coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हावाहुरीले लियो तीन जनाको ज्यान, आइसोलेसनमा थप एक जनाको मृत्यु

हावाहुरीले रूख ढालेपछि अवरुद्ध आँपटारी–देवघाट सडक । अवरुद्ध सडक खुलिसकेको छ । तस्बिर : सूर्यप्रकाश/नागरिक

आइतबार साँझ आएको वर्षासहितको हावाहुरीले चितवन र नवलपरासी (सुस्तापूर्व)मा तीन जनाको ज्यान लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीमा एक जना र नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ मा दुई जनाको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार आइतबार साँझ हावाहुरी चलिरहेको समयमा दुर्घटना भएको थियो । कुखुरालाई दाना दिन खोरमा गएका बेला हावाहुरीले खोर भत्काउँदा खोरले च्यापिएर ३५ वर्षीय काशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । खरले छाएको कुखुराको खोर पुरै भत्किएर च्यापिएको अवस्थामा प्रहरी र स्थानीयवासीले मृतक दुवैको शव फेला पारेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार साँझ आएको हावाहुरीले चितवनमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । आइतबार साँझ आँपटारी–देवघाट सडकमा रोकिएको ना३त ३४२३ नम्बरको ट्र्याक्टरमाथि सालको रूख ढल्दा ओत लागेर बसेका पाँच जनामध्ये एक जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।  

ट्र्याक्टरमुनि ओत लागेर बसेको बेला ट्र्याक्टरमाथि नै अकस्मात सालको रूख लडेपछि भरतपुर महानगरपालिका–१२ निवासी पाँच जना घाइतेलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएको र घाइतेमध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा २९ वर्षीय रामबहादुर विश्वकर्मा रहेका छन् । घाइतेहरूको उपचार भइरहेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । अवरुद्ध सडक आइतबार राति नै खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आइसोलेसनमा एक जनाको मृत्यु

भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक जनाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आइतबार मध्यरातमा भरतपुर अस्पताल आएका नवलपरासीको रामग्राम नगरपालिका–५ निवासी ४८ वर्षीय एक पुरुषको सोमबार बिहान तीन बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनियाबाट ग्रसित उनको मृत्यु कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भएको आशंकामा मृत्युपछि स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालमा यसअघि पनि सघन उपचार कक्ष (आइसियू)मा एक जना ६८ वर्षीय वृद्धको गत मंगलबार बिहान मृत्यु भएको थियो । चार महिनादेखि क्षयरोगको औषधि सेवन गरिरहेका ती वृद्ध रौतहटबाट उपचारका लागि भरतपुर अस्पताल आएका थिए । मृतक वृद्धमा पनि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App