coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाँकेमा झन् फैलिँदैं संक्रमण: अटेरी जनता, सुस्त ब्यवस्थापन

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट निको भएपछि घर फर्किदै।तस्बिर;नागरिक

रोजगारीको शिलसिलामा भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँमा पुगेका बाँके, राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का १८ बर्षिय युवक कोरोना भाइरस बोकेर घर फर्के। रुपैडिहा नाकामा आएर करिव चार दिनजति रोकिएका उनी सरकारले अनुमति दिएपछि यही जेठ ७ गते नेपाल प्रवेश भएका थिए।  

युवकसहित आएका सोही ठाउँका अन्य चार जनालाई राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ९ स्थित गणेश माध्यामिक बिद्यालयको क्वारेन्टाइमा लगेर राख्यो। वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार सीमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो। ‘ज्वरोले झन् च्यापेपछि भोलीपल्ट(जेठ ८ गते) उनलाई हाम्रै एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालले स्वाब संकलन गरिदियो, अस्पतालमै रहँदा युवकलाई कोरोना भाइरस पोजिटिभ देखियो,’ वडाअध्यक्ष ओलीले भने।  

भारतबाट सँगै फर्केका आफ्ना साथीलाई कोरोना पोजिटिभ देखिएपछि क्वारेन्टाइनमा बसिरहेका अन्य ब्यक्ति अहिले त्रासमा छन्। उनका परिवार पनि तनावमा छन्। उक्त क्वारेन्टाइनमा शुक्रबार फर्केका समेत गरी अझै ६ जना बसिरहेको वडाअध्यक्ष ओलीले जानकारी दिए। कोरोना संक्रमित १८ बर्षिय युवकलाई भेरी अस्पतालबाट खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा सारिएको छ। युवकमा कोरोना पोजिटिभ देखिए लगत्तै आफुले अन्य ब्यक्तिको पनि कन्ट्रयाक्ट टे«सिङमार्फत स्वाब संकलन गरिदिन आग्रह गर्दा अहिलेसम्म नभएको वडाअध्यक्ष ओलीको गुनासो छ।  

‘अस्ति बिरामीलाई भेरी अस्पतालमा पनि धेरै प्रयास गरेर लगिएको हो, युवकलाई पोजिटिभ देखिएपछि अन्य ब्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाइ भएन,’ उनले भने। संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट टे«सिङ गरेर समयमै स्वाब संकलन नगरिएन भने महामारी अझ फैलिने सक्ने जोखिम रहेको बताउँछन्। सरकारले स्वाब संकलनको दायरालाई बढाउन नसकेको र हरेक ब्यवस्थापन सुस्त रहेको उनको बुझाई छ।

भारतबाट फर्केर आएका ब्यक्तिलाई राप्तीसोनारीका विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शुक्रबारसम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा १ सय ४० जना बसिरहेको बताए। ‘क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिहरु भारतबाट फर्केर आएका हुन्, अझै फर्किने क्रम चलिरहेको हुँदा संख्या बढ्ने निश्चित छ,’ उनले भने। क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिलाई नेपाल सरकारको निर्देशिका अनुसार ब्यवस्थापन गरिएको बस्नेतले बताए।

१८ बर्षिय युवक राप्तीसोनारी गाउँपालिकाका पहिलो संक्रमित हुन्। जिल्लामै पहिलो संक्रमण गत बैशाख १९ गते नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० बर्षिय ब्यक्तिमा देखा परेको थियो। त्यसपछि भारतीय सिमासँग जोडिएको नरैनापुर, खजुरा र राप्तीसोनारी गाउँपालिकासम्म कोरोना संक्रमण देखिएको हो। कुल ८ स्थानीय तह रहेको बाँकेमा अहिलेसम्म कोहलपुर नगरपालिका तथा जानकी, डुडुवा र बैजनाथ गाउँपालिकामा भने कोरोना संक्रमण देखिएको छैन। कोरोना संक्रमण नियन्त्रणमा आउनुको सट्टा जिल्लामा झन् फैलिदै गइरहेको छ। सरकारले लकडाउन गरेपनि यहाँ भिडभाड र आवत–जावत गर्ने क्रम रोकिएको छैन। बैंक, वित्तीय संस्था तथा सहकारीमा सेवाग्राहीको दिनहुँ भिड लाग्छ।  

