coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरोना नेगेटिभ देखिए पनि आमाछोरा कोठामा छिर्न पाएनन्

कोभिड–१९ रिपोर्ट नेगेटिभ हुँदा पनि सर्लाहीका आमाछोराले ललितपुरको हरिसिद्घीस्थित डेरामा प्रवेश पाएका छैनन्। काठमाडौंको टेकु अस्पतालबाट दुईपटकको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि हरिसिद्घीस्थित कोठामा जाँदा घरबेटीले प्रवेश नदिएको उनले गुनासो गरे। ‘हरिसिद्घीमा कोठा छ भनेपछि अस्पतालको एम्बुलेन्सले म र आमालाई यहीँ ल्याएर छाडिदियो, तर बिहानदेखि कोठामा प्रवेश गर्न पाएका छैनौं,’ नागरिकसँग उनले गुनासो गरे, ‘अब अन्त बस्ने ठाउँ पनि छैन, यहाँ पनि बस्न नदिए रात कसरी काट्ने भन्ने चिन्ता भयो।‘

अहिले पनि वडाध्यक्ष, घरबेटीलगायत टोलका मान्छेहरू हरिसिद्घीस्थित प्रहरी कार्यालयमा जम्मा भएर छलफल गरिरहेको उनले बताए। ‘२ गते जाँदा परीक्षण रिपोर्ट नेगेटिभ लिएर आएपछि मात्र कोठामा प्रवेश गर्नुस् भनियो, अहिले दुईपटकको परीक्षण नेगेटिभ आएपछि अस्पतालबाट आउँदा बिहानदेखि आनकानी भईरहेको छ,’ उनले गुनासो गरे, ‘सबै गाउँलेहरुलाई सोधेर मात्र छिर्न दिने भनेर रोकिएको छ।’

३–४ वर्षदेखि सोही कोठामा आफू र आमा बस्दैआएको र लकडाउनभन्दा १५ दिनअघि आमालाई कोठामै छाडेर आफू मात्र सर्लाही बाग्मती नगरपालिका–९ स्थित घर गएको उनले बताए। ‘जेठ २ गते काकीलाई एक्कासी छाती पोलेपछि एम्बुलेन्समा राखेर उपचार गराउन काठमाडांै आएँ र अस्पतालमा भर्ना गरेपछि सँगै आएको भाइलाई जिम्मा छाडेर आमालाई भेट्न कोठा गएको थिएँ,’ सोमबार दिउँसो उनले भने, ‘कोठा जाँदा घरबेटीले परीक्षण गराएर मात्र आउन भनेपछि टेकु जाँदा पहिलो रिपोर्ट पोजेटिभ आयो अनि अस्पतालमै बसेर थप दुईपटकको रिपोर्ट नेगेटिभ आएपछि आज आमा र म पुनः कोठा जाँदा प्रवेश गर्न पाइएको छैन।’ आफुलाई पोजेटिभ देखिएपछि आमालाई पनि टेकु बोलाएर  परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आइसकेको उनले बताए।

‘गाउँकै विद्यालयमा पढाउनका लागि नाम निस्किएकाले, अब गाउँमै बस्ने निश्चित भईसकेको छ,’ उनले भने, ‘आजको रात कोठामा बस्ने र भोलि सामान प्याकिङ गरेर गाउँ फर्कने विचार थियो, तर अहिलेसम्म कोठामै पस्न पाइएन। ‘३४ वर्षीय उनले ७–८ वर्षदेखि आफू र आमा सोही क्षेत्रमै बस्दै आए पनि अहिले अपमानजनक व्यवहार सहनु परेको गुनासो गरे।

प्रकाशित: १३ जेष्ठ २०७७ ०२:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App