८ वैशाख २०८१ शनिबार
समाज

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा

कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको हो।  

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले असहज अवस्थालाई सहज गराउनका लागि नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए। ‘नरैनापुरको अवस्थालाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरियो, त्यहाँ सेना परिचालन गर्ने निर्ण भएको छ,’ खड्काले भने। अब नरैनापुरको सुरक्षाको जिम्मा सेनाले लिएको छ। सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि परिचालन हुनेछन्।

बाँकेमा अहिलेसम्म १ सय ४२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। त्यसमध्ये नरैनापुर गाउँपालिका वडा नम्बर ५ निवासी २४ बर्षिय युवकको यसअघि मृत्यु भएको थियो, भने नेपालगन्जका २१ ज्ना ब्यक्ति निको (डिस्चार्ज) भएर घर फर्किसकेका छन्। भारतीय सिमासँग जोडिएको नरैनापुरमा मात्रै १ सय १४ जना संक्रमित भएका छन्।  

नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले पहिलेको भन्दा अहिले सरकारको सक्रियता देखिएको बताए। ‘हामीले धेरै अनुरोध गरेपछि सरकार सक्रिय भएको छ, नरैनापुरमा अब सेना परिचालन हुदैछ, सेनाले बस्ने ठाउँ हेरिसकेको छ,’ उनले भने। कोरोना भाइरसका कारण अवस्था भयावह बन्न थालेपछि गाउँपालिकाले यसअघि संघ र प्रदेश सरकारसँग सहयोगका लागि अपिल गरेको थियो।  

नरैनापुरमा भारतबाट धेरै ब्यक्ति आएको र जनचेतनाको कमीका कारण धेरै ब्यक्तिमा कोरोना संक्रमण भएको अध्यक्ष शाहको बुझाई छ। ‘सरकारले नरैनापुरमा डाक्टरको विशेष टोली नै खटाउनुपर्छ, यसको लागि नरैनापुरमा सरकारले छिटो भन्दा छिटो बिजुली बत्तीको पनि ब्यवस्था गर्नुपर्छ,’ उनले भने ‘बत्ती भइदियो सबै कुराको समस्या समाधान हुन्छ।’ बिजुली बत्ती भइदिएको भए नरैनापुरमै कोरोना अस्पताल स्थापना गर्न सम्भव हुने बताए। कोरोनाविरुद्ध सबै जना हातेमालो गरेर लड्नुपर्ने बेलामा नरैनापुरका केही ब्यक्तिले राजनीति गरेको भन्दै उनले दुःख ब्यक्त गरे। ‘यो बेलामा राजनीति गर्ने होइन, कोरोना विरुद्ध लडेर जनतालाई बचाउने हो,’ उनले थपे।

प्रकाशित: ११ जेष्ठ २०७७ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App