६ चैत्र २०८० मंगलबार
समाज

खुसी बनाउने सपनासँगै झाँगिएको नवराज र सुष्माको प्रेम सम्बन्ध

नवराज विक। तस्बिर:नागरिक

गत वर्ष रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रनिङ शिल्ड थियो। जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए। त्यतिबेला चौरजहारी नगरपालिका–८ की सुष्मा मल्लसँग प्रेम सम्बन्ध सुरु भयो। प्रेम सम्बन्धमा सुरु भएपछि उनीहरू बीच विभिन्न समस्या आउन सुरु भए। कारण थियो जातीय भिन्नता।

प्रेम सम्बन्ध सुरु भएको वर्ष दिनपछि दुवैले विवाह गर्ने सहमति भयो।

केटा–केटीबीच बिहे गर्ने सहमति भए पनि त्यो सहज थिएन। दुवैको सहमतिपछि नवराज गत चैतमा सुष्मालाई आफूसँग बिहे गरिदिन आग्रह गर्दै केटी घर पुगेका थिए। केटीका आफन्तले जातकै कारणले नवराजलाई छोरी नदिने बताए। नवराज र सुष्मको बिहे गर्ने निर्णय फलामको चिउरा चपाउनु जस्तै जब्बर र कठिन हुँदै गयो। तर दुवैको साहस र आँट कत्ति पनि कम भएन।  

केटा–केटीको सहमतिमा अन्ततः विवाहका लागि शनिबार राति नवराज आफन्तलाई साथमा लिएर सुष्माको घर पुगे। राति करिब सवा १० बजे सुष्मालाई भगाउन लाग्दा घरपरिवारले गाउँले गुहारे। चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले नवराज र उनका साथीलाई ढुंगामुडाले लखेटे। प्रेमी प्रेमिकाको सम्बन्धलाई पति–पत्नीको नातामा बदल्ने नवराजको सोचाइ सदाका लागि पूर्णविराम लाग्यो। गाउँलेको लखेटाइबाट उनी जाजरकोट र रुकुमको सिमानामा रहेको भेरी नदीमा बगेर मृत्यु वरण गर्न बाध्य भए।  

उनीसँगै गएका अर्का चौरजहारी नगरपालिकाका टीकाराम विकले पनि साथीका लागि बलिदान दिए। अन्य चार अहिले पनि बेपत्ता छन् भने १२ जना प्रहरी हिरासतमा छन्। करिब राति एक बजे भेरी नदीमा शव भेटाएको भिडियो नागरिकलाई प्राप्त भएको छ। बग्दै गरेको शव स्थानीय एक युवाले सामाजिक सञ्जालमार्फत लाइभसमेत गरेका छन्।  

नवराज र सुष्मबीच प्रेम सुरु भएको हप्ता दिनपछि केटी (सुष्मा) आफ्नो घर आएको नवराजका बुवा मोहनले बताए। त्यहाँ सुष्मालाई जात मिल्दैन तिमीहरू अहिले नै यो सम्बन्धलाई छोड भन्दै सम्झाएका उनी बताउँछन्।

‘सम्झाउँदा नमानेर फेरि केटीलाई आफ्नो भाइलाई मेरो घरमा पठाइन्,’ उनले भने, ‘एक हप्तासम्म बसेर गए।’ गत पुसमा स्थानीय थाप्लेमा लाग्ने मेला पनि नवराज र सुष्मा भेटिएको उनको भनाइ छ। ‘शनिबार म घरमा थिइनँ,’ उनले भने, ‘आमा (उर्मिला) लाई बुहारी ल्याउँछु भनेर निस्केको रहेछ। बुहारी ल्याउला भनेर पर्खेका थियौं तर जात नमिलेकै कारण छोराकोे शव आयो।’  

