८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकाका सयभन्दा बढी घर सिल

कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरूलाई सिल गर्ने क्रम बढेको छ । संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो । 

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ । संक्रमित भेटिएको र आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि केही घरमा सिल गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानका अनुसार संक्रमित व्यक्तिको सर्कलका आधारमा घरहरू सिल गरिएको हो । व्यक्ति बसेको घरलाई सिल गरिएपछि उक्त घरका सदस्यलाई क्वारेन्टिनमा राखिएको छ । 

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकमा एक जना संक्रमित देखिएपछि यी दुई ठाउँलाई सिल गरिएको छ । यसअघि आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि महालक्ष्मीका तीन घर सिल गरिएको थियो । पिसिआर पोजेटिभ देखाएपछि ती सिल गरिएका घर खोलिएको ललितपुर परिसरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार परीक्षणका आधारमा जोखिमपूर्ण ठाउँमा आवतजावत रोक्न र संक्रमित व्यक्तिसँग जोडिएकाको परीक्षणका लागि सिल गर्ने गरिन्छ । 

ललितपुरमा हालसम्म सरकारी कार्यालयलाई सिल गर्नुपर्ने अवस्था आएको छैन । ‘जोखिम अवस्थालाई हेरेर सिल गरिन्छ, अहिलेसम्म त्यस्तो गम्भीर अवस्था देखिएको छैन,’ उनले भने । 

काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ । उक्त घरहरूमा बस्ने २५ जनालाई क्वारेन्टिनमा राखिएको छ । त्यस्तै, कालीमाटी प्रहरी कार्यालयका तीनवटा कोठा र कालिमाटीकै तरकारी बजारका १४ वटा सटर पनि सिल गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसबाहेक अन्य कुन–कुन ठाउँमा सिल गरिएको छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले तथ्यांक राखेको छैन ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले यस्तो तथ्यांक प्रहरी कार्यालयहरूले राख्ने बताए । हामी कहाँ संक्रमितको रेकर्ड रहन्छ, कति ठाउँ सिल गरिए भन्नेबारेमा प्रहरीलाई नै जानकारी हुन्छ,’ उनले भने । 

तर काठमाडौं परिसरका एसएसपी श्यामलाल ज्ञवालीले यसको आधिकारी तथ्यांक स्वास्थ्य मन्त्रालयसँग हुने जानकारी दिए । यसबारेमा स्वास्थ्य मन्त्रालयले नै तथ्यांक राख्छ, ’ उनले भने, ‘हामी सिल गरिएका ठाउँलाई सुरक्षा र हेरविचार गर्ने कार्य गर्छौं ।’

प्रकाशित: १२ जेष्ठ २०७७ ००:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App