२३ जेष्ठ २०७७ शुक्रबार
समाज

मृत्युमा पनि एक्ल्याउने कोरोना काल

कोभिड– १९ प्रभाव

‘भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो।

इन्द्र्रै बिन्ति गरुन, झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो।

आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्देन त्यो।  

मृत्युको शाश्वतताका बारे कवि शिरोमणि लेखनाथ पौड्यालले कालमहिमा भन्ने आफ्नो कवितामा लेखेका पंक्तिहरु हुन यी। कवि शिरोमणिले इंकित गरेको ‘टारेर टर्दैन त्यो’ भनिएको मृत्युले कोभिड(१९ को महामारीपछि टार्न सकिने मृत्यु पनि टार्न नसकिने बनेको छ। कोरोना भाइरसले हाललाई मृत्युको अवधारणा, प्रकृति, संस्कार र विधिलाई पनि संक्रमण गरेको छ। भाइरसको महामारीले ‘जिउँँंदाको जन्ती मर्दाका मलामी’ भन्ने नेपाली उखानलाई अर्थहीन बनाइदिएको छ। बन्दाबन्दी, आइसोलेसन र क्वारेन्टाइनले सामाजिक प्राणी रहेको मानिसलाई नितान्त एक्लो र मृत्युलाई त्योभन्दा पनि बढी त्रासदीपूर्ण, निरस र एकांकी बनाइदिएको छ। यसरी महामारीको पृष्ठभूमिमा मृत्युको पहिचान र सामाजिक परिकल्पना फेरिएको छ।  

कोभिड–१९का कारण नेपालमा पहिलो मृत्युवरण गरेकी सिन्धुपाल्चोककी २९ वर्षकी महिलाको धुलिखेल अस्पतालदेखि आर्यघाट (विद्युतीय शवगृह) सम्मको अन्तिम यात्रामा केही स्वंयसेवी र उनका पतिमात्र सहभागी भए। बाँकेका २५ वर्षका अर्का मृतकको पनि अन्तिम दाहसंस्कार त्यस्तै रह्यो। उनको धार्मिक चलन अनुसार प्रहरीले मृतक ती युवकको शव जमिनमा गाडेका थिए। कोरोना भाइरसका संक्रमणका कारण बिहीबार ज्यान गुमाएका गुल्मीका ४१ वर्षका शिक्षकको अन्तिम संस्कार यो समाचार लेख्दासम्म कसरी गर्ने भनेर निक्र्योल भैसकेको छै्रन। तर निश्चित के छ भने उनको अन्तिमसंस्कार पनि पहिलेको जस्तो हुने छैन।

यसैगरी विश्वका विभिन्न देशमा रहेका झन्डै १ सय नेपालीको मृत्युपछिको संस्कार विधि र अन्तिम यात्रा परम्परागत रुपमा हुन सकेको छैन। धार्मिक विधि र प्रचलन संक्रमणको डरका अगाडि निस्तेज बनेका छन्। सम्बन्धित सरकारले जारी गरेका मृतकका अन्तिम संस्कारसम्बन्धी कडा निर्देशिका कार्यान्वयनमा छन्।

टाइम पत्रिकाको गत साताको अंकमा प्रकाशित एक लेखमा बोस्टन मेडिकल सेन्टरकी न्युरोलोजिस्ट प्रिया आनन्दले लेखेकी छन्, ‘कोभिड–१९ अघि मृत्यु हुँदा बिरामीलाई परिवारजनले घेरेका हुन्थे र अन्तिमपटक स्पर्स गर्न पाउँथे। तर अहिले एक अथवा दुईजना मात्र यो दुखद घडीमा उपस्थित रहेका हुन्छन्, त्यो पनि गाउन र हातमा  पन्जा लगाएर। हामीले एकान्तमा हुने बिरामीको मृत्युको पीडा र प्रभावलाई बल्ल बुझ्न लागेका छांै।’

धर्माेदय सभाका उपाध्यक्ष डा. केशवमान शाक्य भन्छन्, ‘मृत्य बुझ्नु भनेको जीवनलाई बुझ्नु हो। जीवन चित्त र शरीरको जोड हो। शरीरको क्षय हुन्छ, चित्तको हुँदैन, शरीर भौतिक रुपमा समाप्त भए पनि चित्तको प्रवाह निरन्तर रहन्छ। मृत्यु आफैंमा एक अन्त्य होइन, यो त एक प्रवाह हो, अहिलेको कर्मले अर्काे पुनर्जन्मलाई परिभाषित गर्छ र अन्ततः सधैंभरि जन्मन नपर्ने स्थायी शान्ति अर्थात् निर्वाण प्राप्ति हुन्छ।’  

