७ वैशाख २०८१ शुक्रबार
समाज

बिहेको निहुँमा हत्या, यसरी सुरु भयो प्रेम सम्बन्ध

मृतक नवराज । तस्बिरः सामाजिक सञ्जालबाट ।

गत वर्ष रुकुम पश्चिमको चौरजहारीमा रनिङ सिल्ड थियो । जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका १९ वर्षीय नवराज विक पनि उक्त प्रतियोगितामा सहभागी थिए । त्यतिबेला रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीकी सुष्मा मल्लसँग प्रेम सम्बन्ध गासियो । प्रेम सम्बन्धमा बाँधिएका उनीहरू विवाह गर्ने निर्णयमा पुगे । उक्त निर्णय उनीहरूका लागि सहज थिएन । फलामको चिउरा चपाउनु जस्तै जब्बर र कठिन थियो । तर दुवैको सहास र आँट थपियो ।  

अन्ततः विवाहका लागि शनिबार राति नवराव साथीभाईलाई लिएर सुष्माको घर पुगे । राति करिब सवा १० बजे सुष्मालाई भगाउन लाग्दा घरपरिवारले गाउँले गुहारे । वडाध्यक्ष डम्बरबहादुर मल्लको नेतृत्वमा गाउँलेले नवराज र उनका साथीलाई ढुंगामुडाले लखेटे । प्रेमी प्रेमिकाको सम्बन्धलाई श्रीमान् श्रीमतीको नातामा बदल्ने नवराजको सोचाइ सदाका लागि पूर्णबिराम लाग्यो । गाउँलेको लखेटाइबाट उनी भेरी नदीमा बगेर ज्यान गुमाउन बाध्य भए । उनीसँगै गएका अर्का एकजना पनि साथीका लागि बलिदानी दिए । अरु पाँचजना अहिले पनि बेपत्ता छन् भने १२ जना हिरासतमा छन् ।

स्थानीयले करिब राति एक बजे भेरी नदीमा शव भेटाएको भिडियो नागरिकलाई प्राप्त भएको छ । बग्दै गरेको शव स्थानीय एक युवाले सामाजिक सञ्जालमार्फत् लाइभसमेत गरेका छन् । प्रेम सम्बन्धमा जोडिएको हप्ता दिनपछि केटी (सुष्मा) आफ्नो घर आएको नवराजका बुवा मुनलालले बताए । त्यहाँ उनले सुष्मालाई जात मिल्दैन, फेरि तिम्रो उमेर पनि सानो छ । बालविवाह लाग्छ भन्दै सम्झाएका थिए ।

‘यति सम्झाउँदा नमानेर फेरि केटीलाई आफ्नो भाईलाई मेरो घरमा पठाइन्,’ उनले भने, ‘एक हप्तासम्म बसेर गए ।’ पुसमा थाप्लेमा लाग्ने रमाइलो मेला पनि नवराज र सुष्मा भेटिएको उनको भनाइ छ । ‘शनिबार म घरमा थिएन,’ उनले भने, ‘आमा (उर्मिला) लाई बुहारी ल्याउँछु भनेर निस्केको रहेछ । तर फर्केर आएन ।’ यता इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह विष्टले भने गाउँले लखेटे पछि केटा पक्ष भागेको बताए । ‘केटी पक्षकाले सम्झाउँदा पनि नमानेर जबरजस्ती केटी लिन केटा आएका रहेछन्,’ उनले भने, ‘केटीकी आमा कराएपछि गाउँले जम्मा भए ।’

केटा पक्षका पाँचजना बेपत्ता भएको उनले बताए । उनका अनुसार चौरजहारी नगरपालिका–८, का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित केटीका बुवा, आमा र केटीलाई प्रहरीले पक्राउ गरेको छ । केटा पक्षका १२ जना पनि पक्राउ गरिएको उनले जनाए ।  

प्रहरीमा नाम निकालेका थिए

१२ कक्षासम्म पढेका नवराज नेपालगन्जबाट नेपाल प्रहरी जवान पदका लागि लिइएको लिखित परीक्षामा नाम निकालेका थिए । बन्दाबन्दी (लकडाउन) भएपछि मौखिम परीक्षा रोकिएको थियो । ‘छोरालाई धेरै पढाउन नसकेपछि जागिरमा लगाउने तयारी गरेको थिए,’ मुनलालले भने ।

