coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोरोना कहर : ‘आमाको शव समेत भेट्न पाइएन’

उदयपुर चौदण्डीगढी नगरपालिका–३ बसाहाकी सुना राई श्रीमान रासधनसँग मकै गोडमेलमा व्यस्त थिईन् । त्यहीबेला खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलमा एक्लै बसिरहेकी आमा ६१ वर्षीय रत्नकुमारी राईको हत्या भएको अप्रत्यशित खबरले उनीहरु मर्माहत बने । गत शुक्रबार बिहानको करिब ११ बजेको थियो । मकै गोड्दै गरेको कोदालो हत्तपत्त थन्काएर उनी श्रीमानसँग माईती घरमा जाने तयारीमा लागिन् ।

दिदिको घर पनि बसाहा नै भएकाले मृतक आमाको दाहसंस्कारका लागि सुना श्रीमान, दिदि, भिनाजु र अर्का एक आफन्तसँग माईती घर खोटाङतर्फ हिँडिन् । लकडाउनका कारण सवारी साधन चल्ने अवस्था थिएन । बाटोमा सोधपुछ गर्नेलाई समस्या दर्शाउदै पाँच जनाको समूह रातसाँझ उदयपुर र खोटाङको सिमानामा पर्ने सुकोसीस्थित बंशिलाघाट पुगे । बंशिलाघाट पुग्दा रातको आठ बजिसकेको थियो ।  

तर, जथाभावी जिल्ला प्रवेश गर्ने स्थानीयबाट कोरोना भाइरस (कोभिड–१९) भित्रिने त्रासमा बंशिलाघाट पुलको खोटाङतर्फ तारबार लगाइएको थियो । काँडे तार पन्छाउन सक्ने अवस्था थिएन । साथमा भएको एनसेल नम्बरबाट आफन्तलाई फोन गर्न खोज्दा फोनमा नेटवर्क थिएन । उनीहरुले पुलबाट फर्केर उदयपुरतर्फकै बस्तीमा बास बस्ने र बिहान नाका पार गर्ने योजना बनाए । तर, कोरोना भाइरसको त्रासका कारण उनीहरुले कहीँ पनि बास पाएनन् ।  

उनीहरुको साथमा टर्च पनि थिएन । एक घरमा अगुल्टो मागे । अगुल्टो समेत टाढाबाट डराउँदै दिएको मृतक रत्नकुमारीका कान्छो ज्वाई रासधनले बताए । बास नपाएपछि पाँच जनाको समह जंगलमै रात काट्न बाध्य बने । राती ११ बजेसम्म हिँडेपछि जंगलमा आगो बालेर रात काट्नु परेको उनले बताए । ‘पुलमा पन्छाउनै नसकिने काँडे तारको बार लगाइएको रहेछ, फर्केर बास बस्ने सल्लाह गर्यौं, तर कहीँ पनि बास पाइएन,’ रासधनले भने, ‘अगुल्टो माग्दा समेत घरधनीले डराउँदै परबाट दियो । बास नपाएपछि जंगलमै बास भयो ।’  

रत्नकुमारीको दुई छोरीको उदयपुर बसाहामा बिवाह भइसकेको थियो । श्रीमान पूर्णबहादुरको दशकअघि मृत्यु भएपछि एक्लै बस्दै आएकी उनी जेठ ९ गते बिहान घरैमा मृत फेला परेकी थिईन् । तर, मर्दा र पर्दा नजिकको भनिने छोरी ज्वाईले समेत लकडाउनका कारण उनको शव भेट्न पाएनन् । 

गाउँमा रत्नकुमारीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा लैजाने, त्यो बेलासम्म बसाहाबाट छोरी ज्वाई पनि आइपुग्ने र दाहसंस्कार गर्ने तयारी गरिएको थियो तर, पुलमा लगाइएको तारजालीले बाटो छेकिँदा उनीहरु चिप्रिङ पुग्न सकेनन् । 

हिँडेको दिन बंशिलाघाट पार गर्न नपाएपछि र भोलीपल्ट शव दाहसंस्कार गर्न पुग्ने अवस्था नभएपछि रत्नकुमारीका छोरी ज्वाई बसाहा (घर) फर्के । दाहसंस्कारमा आउन नपाए पनि जेठ १८ गते हुने मृत्युकार्यमा चिप्रिङ पुग्ने तयारी गरिएको रासधनले बताए । ‘दाहसंस्कारमा बाटैबाट फर्कनु पर्‍यो । अन्तिम मृत्यु संस्कारमा जाने तयारी गरेका छौँ,’ उनले भने, ‘अहिले वडाबाट पास बनाउने काम गरिरहेका छौँ ।’  

रत्कुमारीको जेठ १० गते पोष्टमार्टम गरेर सोही दिन गाउँमै दाहसंस्कार गरिएको थियो । उनको हत्या गरेको आशंकामा सोही ठाउँका ३१ वर्षीय मुगाधन भनिने मुकेश राईलाई प्रहरीले पक्राउ गरेको छ । एकल महिलाको राती १० बजे घाँटी थिचेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायण चिमोरियाले बताए । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App