coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिरहामा पाँच जना संक्रमित थपिए

प्रदेश २ मा संक्रमितको संख्या २४० पुग्यो

सिरहामा सोमबार राती पाँच जनामा कोरोना संक्रमण(कोभिड–१९) पुष्टि भएको छ। सिरहाको भगवानपुर गाउँपालिकाका चार जना र नवराजपुर गाउँपलिकाका एक जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

उनीहरु सबै भारतबाट आएर गाउँपालिका अन्तर्गतको क्वारेन्टिनमा बस्दै आएका थिए। उनीहरुको जेठ ५ गत्ते स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको स्वास्थ्य प्रमुख यादवले बताए।

भगवानपुर गाउँपलिकाका अध्यक्ष बेचन यादवका अनुसार यस गाउँपालिकाका चार जना संक्रमित मध्ये तीन जना बालासुन्दरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा र एक जना हनुमान प्रसाद सारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए। जेठ १ गत्ते भारतको गुडगाउँबाट आएका उनीहरु सीधैं क्वारेन्टिनमा पुगेका थिए। उनीहरुको जेठ ५ गत्ते स्वाब संकलन भएको यादवले बताए। संक्रमण पुष्टि भएका चारै जनालाई मंगलबार बिहान १ बजे एम्बुलेन्समा राखेर धनगढीमाई नगरपालिका स्थित महेन्द्र गेनाई अस्पताल(अस्थायी कोभिड अस्पताल) मा पठाइएको यादवले भने।  

यत्ता, नवराजपुर गाउँपालिकामा संक्रमण पुष्टि भएर पठाइएको नाम मिलेपनि थर नमिल्दा सकस परेको छ। गाउँपालिका अध्यक्ष विश्वमोहन यादवका अनुसार हामीलाई जिल्लाबाट पठाएको नाम क्वारेन्टिनमा भएका व्यतिmसँग मेल खादैन। अहिले पुनः नाम यकीन गर्दैछौं।

प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईका अनुसार नाम मिलिसक्या छ। थरमा गरबर भएको हुनुपर्छ। हामीले फोटो जुधाएर यकीन गरी पठाउन भनिसक्या छौं, उनले भने।  

सिरहामा यससँगै कोरोना संक्रमितको संख्या ६ पुगेको छ। एक जना सखुवानन्कारकट्टी १ मौवाहीका युवकमा संक्रमण पुष्टि भएको थियो। उनी महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा उपचारारत्त छन।

यसैगरी रौतहटका एक र धनुषाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २४० पुगेको छ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App