७ वैशाख २०८१ शुक्रबार
समाज

बाँकेमा थपिए चार जना नयाँ संक्रमित

प्रत्येक वडामा आइसोलेसन बनाउँदै राप्तीसोनारी

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेरा माविमा तीन दिनअघि संकलन गरिएको स्वाब।तस्बिर:नागरिक

बाँकेमा चार जना नयाँ कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला गरिएको परीक्षणका क्रममा बाँके राप्तीसोनारी  र डुडुवा गाउँपालिकाका २÷२ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रतिष्ठानका कामु रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिएका छन्।  

योसँगै बाँकेमा संक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ। डुडुवा गाउँपालिका वडा नम्बर २ अमृतपुर्वामा १ सय २९ जनाको स्वाब परिक्षण गर्दा २३ र २४ वर्षका पुरुष र राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ स्थित नेरा मावि सर्रीमा परिक्षण गर्दा १६ र २३ वर्षका पुरुषमा संक्रमण देखिएको देवले जनाएका छन्। जिल्लाको डुडुवा गाउँपालिकामा पहिलो पटक संक्रमण पुष्टि भएको हो।

डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नो गाउँपालिकाभित्र पहिलो पटक दुई जना ब्यक्तिमा संक्रमण देखिएको बताए। ‘दुई जना ब्यक्तिमा रिपोर्ट पोजिटिभ आएको जानकारी आएको छ, यस विषयमा थप बुझ्ने काम हुदैछ,’ उनले भने। बाँकेमा रहेका कुल ८ वटा स्थानीय तह मध्ये कोहलपुर नगरपालिका तथा बैजनाथ र जानकी गाउँपालिकामा भने अहिलेसम्म कोरोना पोजिटिभ देखिएको छैन।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारुले भारतबाट फर्केर आएका दुई जना ब्यक्तिमा कोरोना पोजिटिभ देखिएको बताए। ‘कोरोना पोजिटिभ देखिएका दुबै जना भारतबाट फर्केर आएका हुन्,’ उनले भने ‘भारतबाट फर्किने क्रम रोकिएको छैन, अवस्था झन् विकराल बन्दै गएको छ।’ राप्ती सोनारी ७ सर्रीस्थित नेरा माविबाट तीन दिन अघि ४६ जनाको स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाइएको थियो। यसअघि आइतबार बेलुकी प्रतिष्ठानले सार्बजनिक गरेको अर्को रिपोर्टमा स्वाब संकलन गरिएको स्थान, संकलन गरिएको ठाउँको नाम गलत राखेपछि अन्यौलता सिर्जना भएको थियो।  

प्रत्येक वडामा आइसोलेसन बनाउँदै राप्तीसोनारी

राप्ती सोनारीमा कोरोना संक्रमित हुनेको संख्या ३ पुगेको छ। यसअघि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का १८ बर्षिय युवकमा कोरोना पोजिटिभ देखिएको थियो। कोरोना संक्रमित थपिदै गएपछि राप्ती सोनारीले स्थानीय स्तरमै आइसोलेसन बनाउने तयारी गरेको छ। गाउँपालिका अध्यक्ष लाहुराम थारुले संक्रमितको संख्या थपिदै गएपछि प्रत्येक वडामा आइसोलेसन स्थापना गर्न लागिएको बताए। ‘भारतबाट फर्केका ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेका छन्, संक्रमित हुनेको संख्या पनि थपिदै गएको छ, यस्तो अवस्थामा आइसोलेसन स्थापना गर्न लागिएको हो,’ उनले भने।  

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले संक्रमितको संख्या बढ्न सक्ने देखिएपछि ९ वटै वडामा कम्तिमा १० बेडको आइसोलेसन बनाउन वडा कार्यालयलाई भनिएको बताए। ‘वडामै आइसोलेसन बनाएर संक्रमितलाई त्यहीं राख्ने, अलि गम्भिर बिरामीलाई मात्र अस्पतालमा लैजाने योजना अनुसार आइसोलेसन बनाउन लागिएको हो,’ बस्नेतले भने। आइसोलेसन बनाउन कतिपय वडामा भवन अभाव देखिएको छ। 

प्रकाशित: १२ जेष्ठ २०७७ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App