२० जेष्ठ २०७७ मंगलबार
समाज

नागरिकहरुलाई भारतको सीमामै चेकजाँच गर्न माग

सुर्खेत

कर्णालीमा कोरोना संक्रमित देखिन थालेपछि प्रदेश सरकारले सीमा नाकामै भारतबाट आउने नागरिकहरुको चेकजाँच गरेर मात्रै प्रदेश र जिल्लामा पठाउन संघीय सरकारसँग अनुरोध गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शनिबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले भारतबाट आउने नागरिकहरुका कारण कोरोना संक्रमण फैलिन थालेको निस्कर्ष निकाल्दै सीमामै चेकजाँच गरेर संक्रमण नदेखिएका नागरिकहरुलाई मात्रै सम्वन्धीत प्रदेश र जिल्लामा पठाउन संघीय सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले भारतबाट प्रदेशको सीमासम्म आइसकेका नागरिकहरुलाई प्रदेशको प्रवेश विन्दूमै स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकेको छ । ‘भारतबाट आउने व्यक्तिहरु विना परीक्षण प्रदेशमा प्रवेश गरेको अवस्थामा प्रवेश विन्दुमै ¥यापिट टेष्ट र मनोसामाजिक परामर्श प्रदान गर्ने निर्णय भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘¥यापिट टेष्टमा संक्रमण नदिएकाहरुलाई सम्वन्धीत जिल्लाको क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षणको व्यवस्था मिलाइने छ ।  

बैठकले भारतबाट आउने नागरिकहरुको तथ्याङ्क राख्ने र सम्वन्धीत जिल्लासम्मको यातायातको व्यवस्थापन मिलाउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी तोको छ । प्रदेश सरकारले आवश्यक परेको खण्डमा भारतसँगको सीमाबाटै पनि कर्णालीका नागरिकहरुको उद्दार गर्ने जनाएको छ ।  

बैठकले जिल्ला तथा स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टिनको अनुगमन तथा आवश्यक सुधार र सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीका प्रदेश प्रमुखहरुलाई जिम्मेवारी तोकेको छ । कालिकोट र जुम्लाका लागि प्रदेश प्रहरी प्रमुख, सुर्खेत र दैलेखका लागि उत्तरपश्चिम पृतना हेडक्वाटरका पृतनापति र सल्यान, रुकुम पश्चिम र जाजरकोटका लागि सशस्त्र प्रहरीको महेश्वरी बाहिनीका प्रमुखलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश सरकारले डोल्पाको शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्कातारुङ गाउँपालिकामा संकलन गरिएका स्वाब परीक्षणका लागि प्रयोगशालासम्म ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने भएको छ । ‘भौगोलिक विकटताका कारण स्वाब संकलन भएपनि ल्यावसम्म ल्याउन सकिएको छैन्,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘संकलित स्वाबहरुलाई ल्याउनका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्नुपर्ने अनिवार्यता छ ।’

प्रकाशित: १० जेष्ठ २०७७ १६:०३ शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App