कोरोना महामारीमा मृत्युपछिको संस्कार विधि र अन्तिम यात्रा परम्परागत रुपमा हुन सकेको छैन। धार्मिक विधि र प्रचलन कोरोना संक्रमणको डरले निस्तेज बनेका छन्।

मृत शरीरको ‘च्युति चित्त’ अर्काे जीवनमा ‘प्रतिसन्धि चित्त’ का रुपमा तुरुन्त प्रवाह हुने बुद्ध धर्मअन्तर्गतको प्राचीन थेरावादको विश्वास छ। थेरवादअन्तर्गत मानिस मरिसकेपछि दुर्गतिमा परेको भए उसलाई जीवित आफन्तले भिक्षुहरुबाट परित्राण पाठ गराइ पुण्यानुमोदन गरिन्छ।  तर  महायान बुद्धमार्गीको मान्यता अनुसार एउटा जीवनको अन्तिम चित्त र अर्काे जीवनको पहिलो चित्तको बीचमा ‘अन्तराभव’ रहेको हुन्छ। त्यही अन्तरिम अथवा मध्यान्तरको स्थितिलाई तरणतारण गर्न लामाहरुले पाठ गर्छन्। तिब्बती बौद्धमार्गीले यस्तो पाठ ४९ दिनसम्म गर्छन्, जसले अलमलमा रहेको चित्तलाई सही बाटो देखाउने विश्वास गरिन्छ र मृतकलाई ‘सुखावतीभुवन’ अर्थात् सुखैसुख भएको लोकको बाटो खुल्ने विश्वास गरिन्छ।  

हिन्दु संस्कारअन्तर्गत मृत्युपछिको प्रेतात्मालाई पितृसँग जोडन विभिन्न अन्तिम संस्कार विधि, गरुढ पुराण, काँँचो वायुलाई पाको बनाउन भागवत पुजासमेत गरिन्छ। कुनै मानिसले मृत्युपछि कुनै कारणले ‘अगति’ प¥यो भने ‘वायु भयो’ भन्ने गरिएको र त्यसले पिरोल्छ भन्ने विश्वास रहेको संस्कृतिविद् डा. जगमान गुरुङ बताउँछन्। ‘मृत्युपछिका  आवश्यक विधि अवलम्बन नगर्दा मृतक प्रेत भएर बस्न सक्छ’, गुरुङ थप्छन्।  

कोरोना भाइरस संक्रमणका डरले हाल काठमाडौंमा सेतो मच्छिन्द्रनाथ, रातो मच्छिन्द्रनाथ तथा विभिन्न पीठहरुमा हुने पूजा रोकिएका छन्। कोरोना शान्त भएपछि क्षमा पूजाको आयोजना गर्नुपर्ने सुझाव डा. गुरुङको छ।  

भीमसेन थापाले आत्महत्या गरेपछि शान्ति कामनाका लागि विष्णुमती नजिक भीममुक्तेश्वर मन्दिर बनाइएको, पाको टोल नजिक रहेको रणमुक्तेश्वर रणबहादुर शाहको आत्माको शान्तिक लागि र त्रिपुरेश्वरस्थित कालमोचन घाटमा कोतपर्व र भण्डारखालपर्वमा मारिएकाको आत्मिक शान्तिका लागि विष्णुको मन्दिर बनाइएको इतिहास रहेको डा. गुरुङ बताउँछन्।  

गुरुङले भनेझै मृत्युलाई अध्ययनको छुटै विषय बनाएका फ्रान्सेली मानवशास्त्री रवर्ट हर्जले मृत्यु संस्कारका बेला मृत शरीर, जीवन र मृतकको आत्मा एकआपसमा एक किसिमको अस्पष्ट र खतरनाक सम्बन्धले जोडिएको हुन्छ भनेका थिए। उनले मृत्यु संस्कारको अन्तिम चरणअन्तर्गत मृतक भौतिक दुनियाँमा नफर्कने गरीे आत्मामा समाहित हुने बताएका छन्। ‘मृत्यु संस्कारको उद्देश्य भौतिक विषय तथा जीवनलाई एउटा संसारबाट अर्काे संसारमा लग्नु हो र उनीहरुलाई पूर्वजको रुपमा स्थापित गर्नु हो’,  हर्जले बीसौं शताब्दीको सुरुताका नै भनेका थिए।  

विश्वका फरकफरक मानव समाजमा मृत्युलाई कसरी हेरिन्छ र मृत्यृ संस्कारको व्यवस्थापन कसरी गरिन्छ भन्ने विषय अनुसन्धानकर्ताका लागि रोमाञ्चक विषय रहँदै आएको छ। पछिल्ला डेढ शताब्दीमा मृत्यृबारे धेरै अनुसन्धान भएका छन र यस विषयमा सयांै खोजपत्र र पुस्तक लेखिएका छन्। धेरैजसो अध्ययनको एकमत केमा छ भने मृत्यु शारीरिक प्रणालीले काम गर्न छाड्ने अथवा जैविक घटना मात्र होइन, यो त नितान्त सामाजिक, सांस्कृतिक र राजनीतिक घटना हो।  

