७ वैशाख २०८१ शुक्रबार
समाज

आफ्नैबाट त्रसिँदैछन् स्थानीय, राति पुर्‍याइन्छ क्वारेन्टिनमा

कोरोना कहर

गारीफन्टा सीमाबाट आफ्ना स्थानीय तहका नागरिकलाई उद्दार गरेर लैजाँदै टिप्पर । तस्बिरः पुष्पराज/नागरिक

मसुरियाका दिनेश जोशी बिहीबार भारतको हरिद्वारबाट फर्कदै थिए । उनलाई उनका दाजुले मोबाइलमा फोन गरेर सम्झाउँदै थिए,‘घर नआउनू, त्यतैबाट नगरपालिकाले बनाएको क्वारेन्टिनमा जानू ।’ उनले दाजुको आदेशमा चित्त दुखाउँदै भने,‘यत्रो समयमा परदेशबाट फर्कदै छु, घर नपुगेर सिधै क्वारेन्टिनमा जानू भन्नु भयो, ठीकै छ त्यसै गरौला ।’ बिहीबार बिहानै सीमानाका गौरीफन्टा पुगेका उनसँगै गौरीगंगाका सबैलाई नगरपालिकाले बेलुकी टिप्पर लिएर सबैलाई गोलमटोल गर्दै लादेर लग्यो ।  

उनीमात्रै हैनन्, भारतबाट स्वदेश फर्कने जति सबैका परिवारहरु अहिले चिन्तित छन् । ‘धेरै समयपछि आफन्त स्वदेश फर्केका छन्, तर उनीहरुलाई भेटघाट गर्न नपाउँदै सिधै क्वारेन्टिनमा पठाउनु परेको छ,’ अर्का स्थानीय भोजबहादुर मन्नीले भने,‘अहिले गाउँमा विदेशबाट आउने आफन्तकै त्रासमा स्थानीय छन् ।’  

भारत सरकारले नेपाल फर्कन चाहनेलाई सीमासम्म जान अनुमति दिएसँगै स्वदेश फर्कनेको लर्को लागेको छ । स्वदेश फर्कनेहरु सिधै क्वारेन्टिनमा गएर नियमपूर्वक बसिदिए सबैलाई सहज हुने बताउँदै मन्नीले भने,‘कहिँ कतै भागेर वा लापरवाहीले घरमै पुगेभने कोरोना संक्रमण त फैलने हैन भन्ने डर पनि आफन्तलाई उत्तिकै छ ।’ धेरै समयपछि आफन्तहरु घर आउँदा रमाइलो तथा भलाकुसारी गर्ने बेलामा आफन्तकै चित्त दुखाएर घर नआउनू भन्नु परेको बताउँदै मसुरियाकै राधेश्याम चौधरीले भने,‘भारतमा रोजगारीका लागि गएको छोरा स्वदेश पुगिसकेका बेला उसलाई उतैबाट घर नआउनू भन्नु पर्दा कस्को मन नदुख्ला र ?’ तर पनि कोरोनाको त्रासले आफ्नै छोरालाई घरमा नआउनू भन्नु परेको उनले बताए । ‘हेर्दा हेर्दै यस्तो पनि समय आइसक्यो,’ उनले भने,‘आफ्नै छोरालाई घरमा नआउनू भन्नु पर्ने दिन आयो ।’  

अहिले गाउँमा भारतबाट फर्कनेहरूको घुइँचो लाग्न थालेपछि  त्रसित हुनु परेको बताउँदै राजेन्द्र भट्टले भने,‘नगरपालिकाले वडा–वडामा बनाएको क्वारेन्टिन नजिकका स्थानीय झनै त्रसित छन् ।’ क्वारेन्टिन नजिकका बासिन्दा झनै त्रासमा रहेको बताउँदै उनले भने,‘विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिन नभएका कारण वरपरका स्थानीयलाई कोरोना सर्ने त हैन भन्ने त्रास झनै छ ।’ क्वारेन्टिनबाट निस्कने फोहोर तथा सरसफाइ गर्दा निस्कने पानीको उचित व्यवस्थापन नगरेमा गाउँ जोखिममा बढ्न सक्ने उनले बताए ।  

राति पुर्‍याइन्छ क्वारेन्टिनमा
धनगढीको सीमावर्ती क्षेत्र गौरीफन्टा नाकामा भारतबाट फर्केकाहरुलाई उद्धार गरी आफ्नो स्थानीय तहमा बनाइएको क्वारेन्टिनमा लैजानका लागि रातिको समय उपयुक्त हुने गरेको छ । दिउँसो उद्दार गरेर लैजाँदा गाडीबाट उत्रिएर सिधै घर जाने भएकाले उनीहरुलाई रातिको समयमा सिधै क्वारेन्टिनमा लगेर बास बसाउने गरिएको छ ।  

घोडाघोडी नगरपालिकाका एक कर्मचारीका अनुसार उद्दार गरेर लगेकाहरुलाई दिउँसो पुर्‍याउँदा भाग्ने भएकाले उनीहरुलाई रातिको समयमा सिधै क्वारेन्टाइनमा पुर्‍याउने गरिएको हो । ‘रातिको समयमा क्वारेन्टिनमा पुर्‍याइँदा उनीहरु नगरपालिकाले भने बमोजिम बस्ने गर्छन्,’ उनले भने,‘त्यो बेला उनीहरुलाई रोगका बारेमा र आफन्तको जीवन सुरक्षाका बारेमा सम्झाउन सकिने भएकाले रातिको समय नै उपयुक्त हुने गरेको छ ।’ दिउँसो लग्दा सबैजना आ–आफ्नो ठाउँमा पुग्दा फटाफट उत्रिएर घरतिर लाग्छन्, त्यही भएर रातिको समयमा सिधै क्वारेन्टिनमा लैजाँदा सुरक्षित हुने गरेको हो ।  

धनगढी नाकाबाट चार दिनमा ५ हजार फर्किए 
भारत सरकारले नेपाल फर्कने चाहने नेपालीहरुका लागि पासको व्यवस्था गरेसँगै नेपाल फर्कनेको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । पछिल्लो चार दिनमा मात्रै धनगढीस्थित गौरीफन्टा नाकाबाट करिब ५ हजार नेपाली नागरिक फर्किका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार पछिल्लो चार दिनमा गौरीफन्टा नाकाबाट मात्रै पाँच हजार नेपाली नागरिक स्वदेश भित्रिएका छन् । ‘भारतको पलियामा ४० दिन क्वारेन्टिनमा बिताएकाहरुलाई उद्दार गर्ने क्रममा सीमामा पुगेका नागरिकलाई स्वदेश फर्काइएको हो,’ उनले भने,‘अझै भारतका विभिन्न सहरबाट फर्कने नेपालीहरु आउन थालेको जानकारी आएको छ, उनीहरुलाई पनि भारतको पलियामा रहेको क्वारेन्टिनमा केही दिन राखेपछि मात्रै स्वदेश फर्काइने छ ।’  

 

 

प्रकाशित: ९ जेष्ठ २०७७ १५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App