५ वैशाख २०८१ बुधबार
समाज

मदिरा र घरझगडाले आगलागी बढ्यो

पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए। गत फागुन, चैत  तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा। तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य असावधानी अपनाउँदा भएका यस्ता घटनाले  हतहती निम्त्याउन सक्थ्यो। जिल्लाकै बरेङ गाउँपालिका वडा नं ३ का अध्यक्षसहित दुई जनाको ज्यान जाने गरी भएको घटना भने छिमेकी जिल्लाको थियो।  

 बुधबार जिल्लाको बडिगाड गाउँपालिका–२ सिमलचौरका सुरजबहादुर कुमाल मदिराले लठ्ठ थिए। साँझको समयमा मदिरा सेवन गरेर घर पुगेका उनले परिवारका सदस्यसँग झगडा थाले। श्रीमती राधिका र छोरीलाई हातपातको प्रयास गरे। उनीहरुले भागेर ज्यान त जोगाए तर ओत लाग्ने घर भने क्षणमै खरानी भयो। “मदिराले मातेका सुरज आफैँले घरमा आगो लगाएको खुलेको छ”, प्रहरी निरीक्षक दीपक रिजाल भन्छन्, “ठूलो क्षति त भएको छैन तर घरगोठ जलेको छ।” रिसको झोंकमा कोरेको सलाइले सुरजले आफ्नै बासलाई खरानी मात्रै बनाएनन्, अब कानूनअनुसारको कारवाहीको भागीदार बने। उनको घरमा बुधबार राति ९ बजेपछि भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि नियन्त्रणमा आएको थियो।

घरगोठ एकै ठाउँमा तथा खरको छानो भएकाले गोठमा बाँधिएका पशुचौपाय जोगाउनसमेत हम्मेहम्मे भयो। उनको घर जल्दा लाखौँको क्षति भएको खर्वाङ प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानेले बताए। दैनिक मजदुरी गरेर खाने परिवारमा घरभित्रैको झगडामा मदिराले होस गुमाउँदा ओत लाग्ने बास नै उजाडियो।

क्षणभरमै घरगोठ खरानी बनाएका कुँवरको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएको परिवारलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा खर्वाङले त्रिपालसहित सहयोग गरेको छ। बडिगाडमा जस्तै गत चैतमा बागलुङ नगरपालिका–१० भकुण्डेका नगेन्द्र थापाले पनि आफ्नै काका पर्नेको गोठमा आगो लगाए। मदिरा सेवन गरेर घर पुगेका उनले परिवारसँगको समान्य झगडाकै क्रममा रिसले चुर भइ आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

गत फागुनमा जैमिनी नगरपालिका–२ दमेक आरुबोटका नरिश्वर रिजालले आफ्नै घरमा आगो लगाए। खरको छाना रहेको उनको घर जल्दै गर्दा गोठ पनि छोडेन। अहिले घरगोठ रहेको ठाउँमा खरानी मात्रै छ। उनले आफ्नै घरमा आगो लगाउनुको कारण पनि परिवारिक कलह र अधिक मदिरा सेवननै थियो। “पछिल्लोपटक भएका सबै घटना मदिराकै कारण भएका छन्”,न्यौपानेले भने।  

गर्मी मौसममा आगलागीका घटना बढी नै हुने गरेका छन्। संघीय सरकार, प्रदेश तथा स्थानीय सरकार वन तथा वातावरणसम्बन्धी काम गर्ने निकायले वन डढेलोको नियन्त्रणका लागि यो समयमा सार्वजनिक सूचना नै जारी गर्ने गरेका छन्। समाजले मदिरा नियन्त्रणमा कदम चाल्नुपर्ने जानकारहरु बताउँछन्।

प्रकाशित: ९ जेष्ठ २०७७ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App