१६ चैत्र २०८० शुक्रबार
समाज

भारतबाट नेपाल भित्रिनेक्रम रोकिएन, संक्रमणको झनै जोखिम

भारतबाटै आएका युवाबाट पहिलो संक्रमण भेटिएको भुल्के मस्जिद । तस्बिर : महेश्वर/नागरिक

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये ९५ प्रतिशतभन्दा बढीमा भारतबाट आएकाहरुबाट सरेको पाइएको छ । पहिलो चरणमा भुल्केका ३२ सहित उदयपुरका ३३ संक्रमित  या पर्सा र बाँके वा कर्णाली र सुदुरपश्चिमका सबैमा भारतबाट आएकाबाटै भाईरस सरेको पुष्टि भएको छ ।

चैत ४ गते कतार एयरलाईन्समार्फत फ्रान्सबाट आएकी बाग्लुङकी १९ वर्षीया युवतिसहित आधादर्जनबाहेक अहिलेसम्म संक्रमित ६ सय ७५ मा भारतबाट नेपाल आउनेबाटै भाइरस सरेको तथ्य भेटिएको छ । अस्थायी रोगजारी (मजदुरी) गर्न ‘मुगलान’ गएकाहरु विश्वव्यापी लकडाउनपछि नेपाल फर्कदा भाईरस पनि सँगै लिएर नेपाल भित्रिएको तथ्य उजागर भईरहँदा अहिले पनि भारतबाट नेपाल भित्रिने क्रम रोकिएको छैन ।  

यसै सिलसिलामा भारतबाट उदयपुर भित्रिने क्रम पनि दिनहुँ चलिरहेको छ । स्थानीय जनप्रतिनिधिका अनुसार लामो समयसम्म पैदल हिडेर या लुकिछुपि सवारीसाधनमार्फत नेपाल भित्रिने क्रम रोकिएको छैन । दुईदिनअघि मात्र भारतबाट कटारी नगरपालिका भित्रिएका ९ जना पुरुषलाई कटारी २ बेलसोतस्थित प्रदेश क्वारेन्टिनमा राखिएको छ । थप ३ पुरुष सोमबार आउनेगरी सिराहा बोर्डर आईसकेको कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । भारतको विभिन्न ठाउँमा मजुदरी गर्ने उनीहरु नेपालगञ्ज नाका हुँदै पैदलै आउँदै गरेको खवरपछि नगरपालिकाको गाडी पठाएर उद्धार गरी ल्याइएका उनीहरु कटारी २ का हुन् ।

त्यस्तै भारतको मधुवनीबाट आईतबार ६ जना स्थानीयसहित ७ पुरुष चौदण्डीगढी नगरपालिका आईपुगेका छन् । विहार मधुवनी जिल्लामा नाता सम्बन्ध (छोरी–ज्वाई) भएकाले  उतै मजदुरी गर्न गाउँलेहरु लकडाउनले काम रोकिएपछि हिडेरै घर फर्केको चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईले बताए । उनका अनुसार सँगै मजदुरी गर्ने कर्णालीका एकजना पनि उनीहरुसँगै चौदण्डीगढी आएको र सबैलाई अहिले क्वारेन्टिनमा राखिसकिएको छ ।  

बेलका नगरपालिकामा पनि ३ जना शनिबार मात्र भारतबाट आईपुगेका छन् । मजदुरी गर्न गएका बेलका १ का २ र २ र ३ का १÷१ जना भारतबाट नेपाल प्रवेश गरी नगरपालिकाको सम्पर्कमा आएपछि सुरक्षितसाथ ल्याएर क्वारेन्टिनमा राखिएको नगरप्रमुख दुर्गाकुमार थापाले बताए । यता रौतामाई गाउँपालिका आउँदै गरेका २ जना लकडाउनले झापामा रोकिएको खवर आएको अध्यक्ष गजेन्द्र खड्काले बताए । 

उनीहरुले उद्धा गर्न आग्रह गरे अनुसार गाउँ ल्याएर क्वारेन्टिनमा राख्ने तयारी भईरहेको खड्काले बताए ।  नयाँ आगन्तुकलाई क्वारेन्टिनमै स्वाब संकलन गर्न स्थानीयतहहरुले माग गरेका छन् । तर, जिल्लामा परीक्षण किट (भिटिएम) अभाव भएकाले तत्काल स्वाब संकलन गर्न असंभव छ । जिल्ला स्वास्थ्य कार्यालयले मगाएको किट आएपछि उनीहरुको परीक्षण गर्न स्वाव संकलन टोली खटाउने जनाएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App