६ वैशाख २०८१ बिहीबार
समाज

सुरक्षा सामग्री अभावले जोखिम

सरकारले कोरोनामा महामारीविरुद्ध अग्रपंक्तिमा खटिनेहरूलाई  आवश्यक सुरक्षा सामग्री पुर्याउन नसक्दा उनीहरूमा संक्रमणको जोखिम बढेको छ । पिपिई, मास्क, पन्जा, स्यानिटाइजरजस्ता अत्यावश्यक सामग्रीमा सहज नहुँदा महामारीविरुद्ध खटिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी बढी जोखिममा परेका हुन् ।  

स्वास्थ्य मन्त्रालयका अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी गरी हालसम्म १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसबाहेक राहत वितरण तथा जोखिममै काम गर्ने अन्य कर्मचारीमा पनि कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । पेसागत धर्मका कारण जोखिम मोलेर सेवा क्षेत्रमा खटिइरहेका उनीहरू आवश्यक सुरक्षा सामग्री प्रबन्ध नभएको बताउँछन् ।  

‘हामीले काम त गरिरहेकै छौं, तर सुरक्षा सामग्री पनि पुग्दो छैन, कहिलेकाहीँ मास्ककै भरमा पनि खटिनुपर्ने अवस्था छ,’ त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. सन्तोष केसीले भने । अर्का डा. रमेश आचार्यले पनि यस्तो बेलामा सरकारले फ्रन्ट लाइनमा काम गर्नेहरूप्रति गम्भीरता नदेखाएको बताए । उनले अग्रपंक्तिमा खटिनेहरूले आफूलाई जोखिममै राखेर पेसागत धर्म निभाइरहेको जानकारी दिए । 

‘यस्तो बेलामा सुरक्षा सामग्रीमा जति सहजता हुनुपर्ने हो, त्यो भएको छैन, क्वारेन्टिनमा बस्नेहरूलाई पनि त्यति ध्यान दिएको देखिँदैन,’ उनले भने । उनका अनुसार क्वारेन्टिनमा राख्ने तरिका र स्वाब टेस्ट गराउने तरिका पनि नमिलेकाले जोखिम बढेको छ । भीडभाड कम गर्ने, एकै ठाउँ धेरै संक्रमितलाई नराख्ने, क्वारेन्टिन व्यवस्थित गर्नेजस्ता कार्यमा ध्यान दिए उनीहरूको उपचारमा खटिने चिकित्सक सुरक्षित हुने उनको भनाइ छ ।  

पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट सबैभन्दा बढी सुरक्षाकर्मी प्रभावित बनेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुईजना सशस्त्र र ६ जना नेपाल प्रहरी गरी ८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनीहरू काठमाडौं, कपिलवस्तु, बारा र धनकुटामा कार्यरत छन् । ४ जना स्वाथ्यकर्मी र ५ जना पत्रकार पनि संक्रमित भइसकेका छन् । यसबाहेक फ्रन्ट लाइनमा बसेर काम गर्ने व्यक्ति पनि असुरक्षित देखिएका छन् ।  

सरकारले जोखिमका बेला खटिनेहरूको कोरोना परीक्षणमा समेत चासो दिएको छैन । किटको अभाव देखाउँदै सरकारले उनीहरूको कोरोना परीक्षण गरेको छैन । ‘माथिल्लो तहमा घरमै बसेका नेता भिआइपीहरूको कोरोना परीक्षण भयो तर दैनिक काममा खटिने को परीक्षणमा सरकारले ध्यान दिएको छैन,’ सञ्चारकर्मी रामहरि कार्कीले भने । उनले सरकारले सबैभन्दा पहिले अग्रपंक्तिमा रहेर काम गर्नेहरूको कार्यलाई प्रभावित हुन नदिन उनीहरूलाई खुसी पार्नुपर्ने बताए ।  

त्यसो त उपत्यकाका सडकमा खटाइएका सुरक्षाकर्मीलाई सरकाले मास्कधरी उपलब्ध गराउन सकेको छैन । एउटै मास्कमा जोखिमपूर्ण क्षेत्रमा खटिनु परेको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरबाट तिनकुने चोकमा खटिएका एक प्रहरीले भने । उनले सडकमा भीडभाड र ओहोरदोहोर कम भए प्रहरीलाई पनि जोखिम कम हुने बताए ।  

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अग्रपंक्तिमा खटिनेहरूप्रति सरकारले बढी ध्यान दिएको दाबी गरे । उनले कोरोना संक्रमणको उच्च जोखिम देखिएकालाई छानेर परीक्षण गरिएको बताए । ‘जोखिममा खटेकामध्ये पनि अझ जोखिम भएकाको सबैभन्दा पहिले हामीले चासो दिएका छौं, को कस्तो ठाउँमा खटिएको छ भन्नेबारे हामीले चासो दिन्छौं,’ उनले भने । उनले स्वास्थ्य मन्त्रालयले अग्रपंक्तिमा काम गर्नेहरूका लागि मास्क, पिपिईलगायत आवश्यक उपकरण वितरण गर्दै आइरहेको बताए ।  

तर, जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जोखिममा काम गर्नेहरूका लागि आवश्यक सुरक्षा सामग्री वितरण गर्न नसकिएको बताए । उनले स्वास्थ्य मन्त्रालयले सीमित सामग्री पठाउने गरेकाले जोखिम हेरेर वितरण गरिएको जानकारी दिए । ‘सरकारले जति पठाउँछ, हामीले जोखिम हेरेर त्यसैलाई परिचालन गर्ने हो,’ उनले भने, ‘तर अहिले कुनै पनि सामग्री पुग्दो मात्रामा छैन ।’ 

प्रकाशित: ९ जेष्ठ २०७७ १८:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App