१६ चैत्र २०८० शुक्रबार
समाज

पोषिलो खानेकुरा दिन ‘सुत्केरी भेट’

सुत्केरी भेटघाटकाक्रममा खाल्लेकी सुत्केरी लिला कट्वाल लगायत आमा समुहमा आवद्ध महिला । तस्बिर सौजन्य : सन्तोष भट्टराई ।

खोटाङ

कुनै महिलाले भाले बोकेका छन्, कुनैले सागपात । कसैको हातमा चामल छ, कसैको हातमा फलफुल र गेडागुडी । यसरी पोषिलो खानेकुरा बोकेर लामवद्ध हिँडिरहेका महिलाको दृश्या खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको हो । भीडमा स्वास्थ्यचौकी खाल्लेका एचए सन्तोष भट्टराई, महिला स्वास्थ्य स्वयंसेविका गोमादेबी अधिकारी लगायत छन् । भाले, चामल, गेडागुडी, फलफुल र सागपात बोकेको टोली बिहिबार साविकको खाल्ले–५ की सुत्केरी महिला लिला कट्वाललाई भेट गर्नका लागि भेला भएका हुन् ।  

‘सुत्केरी भेट’ कार्यक्रम अन्तरगत स्थानीय पञ्चरंगी आमा समुहमा आवद्ध महिलाले सुत्केरी कट्वाललाई पोषिलो खानेकुरा सहित भेटघाट गरेका छन् । उनीहरुले गाउँमै उपलव्ध हुने भाले, चामल, दाल, सागपात, मुन्टा, गुन्द्रुक, केरा लगायतका पोषिलो परिकार संकलन गरेर सुत्केरीलाई भेटघाट गरेर प्रदान गरेका छन् । लिला सुत्केरी भएको २९ दिन पुगेको छ । आमा समुहको टोली पुग्दा उनी काखमा छोरीलाई दुध चुसाइरहेकी थिईन् । आमा समुहमा आवद्ध महिलाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यलाभको कामना गरे अनि आमा र नवजात शिशुको स्वस्थ स्वास्थ्यका लागि सावधानीका उपाय बारे सरसल्लाह दिएर फर्किएका छन् ।

 स्वास्थ्यचौकी खाल्लेका एचए भट्टराईले पनि व्यक्तीगतरुपमा सुत्केरीलाई बधाई सहित टुथपेष्ट, टुथब्रस र आयोडिन नुन प्रदान गरेका छन् । आमा समुहमा आवद्ध महिलाले सामाजिक दुरी कायम गरेर सुत्केरी भेट गरेको एचए भट्टराईले बताए । लकडाउनकाबेला पोषिलो खानेकुरा जुटाउन समस्या भइरहेको अवस्थामा गरिएको ‘सुत्केरी भेटले’ सुत्केरी आमा र उनका परिवारलाई राहत मिलेको छ ।

 सुत्केरी अवस्थाका आमाका लागि आवश्यक पोषणयुक्त खानेकुराको अभाव पुर्ती गर्दै आमा र बच्चाको स्वस्थ स्वास्थ्यका लागि खाल्लेमा गत चैतदेखि पोषिलो खानेकुरा लिएर सुत्केरी भेट गर्ने कार्यक्रम सुरु गरिएको हो । निर्धारित कार्यक्रम अनुशार गाउँका गर्भवती महिलालाई कम्तीमा एक पटक र सुत्केरीलाई पनि कम्तीमा एक पटक पोषिलो खानेकुरा सहित भेटघाट गर्ने गरिएको छ । खाल्लेमा साविकको ९ वडामा क्रियासिल आमा समुहले सुत्केरी भेटको व्यवस्था मिलाउने गरेको छ । सुत्केरी भेटकाक्रममा आमा समुहले गाउँमै पाइने पोषिलो थोकवस्तु जुटाएर लैजाने गरिएको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउन उपयुक्त आहार–व्यवहारको सुनिश्चितता गर्ने सोच अनुशार सुत्केरी भेट कार्यक्रम सुरु गरिएको पञ्चरंगी आमा समुहका अध्यक्ष एबं महिला स्वास्थ्य स्वयंसेविका अधिकारीले बताईन् ।  

आमा समुहको सुत्केरी भेटले आर्थिक अवस्था नाजुक भएका परिवारका सुत्केरी सबैभन्दा बढि लाभान्वित भएका छन् । गाउँघरमै पाइने पोषिलो आहार जुटाउन कम खर्चिलो र स्वास्थ्यका लागि लाभदायक हुने समुहले जनाएको छ । केही समयपछि दुई सुत्केरी आमालाई भेट गर्ने कार्यक्रम रहेको एचए भट्टराईले बताए । ‘यो सुनौला हजार दिन सम्वन्धी व्यवहारलाई प्रवद्र्धन गर्ने आमा समुहको अभियान हो । यसले हरेक बार खाना चार भन्ने नारालाई पनि व्यवहारमा उतार्न सहयोग पु¥याउँछ,’ भट्टराईले भने, ‘सुत्केरी भेटकाक्रममा पोषणयुक्त खाना, सन्तुहित आहार, वाल प्रेरणा, खोप सेवा, सरसफाइ, आमा र बच्चाको बृद्धि अनुगमन लगायतका विषयमा पनि सूचना र सन्देश प्रवाह गर्ने अवशर जुट्छ ।’  

प्रकाशित: ८ जेष्ठ २०७७ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App