केटी पक्षले खेदाएपछि भाग्ने क्रममा भेरी नदीमा बेपत्ता भएका ६ जना मध्ये तीन जनाको शव फेला परेको छ। अझै तीन जना बेपत्ता छन्। शव फेला परेकामा नवराजसँगै चौरजहारी पश्चिमका टीकाराम विक र भेरी नगरपालिकाका गणेश बिएम रहेका छन्। उनीकोहरूको शव नदीमा फेला परेको प्रहरीले जनाएको छ। गाउँले लखेटेपछि केटा पक्ष भाग्ने क्रममा भेरी नदीमा बगेको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज प्रहरी निरीक्षक धर्मसिंह विष्टले बताए।

प्रहरीमा नाम निकालेका थिए

मोहन र उर्मिलाका चार सन्तानमध्ये नवराज एक्ला छोरा हुन्। उनीका दुई दिदी र एक बहिनी छन्। १२ कक्षासम्म पढेका नवराजले नेपालगन्जबाट नेपाल प्रहरी जवान पदका लागि लिइएको लिखित परीक्षामा नाम निकालेका थिए। लकडाउन भएपछि मौखिम परीक्षा रोकिएको थियो। प्रहरी बन्ने सपना बोकेका नवराजको त्यो सपना सधैंका लागि अन्त्य भएको छ।  

यो अनपेक्षित घटनामा यहाँका अधिकारकर्मी, प्रदेश तथा संघीय सांसद, स्थानीय जनप्रतिनिधिलगायत मौन छन्। उनीहरूले सोमबार साँझसम्म उक्त घटनाका विषयमा केही प्रतिक्रिया दिएका छैनन्। रुकुममा दुई प्रतिनिधिसभा सदस्य, एक राष्ट्रियसभा सदस्य, चार जना प्रदेशसभा सदस्य छन्। त्यसमध्ये एक जना कर्णाली प्रदेशका मन्त्रीसमेत छन्। प्रदेश सांसदमध्ये एक जना दलित समुदायका व्यक्ति पनि सांसद हुन्। तर उनीहरू कसैले पनि उक्त घटनाको विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन्। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने चौरजहारी घटना गम्भीर मानवीय अपराध भएकाले निस्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ। कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले विज्ञप्तिमार्फत जातीय छुवाछुत र व्यक्ति हत्या गर्ने काम आपराधिक भएकाले तत्काल दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेका छन्।

आफन्तले शव बुझेनन्

नवराज र टीकारामका आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने भन्दै शव बुझेका छैनन्। आफ्नो छोरालाई जातकै नाममा विवाह गर्न नदिएर हत्या गरेकाले दोषी पत्ता लाग्नुपर्ने उनीहरूको माग छ। ‘मेरो छोरो विक भएकै कारण प्रेम–सम्बन्ध रहेकी केटीसँग विवाह गर्न दिइएन,’ नवराजका बुबा मोहनले भने, ‘जातीय छुवाछुत तथा हत्या गर्ने व्यक्तिको पहिचान भएर कारबाही भएपछि मात्रै शव बुझौंला नत्र अहिले बुझ्दैनौं।’

दुवैको शव अहिले जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ। आफन्तहरू नभएका कारण पोस्टमार्टमसमेत गरिएको छैन।  

वडाध्यक्षसहित १२ जना प्रक्राउ

उक्त घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनुसन्धानका लागि चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित प्रेम विवाह गर्ने तयारीमा रहेकी सुष्मा, उनका बुबा वीरबहादुर, आमा प्रकाशीका साथै अन्य आठ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज धर्मसिंह विष्टले जानकारी दिए।  

बिहेका लागि केटी लिन आएका जाजरकोटका १२ जना युवाहरूलाई पनि आइतबार प्रहरीले नियन्त्रणमा लिएको थियो। सोमबार ती युवाहरूलाई भने जिल्ला प्रहरी कार्यालय जाजरकोट बुझाइएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए। अन्तरजातीय सम्बन्धकै कारण विवाद भएर युवाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानवाट बुझिएको प्रहरीको भनाइ छ।

प्रकाशित: १३ जेष्ठ २०७७ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App