नेपालका सन्दर्भमा पहिला पनि महामारी भएका र धार्मिक विधि अनुसार तिनको व्यवस्थापन हुने गरेको राष्ट्रिय धर्मसभाका अध्यक्ष तथा प्राध्यापक डा. माधव भट्टराई बताउँछन्। अनावश्यक स्पर्स र भोजनका कारण, अधर्म, अपराध र बेइमानी बढ्दा महामारी फैलिने गरेको आयुर्वेद विज्ञानको चरकसंहितामा उल्लेख भएको बताउँदै डा. भट्टराई थप्छन्, ‘हामीले अनावश्यक छुवाछुत र खानपानमा ध्यान दिनुपर्छ। १३ दिने काजकिरिया विधि आफंैमा एक आइसोलेसन र भाइरस अरुलाई संक्रमण नहोस् भन्ने ध्येयले गरिएको व्यवस्था हो।’  

विगतमा तिब्बत ब्यापार गर्न गएकाहरू काठमाडौं फर्कंदा १४ दिनसम्म छुट्टै बस्नुपर्ने चलन रहेको र सो आइसोलेसनमा बसेको अवधिमा कुनै समस्या नभएमा मात्र ‘पतिया’ नामक लिखित सफाइपत्र दिएर घर प्रवेश गर्ने दिइने गरेको प्रचलन भट्टराई उल्लेख गर्छन्। ‘परम्परागत हिसाबले मानिसले मृत्यु सकेसम्म घरआँगनमा रहेको तुलसीको मठ, तीर्थ अथवा घाट जस्ता खुला ठाउँमा हुनुपर्छ भनिएको छ’, उनी भन्छन्, ‘यसो भन्नु भनेको सहज हिसाबले अन्तिम सास जाओस् भनेको हो। भगवान्को नाम जप्दा, इष्टमित्र र परिवारजनको साथ रहँदा, राम्रा कुरा सुन्दा र सुनाउँदा र बिरामीले आफ्नो अन्तिम इच्छासमेत भन्ने मौका पाउँदा मृत्यु सहज हुन्छ। अन्तिम अवस्थामा मृतकले जस्तो धारणा बनाउँछ, त्यस्तै प्रकारको पुनर्जन्म पाउँछ।’ त्यसो त नेपालमा मानिस घर, अस्पताल, घाट तथा अन्य कस्ता स्थानमा मर्न चाहन्छन् भनेर खास अध्ययन भएको पाइँदैन। पछिल्लो समयमा अस्पतालको सुविधा पुगेका सहरमा धेरैको मृत्यु अस्पतालमा हुने गरेको छ। त्यसो हुँदाहुँदै पनि आफन्त र प्रियजनबीच आफ्नै घरको सुरक्षा, सुविधा र सम्बन्धको रोहबरमा मर्न चाहनेको संख्या धेरै रहेको डा. भट्टराईको दाबी छ।  

जीवनजत्तिकै मृत्यु पनि उत्तिकै महत्त्वपूर्ण रहेको तर्क गर्दै डा. भटट्राई भन्छन्, ‘अत्यन्त सावधानीका साथ मृत्यु संस्कार सनातन संस्कृति र परम्परा अनुसार गर्न दिइनुपर्छ र राज्यले यसमा आवश्यक र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ।’

‘मृत्युमा सही अर्थमा सोसियल डिस्टन्ेिसङ लागु भएको छ,’ समाजशास्त्रका प्राध्यापक चैतन्य मिश्र भन्छन्, ‘मृत्युको मुखमा पुगेकालाई अन्तिम समयमा भेट्न नपाउंँदा परिवारजनलाई दीर्घकालीन रुपमा दुःख मनाउको विषय हुन्छ।’  

कोरोना महामारीको वर्तमान समयलाई एउटा संघारको समय संज्ञा दिँदै मिश्र भन्छन्, ‘उदाहरणका लागि हिरण्यकष्यपलाई घरभित्र र घरबाहिर कतै मार्न नपाइने वरदान प्राप्त भएकाले ढोकाको संघारमा संहार गरिएको थियो।’ उनी थप्छन्, ‘आपद्विपद्मा हाम्रा धार्मिक परम्परा र व्यवस्था लागु नहुन सक्छन्, यो अपवादको समय हो। आशा गरौं, यो दिगो हुँदैन।’

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App