१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘पुनर्जन्म पाएजस्तो अनुभूति’

बाँकेका २१ संक्रमित घर फर्किए

बाँकेमा पहिलोपटक कोरोना संक्रमितसहित २१ जना  शुक्रबार घर फर्किएका छन्। तीन साताअघि कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जका ६० वर्षीय पुरुष, सात वर्षीया बालिकासहित २१ जनालाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो।  

उपचारमा खटिएका स्वास्थ्यकर्मी, नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिसहितले संक्रमणमुक्त उनीहरूलाई पुष्पगुच्छा दिएर अस्पतालबाट बिदाइ गरेका थिए।  

भारतीय सीमासँग जोडिएको बाँकेमा कोरोना संक्रमण बढदै गएको छ। संक्रमितको संख्या थपिँदै गएका बेला संक्रमित २१ जना निको भएर घर जाँदा निकै खुसी देखिन्थे। निको भएर घर फर्किएका नेपालगन्जका एक पुरुषले उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मी र व्यवस्थापनमा खटिएका स्थानीय तहका कर्मचारीलाई धन्यवाद दिए।  

हिम्मतका साथ स्वास्थ्यसम्बन्धी नियम पालना गरे कोरोनालाई जित्न सकिने अनुभव सुनाउँदै ती पुरुषले भने, ‘सुरुमा अस्पताल आउँदा डर लागेको थियो। सबैको मनमा त्रास थियो। कोरोना जितेर आज घर फर्कन पाउँदा पुनर्जन्म पाएजस्तो अनुभव भएको छ। आत्मविश्वासले कोरोनालाई जित्न सकिन्छ भन्ने लागेको छ।’

‘आत्मविश्वासका साथ स्वास्थ्यकर्मीको निर्देशन पालना गरे कोरोनालाई  जित्न सकिन्छं। डराउने होइन सचेत हुने हो। मनोबल उच्च बनाउने हो।’ ...

कोरोना संक्रमित भैहाले नआत्तिन र आत्मविश्वास बलियो बनाउन ती पुरुषले सुझाव दिए। ‘कोरोनाबाट नडराउन सल्लाह दिन्छौं। डराउने होइन, आत्मविश्वासका साथ स्वास्थ्यकर्मीको निर्देशन पालना गरे कोरोनालाई  जित्न सकिन्छं। डराउने होइन सचेत हुने हो। मनोबल उच्च बनाउने हो’, ती पुरुषले भने।

वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि नेपालगन्जका २१ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा भर्ना गरिएको थियो। कोरोना विशेष आइसोलेसन अस्पताल खजुराका प्राविधिक समूह संयोजक डा. प्रकाश थापाका अनुसार पुनः पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटि आएपछि २१ जनालाई डिस्चार्ज गरिएको हो। डिस्चार्ज भएका  सबै घरमा पनि स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ आइसोलेसनमा बस्नेछन्। डा. थापाले भने, ‘उहाँहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्नेछ। हामीले सेल्फ आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने निर्देशिका दिएका छौंं। त्यो उहाँहरुले पालना गर्नुपर्नेछ।’  

कोरोना संक्रमणमुक्त भई शुक्रबार घर फर्किएका २१ जना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ र ८ का बासिन्दा हुन्। उनीहरुलाई लिन नेपालगन्ज उपमहानगरपालिका उपमेयर थापामगर खजुरास्थित कोरोना विशेष अस्पताल गएकी थिइन्। नेपालगन्ज फर्किएपछि उनीहरूलाई स्थानीयले स्वागत गरेका थिए। कोरोनालाई जितेर २१ जना घर फर्किएको खबरले नेपालमा सकारात्मक सन्देश दिएको उपमेयर थामामगरले बताइन्। उनले भनिन्, ‘अहिले सबैजनामा त्रास छ। कोरोना डरले आत्मविश्वास घटेको छ। तर आज उहाँहरु २१ जना निको भएर घर जाँदै हुनुहुन्छ। यसले अरुको पनि आत्मविश्वास बढाएको छ। आत्मबल र स्वास्थ्यकर्मीको निर्देशन पालना गरे कोरोनालाई जित्न सकिन्छ भन्ने पुष्टि भएको छ। सबै नगरवासीलाई कोरोनाविरुद्ध सचेत र एकजुट भएर लड्न आग्रह गर्छु।’

बाँकेमा शुक्रबारसम्म १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमा नरैनापुरका २५ वर्षीय एक युवकको मृत्यु भैसकेको छ। बाँकेका  संक्रमितलाई खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा स्थापित कोरोना विशेष अस्पताल, नेपालगन्जको लायन्स डेन्टल अस्पताल, कोहलपुर पिपरीस्थित कृषि विकास तालिम केन्द्रको हलमा राखेर उपचार गरिँदैछ। नरैनापुरका ८ जनाको दाङमा उपचार भैरहेको छ। 

प्रकाशित: १० जेष्ठ २०७७ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App