coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हत्या आरोपित सातजनाविरुद्ध उजुरी

सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्याको आरोपमा सातजना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।स्थानीयवासी ४० वर्षीया निलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता, ४० वर्षीय उमेश महतो, ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवविरुद्ध आज उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले उनीहरुविरुद्ध उजुरी दर्ता गराएको हो।  

बाटो मिचेर घर बनाएको विषयमा झडप हुँदा टाउको फुटेर गम्भीर घाइते भएका सुकदेवको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा शनिबार राति १२ः०० बजे मृत्यु भएको थियो। आवतजावतमा कठिनाइ हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सुखदेवको टाउकामा काठको चौखटले प्रहार गरेको पीडितका नाति अजयकुमार मण्डलले जानकारी दिए।  

सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै दुवै परिवारले एकअर्कालाई आरोप लगाउँदै विवाद गरेका थिए। निलमदेवी मेहताले नयाँ निर्माण गर्न लागेको घरले बाटो मिचेको भन्दै अवरोध गर्न गएका सुकदेवलाई मेहता परिवारले पहिले आफूले मिचेको घर हटाउन भनेपछि विवाद बढेको थियो। सुकदेवको परिवारका सदस्यले बाटो मिचेर घर बनाएको विषयमा वडा कार्यालय र प्रहरीसमक्ष एक साता अगाडि नै उजुरी गरेको बताइएको छ।  

डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले मौखिक जानकारी आएको बताउँदै दुवै पक्षबीच आपसमा सहमति नभएपछि आवश्यक कारवाही र शान्ति सुरक्षाका लागि उजुरी गर्न प्रहरीसमक्ष पठाएको बताए। प्रहरी बेस क्याम्प पत्थरगाढाले गाउँमै छलफल गरेर टुङ्गो लगाउन भनेको थियो।  

गाउँमा छलफलको वातावरण नबनेपछि मेहताले घर बनाउन थालेका थिए। विवादको विषय टुङ्गो लागेपछि मात्र घर बनाउनुपर्ने मण्डल परिवारको माग थियो भने आफ्ना मिस्त्री, मजदुरलाई काम गर्न नदिएर अनाहकमा खर्च बढिरहेकाले घर बनाउन पाउनुपर्ने मेहता परिवारको जोड थियो।  

मण्डलको मृत्युको खबर फैलिएपछि आरोपित फरार छन्। आरोपितको खोजीकार्य भइरहे पनि हालसम्म कोही पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले शव परीक्षण हुन नसक्ने जनाएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको शवको आज परीक्षण हुने परिवारका सदस्यले जानकारी दिएका छन्। कुटपिटबाट दुवै पक्षका दुई÷दुईजना सामान्य घाइते भएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७७ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App