१६ जेष्ठ २०७७ शुक्रबार
समाज

कोरोना पुष्टि भएको चार दिनपछि अस्पताल

कर्णालीका एक मात्र कोरोना संक्रमित दैलेखस्थित आठबीस–१, सात्तलाका ३५ वर्षीय युवालाई चार दिनपछि मात्र अस्पताल पु-याइएको छ। प्रदेश राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना अस्पतालमा ती युवालाई ल्याइएको हो।

कोरोना अस्पतालमै उपचार गर्ने सबैको सहमति भएपछि संक्रमित व्यक्तिलाई प्रदेश अस्पतालमा निर्माण गरिएको कोरोना अस्पतालमा ल्याइएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन केएन पौडेलले जानकारी दिए। ‘संक्रमित युवाको अवस्था सामान्य भएकाले जिल्लामा उपचार गर्ने सहमति भएको थियो,’ उनले भने, ‘पछि पुनः कोरोना अस्पतालमा उपचार गर्ने सहमति भयो।’ साथै उनले संक्रमित युवाको अवस्था सामान्य रहेको जानकारी दिए। संक्रमित युवाको उपचारमा प्रदेश सरकारले उदासिनता देखाएको भन्दै स्थानीय तह र स्थानीयले असन्तुष्टि व्यक्त गरे थिए।  

कोरोना संक्रमितको उपचारका लागि भन्दै प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी मिसन अस्पताल रुकुम पश्चिमलाई कोरोना अस्पतालका रूपमा तोकिएको छ। उक्त अस्पतालहरूमा आवश्यक रकमसमेत पठाइसकिएको छ। तर उक्त अस्पतालमा नलिएर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डविपरीत सदरमुकामको सरस्वती माध्यमिक विद्यालय झुप्रेसालमा राखिएको थियो। कोरोना संक्रमितलाई अस्पताल लिनुको साटो विद्यालयमा राखिएपछि आठबीस नगरपालिकाले असहमतिसमेत जनाएको थियो।

‘एकातिर कोरोनाको महामारीविरुद्ध लड्नु पर्ने छ,’ उपप्रमुख दीपा बोहराद्वारा हस्ताक्षेरित असहमति पत्रमा लेखिएको छ, ‘अर्काेतिर जनतालाई सरकारको अभिभावकत्वको व्यवहारिक प्रत्याभूति दिलाउनु पर्ने दायित्व छ।’ यी दुवै भूमिकामा प्रदेश सरकार चुकेको उक्त असहमति पत्रमा उल्लेख छ। कोरोना उपचारका लागि तोकिएका अस्पतालमा नपु¥याइ नगरवासी संक्रमित ती युवालाई विद्यालयमा राख्नु स्वास्थ्यमाथि ठूलो खेलवाड भएको नगर उपप्रमुख बोहराले जनाइन्। दैलेखका कोरोना संक्रमित व्यक्तिको उपचारमा भेदभाव भएको आठबीस–१, का वडाध्यक्ष प्रवसिंह विकले जनाए। मन्त्रीका आफन्त, पारिवारिक सदस्य, कार्यकर्ता र निर्वाचन क्षेत्रका आफ्ना मतदातालाई सामान्य चोटपटक लाग्दा गाडी र हेलिकोप्टर प्रयोग गर्ने र कोरोना संक्रमित व्यक्तिको उपचारमा विभेदकारी, अन्यायपूर्ण र गैरजिम्मेवारी ढंगले विद्यालयमा राखिएको उनको भनाइ छ।

कोरोना अस्पताल पु-याएपछि कोरोना संक्रमित युवाले आफ्नो मनोबल ठूलो भएको प्रतिक्रिया दिएका छन्। सबैको उपचारमा पहुँच स्थापित गर्नु पर्ने स्थानीयको भनाइ छ। तर प्रदेश सरकार त्यसको विपरीत पहँुचका आधारमा विभेदकारी र अन्यायपूर्ण ढंगले उपचारमा लापरबाही भएको स्थानीय बताउँछन्। ५ गते राति सवा १० बजे उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। उपचारका लागि भन्दै संक्रमित ती युवालाई ६ गते साँझ करिब ५ बजेतिर जिल्ला सदसरमुकाम पु-याइएको थियो।

प्रकाशित: १० जेष्ठ २०७७ ०९:२० शनिबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App