६ वैशाख २०८१ बिहीबार
समाज

अनुसन्धान केन्द्रकै माछालाई दाना अभाव भएपछि रोटेसन सिष्टम लागू

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रको पोखरी । तस्बिर/हिमनाथ

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दानाको अभाव भएपछि रोटेसन सिष्टम लागू गरिएको छ । माछा तथा भुराको संख्या बढ्दै गएको र दानाको आयात घटेपछि रोटेसन सिष्टम लागू गरिएको केन्द्र प्रमुख महेन्द्रप्रसाद भण्डारीले बताए ।  

पहिले तीनपटकसम्म दाना खुवाउँदै आएकोमा अहिले एक छाके वा दुई छाके गरेर दाना खुवाउने गरिएको उनको भनाइ छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण देश लकडाउन भएपछि दाना आयात गर्न नसक्दा अभाव सिर्जना भएको हो ।  

यसअघि दानाका लागि आवश्यक पर्ने सिद्र माछा भारतबाट आयात गरिँदै आएको थियो । केन्द्रका अनुसार दाना बनाउनका लागि आवश्यक पर्ने सिद्रा माछा नेपालमा छैन ।  दानाको कमिले गर्दा माछाको वृद्घी विकास हुन नसक्ने समस्या आउने तथा आउने वर्ष अण्डा उत्पादनमा कमि आउने केन्द्र प्रमुख भण्डारीले बताए । उनका अनुसार आगामी वर्ष गुणस्तरीय अण्डा तथा माछाका भुरा उत्पादन समेत प्रभावित हुने देखिन्छ ।  

लकडाउनका कारण केन्द्रले उत्पादन भएका माछाका भुरा किसानसम्म पुर्‍याउन सकेको छैन । उत्पादन भएको अण्डा भने सबै ठाउँमा पठाइ सकिएको छ । कृषकका पोखरीमा रहेका माछा बिक्री हुन नसक्दा कृषक केन्द्रमा आएका छैनन् । जसका कारण भुरा बिक्री नभएको हो । केन्द्रमा अहिले ४० हजार भुरा छ ।  

साथै ४ हजार ५ सय ठुला माछा छ । केन्द्रमा २५ वटा रेसवे अर्थात पोखरी रहेको छ । केन्द्रका अनुसार रसुवा जिल्ला सहित ललितपुर, कालिकोट गुल्मी र अछाममा लैजान पर्ने भुरा केन्द्रमा नै थन्किएको छ । केन्द्रले माछाका अण्डा प्रतिगोटा २ रुपैयाँ तथा भुरा प्रतिगोटा ७ रुपैयाँका दरले बिक्री गर्दै आएको छ । यस केन्द्रमा उत्पादन भएका अण्डा तथा माछाका भुरा रामेछाप, सोलुखुम्बु, लमजुङ, पश्चिम रुकुम, मुगु ताप्लेजुङसम्मका कृषकहरूले लाने गरेका केन्द्रले जनाएको छ ।

लकडाउन कारण कारण माछाका भुरा बिक्री नहुँदा दाना बढी आवश्यक पर्छ । तर दाना आयात नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको उनको भनाइ छ । जिल्लामा व्यावसायिक रूपमा माछा पालिरहेका कृषकलाई पनि यसको प्रत्यक्ष असर परेको छ ।  

 

 

प्रकाशित: ११ जेष्ठ २०७७ ०५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App