स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठका अनुसार जिल्लामा अहिलेसम्म कुल १ सय १६ जना ब्यक्तिमा कोरोना संक्रमण देखिसकेको छ। ती मध्ये नरैनापुर गाउँपालिका वडा नम्बर ५ का २४ बर्षिय युवकको मृत्यु भएको थियो, भने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ र ८ का २१ जना शुक्रबार निको (डिस्चार्ज) भएर घर फर्किसकेका छन्। शुक्रबार कोरोना संक्रमण पुष्टि भएका नरैनापुर गाउँपालिका वडा नम्बर ३ का १३ जनालाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको श्रेष्ठले जानकारी दिए।  

आइसोलेसनमा बस्नै मान्दैनन् संक्रमित

कोरोना भाइरस सम्बन्धी समुदाय स्तरमा गलत बुझाई भएका कारण पछिल्लो समयमा संक्रमित ब्यक्ति आइसोलेसनमा बस्न अटेरी गर्न थालेका छन्। संक्रमित ब्यक्तिको अटेरीका कारण उनीहरुलाई समयमै आइसोलेसनमा राख्न समस्या भइरहेको स्वास्थ्यकर्मीको गुनासो छ। नरैनापुर गाउँपालिका वडा नम्बर ३ का संक्रमितले नमान्दा शुक्रबार राती १२ बजे मात्र मुस्किलले नेपालगन्ज ल्याइएको फोकल पर्सन श्रेष्ठले सुनाए। ‘आइसोलनमा ल्याउन खोज्दा उनीहरु आउनै मानेनन्, राती १२ बजे मात्र मुस्किलले उनीहरुलाई ल्याइयो,’ उनले भने ‘संक्रमितहरु आइसोलेसन जानै नमान्ने समस्याले विकराल रुप लिइरहेको छ।’  

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकले आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहँदा संक्रमित ब्यक्तिले सहयोग नगरेको दुखेसो पोखे। ‘एकातिर संक्रमित ब्यक्तिहरु आइसोलेसनमा बस्नै नमान्दैनन, अर्को कुरा जहाँ आइसोलेसन बनाउन खोज्यो त्यहाँका स्थानीय बासिन्दाले बिरोध गरिहाल्छन्, यसरी कोरोना संक्रमण नियन्त्रण गर्न सकिएला र ?’ एक स्वास्थ्यकर्मीले भने।  

भेरीको प्रयोगशालामा चाप बढ्यो

कोरोना परिक्षणका लागि भेरी अस्पताल नेपालगन्जमा राखिएको प्रयोगशालामा चाप बढेको छ। उक्त अस्पतालमा बाँके र बर्दियाका साथै आवश्यकता अनुसार अन्य जिल्लाबाट पनि स्वाब ल्याउने गरिएको छ। स्वाब संकलन गर्नेभन्दा पिसिआर परिक्षण गर्न ढिलाई हुने गरेको छ। भेरीमा चाप बढेपछि बाँकेमा संकलन गरिएको स्वाब दाङको घोराही लैजाने गरिएको छ। भेरीको प्रयोगशालामा चाप बढेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा संकलन गरिएको स्वाब बिहीबार घोराही लगिएको थियो।  

भेरीको प्रयोगशालासँग दैनिक ८० देखी १ सय जति स्वाब परिक्षण गर्न सक्ने क्षमता रहेको बताइएको छ। भारतबाट फर्केका र उनीहरुको सम्पर्कमा पुगेका अझैपनि धेरै ब्यक्तिको स्वाब संकलन हुन सकेको छैन। स्वाब संकलनको दायरालाई फराकिलो पार्न चौतर्फी रुपमा माग भइरहेको छ। ‘स्वाब संकलनका लागि धेरै ठाउँबाट फोन आइरहन्छ, स्वाब संकलन गरेर मात्रै के गर्नु र, भेरी अस्पतालको प्रयोगशालाले धान्नै सकिरहेको छैन,’ एक स्वास्थ्यकर्मीले भने।

भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले भेरी अस्पतालमा चाप बढ्दा कहिले काही दाङ पठाउने गरिएको बताए। ‘दुई दिनअघि सम्म ५ सयभन्दा बढी स्वाब संकलन भएको थियो, अहिले धेरै रिपोर्ट आइसकेको हुँदा चाप घटेको छ,’ उनले भने।

प्रकाशित: १० जेष्ठ २०७७ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App