१६ चैत्र २०८० शुक्रबार
समाज

महोत्तरीमा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एकको मृत्यु

महोत्तरीमा लागुऔषध तस्करीविरुद्धको अपरेशनको क्रममा स्थानीय र प्रहरीबीच भएको झडपमा एक युवकको मृत्यु भएको छ । आइतबार राति रामगोपालपुर नगरपालिका–७ सुसौलस्थित झडपको क्रममा प्रहरीको गोली लागेर १६ वर्षीय स्थानीय राजन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

सिभिल प्रहरीको अप्रेशनको क्रममा लागुऔषधसहित तस्करलाई नियन्त्रणमा लिन खोज्दा गाउँका मानिसहरुले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड गोली प्रहार गरेको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले बताए । ‘तस्करहरुले डाँका आयो भनेर होहल्ला गरदिएपछि गाउँका मान्छेहरु आएर प्रहरीमाथि ढुंगामुढा गर्न थाले । त्यसै क्रममा ज्यान जोगाउन प्रहरीले गोली चलाउँदा ती युवक घाइते भए,’ उनले भने ।  

जलेश्वरस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा गएराति नै उनको मृत्यु भएको उनले बताए । उनका अनुसार भीडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान, जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव घाइते भएका छन् । जिल्ला अस्पतालमै उनीहरुको उपचार भइरहकेो उनले बताए ।  

प्रहरीले घटनास्थलबाटै लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र यादव र २७ वर्षीय रोहित यादवलाई पक्राउ गरेको छ । पक्राउ परेका सुरेन्द्र मृतक राजनका बुवा हुन् ।  

पक्राउ परेका अर्का रोहित सुरेन्द्रको सहयोगी रहेको प्रहरी उपरिक्षक अधिकारीको भनाइ छ । उनका अनुसार लकडाउनका बेला पनि ठूलो मात्रामा लागुऔषध कारोबार भैरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट आइतबार राति सादा पोशाकका प्रहरी खटाइएको थियो ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App