समयमा  डोको बुनेर बेच्न थालेपछि घरखर्च गाउँमै जुट्न थालेको छ । रुपकन्याले भनिन्,‘यो पेशा अंगालेपछि परिवारसंगै बस्न पाएका छौँ । घरमै सिपको प्रदर्शन गरेर जिबिका चलाउँदै आएका छौँ, खुसी छौ । ’

निगालो ल्याउन १ दिनको बाटो हिड्नु पर्छ । अहिले पहिलेको जस्तो डोकाको बिक्री छैन, पहिला घरमै ग्राहकहरु खोज्न आउँथे, अहिले डोको बेच्न भारी नै बोकेर गाउँगाउँ चहार्नुपर्ने अनुभव सुनाइन् ।  

आफ्नो हातमा सीप र काम गर्न सक्ने अवस्था रहुन्जेलसम्म ढोको बुनेर नै जीविका चलाउने उनले प्रण गरिन् । लकडाउनमा घरमै बसेर डोको बुन्नु दैनिकी बनेको हो । डोको बुनेर आएको पैसाले दैनिक घर खर्च चलाउने र छोराछोरी पढाउने र औषधि उपचारमा खर्च गर्ने गरेको उनी बताउँछिन् । बाध्यताले गर्दा जीवनको अन्तिम समयसम्म पनि डोको बुनेर बेच्नुपर्ने अवस्था छ, उनले भनिन्,’‘ ग्रामीण क्षेत्रमा डोको बुन्ने जनशक्ति नहुँदा बुनेका डोका गाउँगाउँसम्म पुर्‍याउन सकिएको छैन । तर डोको बेचेर सहजै रुपमा घर खर्च सञ्चालन गर्न सकिने पूर्ण अनुभव छ ।’

 ‘पहिला हामी कालापहाड जान्थ्यौ,ँ केबल पेट पाल्ने काम मात्र हुन्थ्यो, कालापहाडमा काम गर्नु भन्दा आफ्नो गाँउमा बसेर डोको बुन्दा फाइदा हुने गरेको रुपकन्यका पति गाडो सार्की बताउँछन् । एक वर्ष कालापहाडमा गएर कमाएको धन आफुलाई मात्र हुन्छ । आतेजाते र खातेमा नै सकिन्छ, त्यसैले गाँउमै निगालाको डोको बुन्ने पेशा अंगालेपछि घर खर्च सहजै रुपमा चलेको छ ।    

यदि कालापहाडमा गएको भए घरको सुर्ताले मन पिरोलिरहेको हुन्थ्यो, तर गाँउ घरमा आनन्द मनले दुःख र सुख जे भए पनि परिवारसंगै बस्न पाइएको कथा गाडे सार्कीको छ  । निगालोबाट घरको छानो छाउनुका साथै डोको, डालो, सुपो र स्याकु लगायत दैनिक जीवनमा प्रयोग आउने सामाग्रीहरु बनाउदै आएका छन् ।

गाडे सार्की उदाहरण मात्र हुन् । उनको गाउँका प्रत्येक घर परिवारले यो व्यवसाय रोजेका छन् । एउटै डोकोबाट ३ सयदेखि ४ सय ५० रुपैयाँसम्म कमाउँछन् । एक दिनमा २ देखि ४ डोकासम्म बेच्ने गरेको भन्दै एक दिनमा १ हजारसम्म कमाइ हुने उनीहरु बताउँछन् । १ दिनमा २ वटा डोको बुन्न सकिन्छ ।  

यता चन्दननाथ नगरपालिका ५ जुम्ला बजारका भगवती शाहीले ३ वटा डोको किन्दै भनिन्,‘बाली भित्र्याउने सिजन आएकोले डोको किन्न बाध्य भए ।’ जौ,गहुँ र रोपाइ सुरु भएको भन्दै शाहीले डोकोको भारी बोक्न सजिलो हुने जनाइन् । अहिले वार्षिक १ लाखदेखि २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको डोको व्यवसायी बताउँछन् । स्थानीयले बनाएका निगालाका सामाग्री जुम्लामै खपत भइरहेको छ । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App