७ वैशाख २०८१ शुक्रबार
समाज

कुटपिटबाट वडा सदस्यसहित ३ जना गम्भीर घाइते

धरान उपमहानगरपालिका वडा न. १४ की दलित महिला सदस्य मनिषा विकसहित ३ जनामाथि आइतबार सांघातिक आक्रमण भएको छ। सोही वडाको बमधारा मार्ग क्षेत्रमा गएको शिवरात्रीको दिन उद्घाटन भएको शिवजी चोकको बोर्ड तोडफोड भएको बिषयमा वडा सदस्य बिकसहित स्थानीय अगुवामाथि आक्रमण भएको हो। आक्रमणमा संलग्न बाबुराम अधिकारी, गणेश कार्की, अर्जुन तामाङ, पदम तामाङ र मनोज तामाङलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुको आक्रमणबाट वडा सदस्य बिकसहित पूर्वप्रहरी हवल्दार झलक तामाङ र सुरज बिक पनि गम्भीर घाइते भएका छन्। घाइते तीनै जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ।  

घाइते एवं वडा सदस्य बिकका अनुसार शनिबार राती चोकको बोर्ड तोडफोड गरेपछि आइतबार छलफल राखिएको थियो। प्रहरी सहितको उक्त छलफलमा ती युवाहरुले तोडफोड गरेको स्वीकार गर्दै बोर्ड बनाइदिन सहमत भएका थिए। त्यसपछि, फलामका डण्डा वेल्डिङ गर्न भनेर गएका उनीहरु प्रहरी पनि कार्यालय गए पछि एक्कासी छलफल भएकै ठाउँमा अन्य हातहतियारसहित आएर जथाभावी आक्रमण गरेको बताइन्। ‘रड, डण्डी, वियरको बोतल, दाउरा जे भेट्यो त्यहीले हिर्काउन थाल्यो,’उनले भनिन्।

युवाहरुको आक्रमणबाट वडा सदस्य बिक र पूर्वप्रहरी हवल्दार झलक तामाङ बेहोस भएका थिए। ती युवाहरुले बेहोस भएका ढलेपनि झलकलाई कुट्न नछोडेको प्रत्यक्षदर्शी एवं घाइते टिका प्रधानले बताइन्। ती युवाहरुले उनलाई पनि बोतल प्रहार गरेर घाइते बनाएका छन् भने छातीमा लात्ता प्रहार गरेको थियो। ‘हामीले नछेकेको भए बेहोस भएर ढलेको झलक दाईलाई कुटेरै मार्थे,’उनले भनिन्,‘एक छिन त युद्ध मैदान जस्तै भयो।’

स्थानीयका अनुसार आक्रमणबारी युवाहरुलाई टोलकै हुन्। उनीहरु वदमास र लागुऔषधको कुलतमा फसेका छन्। गाँजा, ट्याब्लेट खाएर हिड्ने, राती अबेरसम्म होहल्ला गर्ने, खुकुरी बोकेर हिड्ने गरेकोले टोल आतंकित भएको स्थानीयहरु बताउँछन्। वडा अध्यक्ष कृष्ण भट्टालाई घटनाप्रति दुःख व्यक्त गर्दै संलग्नहरुलाई कडा कारबाही हुनुपर्ने बताए। आफुले पनि कडा सजाय दिलाउन पहल गर्ने र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने पनि बताए। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले घटनामा संलग्नहरु पक्राउ परिसकेको र अनुसन्धान भइरहेको बताए।  

 

 

प्रकाशित: ११ जेष्ठ २०७७ १३:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App