एक्ला छोरा नवराज

मुनलालका चार सन्तानमध्ये नवराज एक्ला छोरा हुन् । उनीभन्दा अगाडि दुई दिदी र पछाडि एक बहिनी छन् । बहिनी र दिदीको विवा भइसकेको छ । उनी भने आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्न चाहान्थ्ये । संयोग पनि उस्तै थियो । उनले नेपाल प्रहरीको लिखित परीक्षमा नाम निकाले थिए । मौखिममा नाम निकाल्नेमा उनी ढुक्क थिए ।

जातीय छुवाछुतमुक्त जिल्ला

दुई वर्ष अघि रुकुम पश्चिमका सबै स्थानीय जातीय छुवाछुत तथा सामाजिक सद्भाव युक्त नगर घोषणा गरिएका थिए । २०६४ साल जेठ २१ गते नेपाललाई नै जातीय छुवाछुतमुक्त घोषणा गरिए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसक्दा यहाँका स्थानीय तहलाई जातीय छुवाछुत तथा सामाजिक सद्भाव युक्त नगर घोषणा गरिएको थियो ।

जातीय रङ दलेर भएको घटनाले जातीय छुवाछुतको नाङ्गो रूप देखाएको छ । जातीय विभेद् अन्त्य नभई जब्बरै रहेको उक्त घटनाले पुष्टि गरेको दलित अधिकारकर्मी तिलक परियारले जानकारी दिए । ‘यो घटनालाई राजनीतिकरण गर्न खोजिएको छ,’ उनले भने, ‘अपराधिक घटनालाई ढाकछोप होइन दण्डित गरिनु पर्छ ।’

जनयुद्धको उद्गम थलो

फागुन १ गते नेकपा (माओवादी) ले सशस्त्र क्रान्ति सुरु गर्‍यो । जातीय छुवाछुत र विभेदमा पिल्सिएका हजारौं उक्त क्रान्तिमा होमिए । गाउँ समाज रुपान्तरणमा परिवर्तन पनि आयो । तर त्यसको प्रत्याभूति दलित समुदायले गर्न पाएनन् । यसको उदाहरण रुकुम पश्चिमको घटनाले पुष्टि गर्छ । तत्कालीन नेकपा माओवादीले जनयुद्धको ठूलो उपलब्धि जातीय छुवाछुत र विभेद अन्त्यलाई लिन्छ । तर यो घटनाले जनयुद्धको उपलब्धिलाई नै चुनौती दिएको छ ।

अधिकारकर्मी, सांसद मौन

अमानवीय घटनामा यहाँका दलित अधिकारकर्मी, प्रदेश तथा संघीय सांसद र स्थानीय जनप्रतिनिधि मौन छन् । उनीहरूले घटनाका विषयमा केही प्रतिक्रिया दिएका छैनन् । रुकुममा एक प्रतिनिधिसभा सदस्य, एक राष्ट्रियसभा सदस्य, चारजना प्रदेशसभा सदस्य जसमा एक जना कर्णाली प्रदेशका मन्त्रीसमेत छन् । प्रदेश सांसदमध्ये एकजना दलितका सांसद हुन् । रातो कामी प्रत्येक्ष निर्वाचित भएका हुन भने प्रदेश सांसद गोपाल शर्मा सोही (चौरजहारी) नगरपालिकाका वासी हुन् ।  

प्रहरीको भूमिका शंकास्पद

यो घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएको छ । उनले केटी पक्षको वयानमा आधारमा सम्बन्धको बारेमा जानकारी गराउने र यथार्थ लुकाउने गरेको बताइएको छ । प्रहरीले नवराज र सुष्माबीच सम्बन्ध रही आए पनि सम्बन्धमा बारेमा जानकारी गराएन । प्रहरीले भगाएर जबरजस्ती विवाह गर्न लागेको खुलाउँदा घटना कमजोर हुन सक्ने पीति पक्षको भनाइ छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App