७ वैशाख २०८१ शुक्रबार
समाज

निकुञ्जभित्र निर्धक्क वनको राजा

बाघको प्राकृतिक विशेषता लजालुपन हो । खतरा अनुभव गरेपछि बाघ जति आक्रामक हुन्छ, त्यति नै मानिस देखेर लजाउने पनि गर्छ । तर शान्त वातावरण रुचाउने बाघ हेर्न पाउनु पर्यटकको प्रमुख रोजाइको क्रियाकलाप हो ।

यतिबेला बर्दिया निकुञ्जभित्रको नदीमा बाघ नुहाएको हेर्न तीनकुने पल्लो छेउमा पर्यटकको लर्को हुन्थ्यो । तर चैत ११ देखि त्यस्ता रउसे पर्यटक लकडाउनमा छन् भने वन्यजन्तु (बाघ, हात्ती र गैडा) निकुञ्जभित्र निर्धक्क आफ्नो दिनचर्यामा रमाइरहेका छन् ।

यो सिजनमा नदी तटीय क्षेत्रमा बाघ देखिन्छ भनेर पर्यटकको तँछाड–मछाड हुने पर्यटन व्यवसायी शंकर भट्टराईले सुनाए । ‘अचेल निकुञ्ज चकमन्न छ । पर्यटकलाई लकडाउन लागेकाले वन्यजन्तु निर्धक्क घुम्न निस्कन्छन्,’ उनले भने, ‘लकडाउन सुरु भएयता निकुञ्जभित्र कोलाहल छैन । जंगलमा वन्यजन्तुको राज छ ।’

बर्दिया निकुञ्जभित्रको तीनकुने क्षेत्र सधैंजसो पाटेबाघ देखिने ठाउँ हो । यतिबेला निकुञ्ज भ्रमण गर्न आउने मुख्य सिजन भएकाले निकुञ्जभित्र भिडभाड बढ्थ्यो । तर जंगलको राजा मानिने पाटेबाघ बर्दियाका जंगलमा निर्धक्क घुमेकोघुम्यै छन्, तिनलाई हेर्न आउने पर्यटक भने छैनन् ।  

लकडाउनको मौकामा आफ्नो टेरोटोरीमा पाटेबाघ निर्धक्क घुमिरहेको (मुभमेन्ट गरिरहेको) बर्दिया राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । ‘लकडाउनअघि निकुञ्जभित्र हुने कोलाहाल र त्रासबीच वन्यजन्तु हुन्थे,’ उनले भने, ‘अहिले अवस्था फेरिएको छ । बाघ निर्धक्क घुमेर सिकार खेल्छन्, गैंडा र हात्ती चरिचरणमा बाधा छैन । चराचुरुंगीको चिरबिरले निकुञ्ज गुञ्जिएको छ ।’

निकुञ्जमा पछिल्लो गणनामा ८७ बाघ सार्वजनिक भएको छ । वयस्क र बच्चा गरी बाघको संख्या एक सय रहेको निकुञ्ज कर्मचारीको भनाइ छ । संरक्षण अधिकृत बरालका अनुसार जंगलभित्र कोलाहल नहुँदा प्रकृतिसित वन्यजन्तुको साँच्चिकै अन्तरघुलन भइरहेको छ । ‘जंगलमा कोलाहल नहुँदा वन्यजन्तु सुरक्षित अनुभव गरिरहेका छन्,’ अधिकृत बरालले भने, ‘कोलाहलमा बाघमात्र होइन कुनै पनि जनावर रमाउँदैनन् । त्यसैले लकडाउनको अवस्थामा वन्यजन्तु स्वतन्त्र विचरण गरिरहेका छन् ।’

तथापि लकडाउनका बेला हुनसक्ने चोरी सिकारीको गतिविधिलाई ध्यानमा राखी नेपाली सेना र निकुञ्जका कर्मचारी थप संवेदनशील भएर खटिएको उनले बताए । तस्करी गर्न सजिलो हुने सोचेर लकडाउन सुरु भएलगत्तै चोरी सिकार सक्रिय भएको पाइएको उनको भनाइ छ । दुई महिना लामो लकडाउनका बेला वन्यजन्तुप्रतिको निगरानी थप बढाइएको उननको भनाइ छ । निकुञ्ज प्रशासनका अनुसार लकडाउनको मौका छोपेर चोरी सिकार गर्ने पाँच सय जनाभन्दा बढीलाई कारबाही गरेको छ । सुरक्षाकर्मीले केही बन्दुक र ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

‘गोप्य सूचनाको आधारमा समातेर काठ तस्करीमा संलग्नलाई निकुञ्जले कारबाही प्रक्रिया अघि बढाएको छ,’ अधिकृत बरालले भने, ‘लकडाउन त झन् जंगल छिर्ने अवसरजस्तो बनेको पाइयो, त्यही भएर कडाइ गरिएको छ ।’  

बर्दिया निकुञ्जसँगै जोडिएको बाँके निकुञ्ज विस्तार गरेपछि पाटेबाघको संख्या बढेको छ । बर्सेनि निकुञ्जमा चोरी सिकार नियन्त्रणमा स्थानीय स्तरमा गठित चोरी सिकार नियन्त्रण युवा दस्ता टोलीले चोरी सिकार रोक्न निकुञ्ज प्रशासनलाई सघाइरहेको छ । पर्यटकको भिडभाड नभएको समयमा वन्यजन्तुका आहार र बासस्थान व्यवस्थापन गर्ने काम पनि निकुञ्जले अघि बढाएको छ ।

‘मैले बाघ लजालु हुन्छ, आक्रामक हुँदैन भन्दा झन्डै कुटाइ खाने अवस्था आएको थियो,’ मानव र वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा धेरै समय खर्चिएका पूर्वसंरक्षण अधिकृत रमेश थापाले विगत सम्झिँदै भने, ‘तर यतिबेला वन्यजन्तुकै कारण समृद्धितिर लम्किदै गरेकाले पहिलाको तुलनामा मानव र वन्यजन्तुको द्वन्द्वमा कमी आएको छ ।’

उनका अनुसार वन–जंगलमा मानवीय गतिविधि रोकिँदा वन्यजन्तुको प्रजनन क्रियाकलाप र पारिस्थितिक प्रणालीमा सन्तुलन हुन्छ र रोग सर्ने समस्या पनि हुँदैन । ‘निकुञ्जभित्र हुलका हुल हात्ती सफारी र अन्य सफारी हुँदा बासस्थानमा कोलाहल हुन्थ्यो र वन्यजन्तु बाहिर निस्किन्थे,’ उनले भने, ‘त्यही कारण मानवसँग द्वन्द्व बढेर वन्यजन्तु थप जोखिममा पर्थे । तर दुई महिनायता वन्यजन्तुलाई पनि र मान्छेलाई पनि आआफ्नो ठाउँमा आराम भएको छ ।’

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App