१६ चैत्र २०८० शुक्रबार
समाज

धादिङ प्रवेश गर्ने सवारीलाई निर्मलीकरण अनिवार्य

सदरमुकाम धादिङबेसी बजार ।

धादिङ जिल्ला र सदरमुकाम धादिङबेशी भित्रिने सबै मालवाहक सवारी साधनले अनिवार्य निर्मलीकरण गर्नुपर्ने भएको छ । लकडाउनलाई प्रभावकारी बनाउन र जोखिमका बीच अत्यावश्यकिय सेवा दिनको लागि विपत ब्यवस्थापन केन्द्र धादिङले नयाँ नियम लागु गरेको हो । ठूला खाद्यान्न व्यवसायीहरुले संकटग्रस्त जिल्लाबाट नियमित सामान ढुवानी गर्दा जोखिम बढेको र साना व्यवसायीले मात्रै पसल बन्द गर्नुको अर्थ नरहेको भन्दै विरोध आउन थालेपछि जिल्ला भित्रिने सवारी साधनलाई निर्मलीकरण अनिवार्य गरिएको हो ।  

पृथ्वीराजमार्ग भएर धादिङ जिल्ला प्रवेश गर्ने सवारी साधनलाई बेनिघाट रोराङ गाउँपालिकाको मझिमटारमा र सदरमुकाम क्षेत्रमा भित्रिने सवारी साधनलाई ससाह प्रतिक्षालय (मैदी जाने बाटो छेउ) मा निर्मलीकरण गरि ६ घण्टा भन्दा बढी अनिवार्य होल्ड गर्नुपर्ने छ । निर्मलीकरण गरि होल्ड गरिएका गाडीबाट बिहान ५ देखि ८ र बेलुवका ५ देखि ८ बजेसम्म मात्रै अनलोड गर्ने र अनलोड गर्ने सम्पुर्ण कामदारहरुको कोरोना सुरक्षा ब्यवस्था व्यवसायी आँफैले मिलाउनु पर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।  

जोखिम क्षेत्रबाट भित्रिएका सवारी साधनलाई निर्मलीकरण पछि मात्रै जिल्ला भित्र आउन दिने प्रजिअ तामाङले बताए । ‘धादिङवेशी भित्रिने मुख्य नाका मलेखु फुर्केखोलामा अस्थायी चेकपोष्ट खडा गरेका छौँ’ प्रजिअ तामाङले भने, ‘त्यसलाई थप मजबुत बनाउन आवश्यकता अनुसार शसस्त्र प्रहरी खटाउने छौँ ।’ नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको व्यापार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म गर्न पाइने भएको छ । साथै साना बोलेरो गाडीहरुलाई सामान ढुवानीमा रोक लगाउने निर्णय भएको छ ।

मालसामान ढुवानी गर्नको लागि पनि विभिन्न पालिकाको लागि छुट्टाछुट्टै बार तोकिएको छ । रुवीभ्याली र खनियावास गाउँपालिका क्षेत्रमा मालसामान ढुवानी गर्न आइतवार, नेत्रावती र गंगाजुमना पालिकाको लागि सोमबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाको लागि मंगलवार, नीलकण्ठ नगरपालिका क्षेत्रको लागि बुधवार र विहीवार तथा त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा सामान ढुवानी गर्न शुक्रवार तोकिएको छ । उल्लेखित नियम बमोजिम अत्यावस्यकिय सामान ढुवानीको अनुगमन गर्न र अनावश्यक सवारी आवागमनमा रोक लगाउन शसस्त्र प्रहरीलाई जिम्मा दिइएको छ ।

 

 

प्रकाशित: १२ जेष्ठ २०७७ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App