१६ चैत्र २०८० शुक्रबार
समाज

जब 'सिएनएन हिरो' म्यागी धर्नामा बसिन्..

भारतबाट कष्टपूर्ण यात्रा गरेर वीरेन्द्रनगरको प्रवेशद्धार सुब्बाकुनामा आएका महिला तथा बालबालिकाको उद्दार गर्न माग गर्दै उनीहरुसँगै धर्नामा बसेकी सिएनएन हिरो म्यागी डोयन। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

चार र दुई वर्षका काखे बालक। पेटमा सात महिनाको गर्भ। भारतको गुजरातबाट यात्रा सुरु भएको १० दिनमा पञ्चपुरी नगरपालिका–६ बावियाचौरकी लक्ष्मी विक दुई सन्तानसहित प्रदेश राजधानी वीरेन्द्रनगरको प्रवेशद्धार सुब्बाकुना पुगिन्। यि १० दिन मध्येका पाँच दिन उनका लागि ज्यादै कष्टकट थिए। चर्को गर्मीमा भारतको खाटिमादेखि कन्चनपुरको दोधाराचाँदनीसम्म १२ घण्टा पैदल यात्रा गर्नुप-यो। भारतमा भन्दा आफ्नो जन्मभूमिमा उनले थप कष्ट भोगिन्।  

गर्भवती लक्ष्मीलाई पोषण खानाको आवश्यकता छ। तर, उनले पछिल्ला पाँच दिन चाउचाउ र पानीले टारिन्। उनीसँगै आएका अरु आठ जनाको कथा पनि उस्तै छ। सुब्बाकुना पुगेपछि उनले सिएनएन हिरो अमेरिकन नागरिक म्यागी डोइनको साथ पाइन्। ‘पाँच दिनपछि बल्ल पेटभरी भात खान पाएँ, दुई सन्तानलाई पनि खुवाएँ,’ सोमबार मध्यराति नागरिककर्मीसँग उनले भनिन्, ‘अव सुरक्षित घर पुग्न पाए हुन्थ्यो।’

छ महिनाकी गर्भवती र साना बालबालिकाको जन्मभूमि फर्कदाँको यात्रा संघर्ष सुनेपछि सिएनएन हिरो म्यागी घर फर्कन सकिनन्। उद्दारका लागि प्रदेश र स्थानीयका साथै प्रशासनसँग आग्रह गरिन्। म्यागीको कुरा कसैले सुनेनन्। र, सुब्बाकुनामै धर्नामा बसिन्। गर्भवती महिला र दुई बालबालिकालाई उनले सुरुमा उद्दार गर्न खोजिन्। प्रशासनले अनुमति दिएन्। ‘तीनै तहका सरकारको ध्यानाकर्षण गराउन उहाँ (म्यागी) महिला र बालबालिकासँगै सडकमै धर्नामा बस्नुभयो,’ म्यागीसँगै रहेका सक्षम शर्माले भने, ‘सम्वन्धीत पालिकाले विहान छ बजेतिर गाडीमा चढाएर लगेपछि उहाँ फर्कनु भयो।’

मध्यरातमा सडक किनारमा दुई नावालक छोरासँग बास बसेकी सुर्खेतको पञ्चपुरी नगरपालिका–६ बावियाचौरकी लक्ष्मी विक।

सिएनएन हिरो म्यागीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डेलगायतसँग समस्यामा परेका महिला तथा बालबालिकाको उद्दार गर्न पटक–पटक फोनमार्फत आग्रह गरेकी थिइन्। ‘सडक किनारको जंगलमा सुत्केरी महिला र बालबालिकाले रात बिताउँदाको पीडा सरकारले बुझेन्,’ म्यागीले भनिन्, ‘उहाँहरुको उद्दारको माग गर्दै धर्नामा बस्नुप¥यो।’ भारतबाट आएका नागरिकहरुलाई पानी र खाजा लगेर बेलुका पाँच बजे सुब्बाकुना पुगेकी उनी महिला तथा बालबालिकाको अवस्था देखेपछि १३ घण्टासम्म धर्नामा बसिन्।  

म्यागीले कर्णाली प्रदेश सरकारले प्रदेशभित्र प्रवेश गरिसकेका आफ्ना नागरिकहरुको पनि व्यवस्थापन गर्न नसेको आरोप लगाइन्। ‘प्रदेश र स्थानीय सरकारले कम्तिमा भारतबाट कष्टपूर्ण यात्रा गरेर आएका आफ्ना नागरिकहरुलाई खाना–खाजा र उपयुक्त ठाउँमा बासको व्यवस्था गरिदिएको भए हुन्थ्यो,’ म्यागीले भनिन्, ‘सरकारले उनीहरुको पीडा नबुझेकाले ध्यान केन्द्रीत गराउन धर्नामा बस्नुप¥यो।’  

म्यागीले चार–पाँच दिनसम्म खाना–पानी नखाएर यात्रा गरेर आएका महिला, बालबालिका र बृद्धबृद्धाका बारेमा राज्य अझ गम्भीर हुनुपर्ने बताइन्। ‘म पनि महिला हुँ, मेरो पनि बच्चा छ,’ उनले भनिन्, ‘चार–पाँच दिनदेखि भोकभोकै, सडक र जंगलमा बास बस्दै कष्टपूर्ण यात्रा गरेर आउँदाको पीडा राज्यले अनुभव नगर्दा अझ धेरै दुःख लाग्यो।’

म्यागीले आफूले सहयोग गर्छु भन्दा पनि सरकार र स्थानीय प्रशासनको साथ नपाएको बताइन्। ‘हामीले भारतबाट आएका नागरिकहरुलाई खाना–खाजा लगेर दिन जाँदा पनि सरकार र प्रशासनको साथ पाएनौं,’ म्यागीले भनिन्, ‘आफ्ना नागरिकहरुलाई पानीको पनि व्यवस्था गर्न नसक्ने सरकारले कोरोना संक्रमण फैलदैं गए कसरी व्यवस्थापन गर्न सक्ला।’ उनले सरकारले अनुमति दिए भारतबाट आउने सबै नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्ने व्यवस्था मिलाउन आफु तयार रहेको बताइन्।

प्रकाशित: १३ जेष्ठ २०७७ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App