coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जसको पेसागत धर्म नै जोखिममा खटिनु हो

फाइल फाेटाे ।

सर्वसाधारण घरभित्र बसिरहेको बेला ‘फ्रन्ट लाइन’मा बसेर काम गर्नेहरूलाई दौडधूप छ । पेसागत धर्मका कारण पनि उनीहरू जोखिम मोलेर ‘फिल्ड’मा खटिइरहेका छन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीले कोरोना महामारीको बेला सबैभन्दा बढी जिम्मेवारी पाएका छन् । यी तीन क्षेत्रका व्यक्तिलाई अहिले खटिनुपर्ने बाध्यता नै छ । तर, आफूलाई जोखिममा राख्दै खटिएका तिनै ‘फ्रन्ट लाइन’का व्यक्ति संक्रमित भइरहेका छन् ।  

अहिले कोरोनाबाट सबैभन्दा बढी सुरक्षाकर्मी प्रभावित बनेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार दुईजना सशस्त्र र ६ जना नेपाल प्रहरी गरी ८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । उनीहरू काठमाडौं, कपिलवस्तु, बारा र धनकुटामा कार्यरत रहेका छन् । ४ जना स्वाथ्यकर्मी र ५ जना पत्रकार पनि संक्रमित भइसकेका छन् । ‘सडकमा मोबिलिटी र अन्य गतिविधि कम भयो भने हामीलाई पनि जोखिम कम हुन्छ,’ भीडभाड र जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आफैं संक्रमित भइयो,’ बुधबार संक्रमित देखिएका कालिमाटी वृत्तका एक प्रहरीले भने ।

जोखिमकै बेला बढी जिम्मेवारी निभाउनुपर्ने फ्रन्ट लाइनरहरूका लागि भने सरकारले पर्याप्त सुरक्षा र हौसला दिन सकिरहेको छैन । कतिपय प्रहरी मास्कबिनै पनि सुरक्षामा खटिन बाध्य भइरहेका छन् । पिपिईलगायत स्वास्थ्य उपकरण र परीक्षण किटको अभाव हुँदा अहिले सोचे जसरी कोरोना परीक्षण हुन सकिरहेको छैन । ललितपुरको चापागाउँ वृत्तमा कार्यरत इन्सपेक्टर राजन लम्सालले महामारीको बेला खट्नु सुरक्षाकर्मीको मूल दायित्व भएकाले आफ्नो सुरक्षा पनि साथसाथै गर्नुपर्ने बताए । उनले भने, ‘यस्तो बेला आफू बढी परिचालित हुनुपर्ने अवस्था छ, सकेसम्म भीडभाड नभइदिए र सर्वसाधारण सचेत भइदिए हामीलाई सहज हुनेथियो ।’  

यस्तो बेला फ्रन्ट लाइनमा काम गर्नेहरूले उच्च सावधानी अपनाउनुपर्ने देखिन्छ । ‘काम नगरौं भने अप्ठेरोको बेला नैतिकताले मान्दैन, फिल्डमा खटिँदा आफू नै जोखिममा परिन्छ, न पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री नै छ,’ त्रिभुवन शिक्षण अस्पतालमा कार्यरत डाक्टर सन्तोष केसीले भने ।  

फ्रन्टलाइनमै काम गरिरहेका सञ्चारकर्मी दीपक अर्यालले जोखिमको बेला आफू सचेत भएर सूचना प्रवाह गर्नु पत्रकारको मूल दायित्व रहेको बताए । उनले भने, ‘यस्तो बेलामा बाहिर निस्कँदा सबैले शंका गर्छन्, घरबेटीले पनि त्यति राम्रो मान्दैनन्, त्यसकारण आफू नै सचेत बनेर जिम्मेवारपूर्वक सूचना प्रवाह गर्नुपर्छ ।’  

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार फ्रन्ट लाइनमा बसेर काम गर्नेहरूमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको छ । वीरगन्ज, कपिलवस्तु, कैलाली, दाङलगायत ठाउँमा फ्रन्ट लाइनमा बसेर काम गर्नेहरू उच्च जोखिममा रहेको उनको भनाइ छ । ‘हामीले सकेसम्म सावधानी अपनाउन आग्रह गरेका छौं, उपकरणहरू पनि सहजै उपलब्ध गराइरहेका छौं, संक्रमितको नजिकै बसेर काम गर्दा जोखिम बढेको छ, यसबारे स्वयंले पनि ख्याल गर्नुपर्छ,’ उनले भने ।  

महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले सुरक्षाकर्मीहरू सबैभन्दा बढी जोखिममा पर्न सक्ने बताए । उनले शान्तिसुरक्षाका हिसाबले पनि सबैतिर ओहोरदोहोर गर्नुपर्ने भएकाले प्रहरीमा बढी जोखिम बढेको बताए । ‘अहिले आफ्नो सुरक्षा सतर्कता आफैं अपनाउन आवश्यक छ, हामीलाई यस्तो बेलामा काम गर्नैपर्ने भएकाले उच्च सावधानी अपनाउनै पर्छ,’ उनले भने । उनले एउटा प्रहरी कार्यालयमा प्रहरीको संख्या धेरै हुने भएकाले फिल्डमा खटिएकामा कोरोना देखिए फैलन सक्ने भन्दै सबैतिर सावधानी अपनाउन आग्रह गरे ।  

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले फ्रन्ट लाइनमा बसेर काम गर्ने सबैलाई सतर्क रहेर काम गर्न आग्रह गरेको बताए । उनले यस्तो बेलामा खटिएकाहरूको मनोबल उच्च गराउनतर्फ ध्यान दिइएको जानकारी दिए । उनले भने, ‘सर्वसाधारण घरमै बसे मात्रै पुग्छ तर फ्रन्ट लाइनमा बसेर काम गर्नेहरूलाई नहिँडी र काम नगरी सुुखै छैन, त्यसकारण सावधानी अपनाऔं ।’

यतिबेला सञ्चारकर्मी पनि समाचार संकलनका लागि फिल्डमा खटिएका छन् । केही सञ्चारकर्मी प्रविधिको प्रयोग गरी घर वा कार्यालयमै बसेर काम गरिहरहेका पनि छन् । तर, कतिपय सञ्चारकर्मीलाई अहिले फिल्डमा पुग्नैपर्ने अवस्था छ । यस्तो बेलामा पत्रकारले उच्च सावधानी अपनाउनुपर्ने पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले बताए । सरकार र सम्बन्धित सञ्चार गृह पत्रकारहरूको सुरक्षाबारे संवेदनशील नभएको अवस्थामा पत्रकारहरूले स्वविवेक प्रयोग गरेर काम गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘यस्तो बेलामा कार्यस्थल कति सुरक्षित छ र आफ्ना साधन कति सुरक्षित छन् भन्ने ख्याल राखेर पत्रकारले आफ्नो व्यावसायिक काम गर्नुपर्छ ।’  

प्रविधिको प्रयोग र दुरी कायम राख्न आग्रह  

अहिले हरेक क्षेत्रलाई काम गर्न प्रविधिले ठूलो मद्दत गरिरहेको छ । संक्रमितबाट अलि परै बसेर सञ्चारकर्मीले प्रविधिको सहायतामा रिपोर्टिङ गर्न सक्छन् । सुरक्षाकर्मीले पनि फोन, वाकिटकी सेट र अन्य उपकरण अपनाउन सक्छन् । प्रहरी प्रधान कार्यालयले पनि अहिले प्रहरीलाई सकेसम्म भीडमा जाँदा संयमता अपनाउन आग्रह गरेको छ । जानै परे पनि सामाजिक दुुरी कायम गर्न सुझाएको छ । तर, प्रहरी कार्यालयहरूमा मेसमा सँगै खाना खानुपर्ने र सँगै डिउटीमा खटिनुपर्ने भएकाले जोखिम बढी देखिन्छ ।  

प्रहरी प्रधान कार्यालयका प्रवक्ता निरज शाहीले सकेसम्म संक्रमितबाट बचेर काम गर्न सबै प्रहरी कार्यालयलाई आग्रह गरिएको बताए । उनले हरेक प्रहरीका लागि १÷१ वटा एन ९५ मास्क पनि वितरण गरेको जानकारी दिए । ‘सडक र अन्य ठाउँमा मानिसको भीड जति कम भयो सुरक्षाकर्मी त्यति नै सुरक्षित हुन्छन् तर सीमा नाकातिर प्रहरीलाई बढी जोखिम छ,’ उनले भने, ‘यसबारे सावधानी नै अपनाउने हो, अरू उपाय छैन ।’ उनका अनुसार प्रहरीमा संक्रमण उच्च जोखिम देखिएपछि पिपिईलगायत सामग्री प्रहरी कार्यालयहरूमा हेडक्वाटरले पठाएको छ । यसबाहेक बिदामा बसेका वा सरुवा भएर आएका ५० जनाभन्दा बढी सुरक्षाकर्मीलाई अहिले क्वारेन्टिनमा राखिएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App