coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पशुपतिनगरबाट भित्रिए ७६ जना

इलामको पशुपतिनगरस्थित सीमा नाकाबाट आइतबार भित्रिएका युवाको र्यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गरिँदै । तस्बिर : नागरिक

पूर्वी सीमासँग जोडिएका भारतीय क्षेत्रमा काम गरेर बसेका ७६ युवा आइतबार स्वदेश फर्किएका छन् । दोलखाका ६७, तेह्रथुमका ७ तथा चितवन र काठमाडौंका १÷१ युवा पशुपतिनगर नाका हुँदै नेपाल प्रवेश गरेका हुन् ।

उनीहरूमध्ये ६७ जनाको पशुपतिनगरमै र्यापिड डाइनोस्टिक टेस्ट (आरडिटी) गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । रिपोर्ट पोजिटिभ आएका सबै युवा दोलखाका भएको र उनीहरूलाई क्वारेन्टाइनमा राखिएको सूर्याेदय नगरपालिकाका प्रवक्ता तथा वडा १० का अध्यक्ष पेमाउग्येन लामाले बताए । ‘पोजिटिभ रिपोर्ट आएकाहरूको सोमबार स्वाब नमुना लिएर पोलिमर चेन्ज रियाक्सन (पिसिआर) परीक्षणका लागि पठाइने छ,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट नै रहेका तेह«थुमका युवकको समेत पिसिआर परीक्षण गरिनेछ ।’ रिपोर्ट नेगेटिभ आएका दोलखाकै ५८ जनालाई गृहजिल्ला पठाइएको छ । अरू जिल्लाका युवालाई पनि सवारी साधन व्यवस्था नहुञ्जेल केही समयका लागि क्वारेन्टाइनमै राखिएको उनले जनाए ।

सोमबार पनि यो नाका भएर युवाहरू आउने तयारीमा रहेको उनले जनाए । तर, नगरसँग आरडिटी किट ३५ थानमात्रै रहेकाले थप किट ल्याउन पहल भइरहेको लामाले बताए । पशुपतिनगर नाकाबाट भित्रिने व्यक्तिलई राख्न पशुपतिनगरसहित आसपासका विभिन्न स्थानमा ४ सय जना क्षमताको क्वारेन्टाइन तयार गरिएको छ ।

यो नाकाबाट आउने व्यक्तिको संख्या यकिन नभएपनि जिल्ला प्रशासन कार्यालयले करिब ५ हजार युवा यही बाटो भएर आउन सक्ने अनुमान गरेको छ । तर, भारतमा काम गरिरहेका सबै नेपाली युवासँग सम्पर्क हुन नसकेकाले यो विवरण यकिन भइनसकेको कार्यालयले जनाएको छ ।

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र र पशुपतिनगर नाका रहेको सूर्याेदय नगरपालिकाको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । तर, नाका भित्रिनेबित्तिकै आरडिटी गरेर उनीहरूलाई सम्बन्धित जिल्ला पठाइने सूर्याेदय नगरपालिकाले जनाएको छ । नगरले १ नम्बर प्रदेशका युवाको चाहिँ पिसिआरसमेत जाँच गर्ने तयारी गर्दैछ । नाका भित्रिनेको आरडिटी गर्न पशुपतिनगर गेटको सडकमै सामाजिक दूरीसहितको संकेत तयार गरिएको छ । सडकमा पाल टाँगेर उनीहरूलाई अस्थायी रूपमा बस्नसक्ने प्रबन्ध मिलाइएको छ । पशुपतिनगरस्थित सहरी स्वास्थ्य केन्द्र र सार्वजनिक विद्यालयको भवनमा सय तथा पञ्चकन्याको फरफोक र कन्यामको कृष्णश्रम माध्यमिक विद्यालयमा डेढ÷डेढ सय जना अटाउने क्वारेन्टाइन रहेको मेयर रणबहादुर राईले बताए ।

दार्जिलिङ, मिरिक, कापिम्पोङ, सिक्किमलगायत क्षेत्रमा रहेका युवा भारतमा रेल सेवा सञ्चालन भएपछि पशुपतिनगर नाका भएर देश भित्रिन थालेका हुन् । लकडाउनयता नै ८÷१० युवा रातिको समय पारेर सुरक्षाकर्मीको आँखा छल्दै पशुपतिनगर आसपासबाट भित्रिएका थिए । उनीहरूलाई क्वारेन्टाइनमा राखिएको थियो । इलाममात्र नभई अन्य जिल्लाबाट समेत हजारौं युवा मौसमी काम गर्न भारत गएका छन् । उनीहरू वर्षमा ८ महिना उता काम गरेर अरू समय घर फर्किने गरेका छन् । भारतमा काम गरिरहेका कति संख्याका नेपाली यो नाकाबाट आउँछन् भन्ने यकिन तथ्यांक चाहिँ नभएको प्रशासन कार्यालयका शाखा अधिकृत सफल पोर्तेलले बताए ।

जिल्ला समन्वय समितिले स्थानीय तहहरूलाई पत्र लेखेर आफ्नो क्षेत्रबाट कति संख्याका युवा विदेशमा छन् भन्ने विवरण माग गरेको थियो । तर, सबै स्थानीय तहबाट विवरण नआएको समन्वय समितिको कार्यालयका सूचना अधिकारी कुमार निरौलाले बताए । ‘१÷२ स्थानीय तहबाहेक अन्यबाट विवरण आएन,’ उनले भने, ‘विवरण माग गरिएलगत्तै बाहिर काम गरेर बसेका इलामले युवालाई तत्कालै जिल्ला नल्याइने, बरु जहाँ बसेका छन्, उतै राहत वितरण गर्ने जिल्लास्तरीय निर्णय भएपछि विवरण संकलनको काम भएन ।’

इलामसँग भारतको सीमा साढे ५२ किलोमिटर जोडिएको छ । खुला सीमा रहेका यी भू–भागबाट अनाधिकृत ढंगले कसैलाई आउ–जाउ गर्न नदिन सशस्त्र प्रहरी बलका १६ र नेपाल प्रहरीका १२ इकाई सीमा क्षेत्र आसपासमा राखिएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित: ११ जेष्ठ २०७७ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App