१५ चैत्र २०८० बिहीबार
समाज

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी प्रदान

तनहुँको बन्दीपुर गाउँपालिका –५को झारगाउँमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक ढलान शुरुवात गरिएको छ। सो कार्यक्रमको तीन लाख २३ हजार रुपैयाँ र गाउँपालिकाको छ लाख रुपैयाँ गरी कूल नौ लाख २३ हजार रुपैयाँको लागतमा ९० मिटर सडक ढलान गरिने गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङले जानकारी दिए। सो कामका लागि करिब ३० दिन लाग्ने अनुमान गरिएको छ। उक्त कार्यका लागि १६ जनाले रोजगारी पाएका छन्।  

झारगाउँ जाने बाटो अप्ठ्यारो भएकाले ढलान गरेर सजिलो बनाउन लागिएको हो, उनले भने, सो कामका लागि गाउँपालिकाले निर्माण सामग्री लगायतका लागि रकम लगानी गर्ने र कामदारलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पारिश्रमिक उपलब्ध गराइनेछ। उक्त कामको टोल विकास संस्थाले प्रत्यक्ष निगरानी गर्नेछन्। 

कार्यक्रमका लागि गाउँपालिकाका १४५ रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका छन्। सो कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा गाउँपालिकालाई १४ लाख ६० हजार रुपैयाँ सशर्त अनुदान दिएको छ। सोही कार्यक्रममार्फत गाउँपालिकामा विभिन्न आयोजना सञ्चालन गरिनेछ।  

सोही कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिका–६ मा पैदलमार्ग र सिँढी बाटो निर्माण गरिने र त्यसको स्टिमेट हुन बाँकी रहेको उनले जानकारी दिए। रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका बेरोजगारलाई नै आगामी दिनमा विभिन्न आयोजना निर्माणमा खटाउँछौँ, उनले भने। 

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत नै गाउँपालिकामा साइकल लेन निर्माण भइरहेको छ। बन्दीपुर गाउँपालिका–४ र ५ मा अवस्थित रानीवन क्षेत्रमा साइकल लेन निर्माणका लागि २७ जनाले रोजगारी पाएका छन्। साइकल लेन निर्माणका लागि १७ पुरुष र १० महिला खटाइएको छ।

 गाउँपालिकाका रोजगार संयोजक शरणसिं गुरुङका अनुसार साइकल लेन निर्माणका लागि बन्दीपुर गाउँपालिका–२, ३ र ४ का कामदार खटाइएको छ। रामकोटबाट मुकुन्देश्वरीतर्फ साइकल लेन निर्माणका लागि १२ र वडा नं ४ तर्फबाट साइकल लेन निर्माणका लागि १५ जना खटिएका छन्। प्रधानमन्त्री रोजगारमार्फत खटिएकालाई जिल्ला दररेटअनुसार दैनिक ७०० रुपैयाँका दरले पारिश्रमिक प्रदान गरिनेछ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App